इटालीमा नवफाँसीवादको उदय, जर्जिया मेलोनी पहिलो महिला प्रधानमन्त्री बन्ने

चुनावमा वामपन्थी गठबन्धन पराजित भएको छ

मेलोनी आफूलाई ‘क्रिश्चियन कन्जर्भेटिभ’ भन्न रुचाउँछिन । राष्ट्रवाद उनी र उनको पार्टीको मुख्य विचारधारा हो । ‘ब्रदर्स अफ इटाली पार्टी’ ले बहुसाँस्कृतिकतावाद, आप्रवासन, गर्भपतन र एलजिबिटी अधिकारको विरोध गर्छ । रोमलाई ‘पवित्र भूमि’ का रुपमा महिमामंडित गर्दै इतिहासका गौरव पुनर्स्थापित गर्ने यसको लक्ष्य छ । 

नेपालभ्युज

इटालीमा नवफाँसीवादको उदय, जर्जिया मेलोनी पहिलो महिला प्रधानमन्त्री बन्ने

नेपाल भ्युज । इटालीमा आइतबार सम्पन्न आमनिर्वाचनमा चरम दक्षिणपन्थी ‘ब्रदर्स अफ इटाली पार्टी’ नेतृत्वको गठबन्धनले जितेको छ । दक्षिणपन्थी गठबन्धनका दलले ४३.८ प्रतिशत भोट प्राप्त गरेका छन् भने विपक्षी वामपन्थी गठबन्धन २६.१ प्रतिशत भोटमा सीमित भएको छ । तेस्रो स्थानमा रहेको ‘फाइभ स्टार आन्दोलन’ १५.३ प्रतिशत मत प्राप्त गरेको छ।

विजयी गठबन्धनको सबैभन्दा ठूलो पार्टीका रूपमा ‘ब्रदर्स अफ इटाली’ ले एक्लै २६ प्रतिशत मत प्राप्त गरेको छ । यो पार्टी सन् २०१२ मा मात्रै गठन भएको थियो। सन् २०१३ को आमनिर्वाचनमा २ प्रतिशत र सन् २०१८ को निर्वाचनमा ४.४ प्रतिशत मात्रै मत ल्याएको थियो ।

यसपटक पार्टीले प्राप्त गरेको सफलतालाई उल्लेखनीय र आश्चर्यजनक मानिएको छ । पार्टी अध्यक्ष ४५ वर्षीया जर्जिया मेलोनी इटालीको प्रधानमन्त्री हुने सम्भावना छ । उनी देशको इतिहासमै पहिलो महिला प्रधानमन्त्री हुँदैछन्। मेलोनी सन् २०१४ देखि निरन्तर पार्टी अध्यक्ष रहँदै आएकी छन्।

मेलोनी आफूलाई ‘क्रिश्चियन कन्जर्भेटिभ’ भन्न रुचाउँछिन् । राष्ट्रवाद उनी र उनको पार्टीको मुख्य विचारधारा हो । ‘ब्रदर्स अफ इटाली पार्टी’ ले बहुसांस्कृतिकतावाद, आप्रवासन, गर्भपतन र एलजिबिटी अधिकारको विरोध गर्छ । रोमलाई ‘पवित्र भूमि’ का रूपमा महिमामंडित गर्दै इतिहासका गौरव पुनर्स्थापित गर्ने यसको लक्ष्य छ ।

आलोचकले मेलोनीमाथि नश्लवाद, जातिवाद, नवफाँसीवाद, इस्लाम विरोधी साँघुरो राष्ट्रवाद र आर्थिक संकिर्णताको पक्षपोषण गरेको आरोप लगाउने गरेका छन्। उनले खुलेर फाँसीवादी शासक बेनिटो मुसोलिनीको पनि प्रसंशा गर्छिन ।मेलोनीले भन्ने गरेकी छन्–‘बितेका ७५ वर्षमा इटालीका लागि सबैभन्दा वीर र असल शासक मुसोलिनी थिए।’

मुसोलिनी फासिस्ट विचार र शासनका लागि विश्वभर बदनाम छन् । सन् १९१४ मा उनले ‘फाँसीवादी पार्टी’ गठन गर्दै विश्व राजनीतिमा नयाँ विचारधाराको जग बसाएका थिए। पछि त्यो फाँसीवादका रूपमा विश्वभरि कुख्यात भयो । फाँसीवादले सबैजसो प्रगतिशील तथा लोकतान्त्रिक भनिएका विचारधाराको विरोध गछ ।

