काठमाडौं। अबिरल वर्षापछि आएको बाढीका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा चार जनाको मृत्यु भएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार मृत्यु हुनेमा दाङमा दुई तथा अर्घाखाँचीमा एक र गुल्मीमा एक जना छन्।
त्यस्तै दाङमा एक जना र प्युठानमा एक जना बेपत्ता छन्। दाङको तुलसीपुर उपमहानगरपालिका-१५ धमकापुरका ४८ वर्षीय मदन डाँगीको स्थानीय खैरेनी खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो। त्यस्तै घोराही उपमहानगरपालिका-३ बेलुवाका ४५ वर्षीय धिरज घिमिरे घर नजिकै खाडलमा डुबेर मृत अवस्थामा फेला परेका थिए।
प्रहरीका अनुसार अर्घाखाँचीको सन्धीखर्च गाउँपालिका-७ स्थित खञ्ज्याङ खोलाको बाढीले बगाउँदा १० वर्षीय समीर पौडेलको मृत्यु भएको छ। त्यस्तै गुल्मीको धुर्कोट गाउँपालिका-५ मा आरोही खोलामा आएको बाढीले बगाउँदा ३१ वर्षीया लक्ष्मी केसीको मृत्यु भएको छ।
चार दिनदेखि लगातार परेको बर्षाका कारण देशभर थुप्रै ठाउँमा बाढी पहिरो जाँदा जनजीवन प्रभावित भएको छ। ठाउँठाउँमा पहिरोले सडक अवरुद्ध हुँदा आवत जावतमा समस्या भएको छ।
Facebook Comment
Comment