यसले उदारवाद, लोकतन्त्र, सामाजिक लोकतन्त्र, समाजवाद, साम्यवाद, सामाजिक न्यायजस्ता विचारको विरोध गर्छ । सन् १९३२ मा मुसोलिनीको नाममा प्रकाशित ‘डक्ट्रिन अफ फासिज्म’ यस विचारधाराको मुख्य पुस्तक थियो ।
सन् १९२२ मा भएको ‘रोम विद्रोह’ मार्फत् मुसोलिनी इटालीको सत्तामा आएका थिए ।

सन् १९४३ मा उनले इटालीको सत्ता छोडेका थिए ।  दोस्रो विश्वयृद्धमा जर्मन धुरीको पराजयपछि सन् १९४५ को अप्रिलमा स्विट्जरल्याण्ड भाग्दै गर्दा उनलाई पक्राउ गरेर गोली हानी हत्या गरिएको थियो । इटालीमा फाँसीवादी सत्ताको पतन भएको करिब ८ दशकपछि नवफाँसी दलको उदय हुनुलाई आश्चर्यजनक मानिएको छ ।

पार्टी र गठबन्धनको विजयपछि मेलोनीले भनेकी छन्, ‘इटालीका जनताले हामीलाई एक महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ। उनीहरूलाई निरास नबनाउनु राष्ट्रको आत्मसम्मान र गौरवलाई पुनर्स्थापित गर्नु हाम्रो मुख्य कार्य हुनेछ ।’

मेलोनी युक्रेन युद्ध अघि पुटिन कालिन रुसको समर्थक मानिन्छन् । युक्रेन युद्धपछि उनले रुस र पुटिनका नीतिको आलोचना गरेकी छन तर, अरू पश्चिमा राष्ट्रजस्तो इटली युक्रेन युद्धमा सामेल हुनु हुँदैन भन्ने उनको दृष्टिकोण छ।

पूर्वप्रधानमन्त्री सिल्भियो ब्रुलोस्कनी नेतृत्वको नेसनल एलाइन्सबाट सन् २००६ मा उनी पहिलोपटक सांसद निर्वाचित भएकी थिइन । सन् २००८ मा मन्त्री भएकी थिइन । सन् २०१२ मा ब्रुलोस्कनी सरकारका कतिपय नीतिको खुलेआम आलोचना गर्दै उनी ‘ब्रदर्स अफ इटाली पार्टी’ गठन प्रक्रियामा सामेल भएकी थिइन ।

सन् २०१३ को आमनिर्वाचनबाट इटालीमा प्रगतिशील– लोकतान्त्रिक धारको ‘फाइभ स्टार मुभमेन्ट’ उदित भएको थियो । त्यसको एक दशक नबित्दै दक्षिणपन्थी धारको दल यति बलियो भएर उदाउने पूर्वानुमान कसैले गरेको थिएन । इटाली बेलायत र जर्मनीपछि युरोपको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो ।

मेलोनी इटालीको प्रधानमन्त्री हुने निश्चित हुने भएपछि विश्व राजनीतिमा नयाँ बहस सुरुवात भएको छ । के इटालीमा फेरि एकपटक जनताले फाँसीवाद मन पराउन थालेका हुन् ? यदि, हैन भने फाँसीवादी शासक बेनिटो मुसोलिनीको प्रसंशा गर्ने ‘ब्रदर्स अफ इटाली’ जस्तो दलको उदय कसरी संभव भयो ?


Comment

One thought on “इटालीमा नवफाँसीवादको उदय, जर्जिया मेलोनी पहिलो महिला प्रधानमन्त्री बन्ने

  1. नागरिक र राज्यका निकायबीच जीवन्त सम्पर्क टुटेपछिको अनिवार्य परिणति यस्तै हो।पछिल्लाले अघिल्लाको कमजोरी अन्यमनस्कता र बाह्य प्रभावलाई ठम्याए र त्यस उपर सम्झौता बिहिन आक्रमण गरे।शासकहरु बलिया राष्ट्रको भाकामा लहसिएपछि, राष्ट्रको मूल्यमा विदेशीलाई रिझाउन कतिसम्म झूठ फरेब र लम्पटपनमा डुक्छन भन्ने कुरा स्वतन्त्रताको नाममा अमेरिकी र पश्चिमा स्वार्थमा फसेर डुबेका र डुब्दै गरेका देशको परिणतिले प्रष्ट्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved