बेइजिङ डायरी

ओली, प्रचण्ड र माधवले के सिक्छन् चिनियाँ कम्युनिष्ट पार्टीबाट ?

सीपीसी दिनप्रतिदिन लोकप्रिय हुँदैछ तर नेपालमा....................

पूर्वी युरोपबाट कम्युनिस्ट सत्ता पतन भएको तीन दशक बित्दा पनि चीनमा कम्युनिस्ट सत्ता झन्-झन मजबुत हुँदैछ। नेपालका कम्युनिष्ट पनि सी चिनफिङ केन्द्रित चिनियाँ कम्युनिस्ट पार्टी ‘सीपीसी’सँग आफ्नो दलको घनिष्ट सम्बन्ध रहेको बताउँछन् । तर, नेपाली नेताहरूले सीपीसी चिनियाँ जनतामा किन लोकप्रिय छ भन्ने कुराचाहिँ गहनरूपमा कहिल्यै अध्ययन गरेका छैनन्। तसर्थ, केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले यो लेख पढून्।

ओली, प्रचण्ड र माधवले के सिक्छन् चिनियाँ कम्युनिष्ट पार्टीबाट ?

बेइजिङ । यतिबेला, नेपालमा चुनावको सरगर्मी बढ्दो छ। संघीय र प्रदेशस्तरीय निर्वाचनमा आफ्नो पक्षमा मत तान्नका लागि नेताहरू मतदातको घर दैलोमा जान खोज्दैछन्। आफू जनताको सच्चा सेवक रहेको र आफ्नो दल जनताकै सेवा गर्नका लागि स्थापित भएको फलाक्ने नेपाली नेताहरू चुनावपछि अर्को पाँच वर्ष सहरी सुविधामा हराउँछन्। पाँच वर्षपछि हुने अर्को चुनावमा उनीहरू फेरि ‘जनता सर्वोपरि’ नारा फलाक्न थाल्छन्।

नेपालका मुख्य राजनीतिक दलमा कम्युनिस्ट पार्टीको बाहुल्यता छ। कम्युनिस्टहरू आफूलाई श्रमिक वर्गको प्रतिनिधित्व गर्ने ठान्छन्। उनीहरूको अन्तर्राष्ट्रिय नारा नै ‘विश्वका श्रमिकहरू एक होऔँ’ रहेको छ। मार्क्सवादी दर्शन र लेनिनवादी सङ्गठनात्मक पद्धति अँगाल्नु कम्युनिस्टको विश्वव्यापी पहिचान हो।

पूर्वी युरोपबाट कम्युनिस्ट सत्ता पतन भएको तीन दशक बित्दा पनि चीनमा कम्युनिस्ट सत्ता झन् – झन् मजबुत हुँदैछ। नेपालका कम्युनिस्ट पनि सी चिनफिङ केन्द्रित चिनियाँ कम्युनिस्ट पार्टी ‘सीपीसी’सँग आफ्नो दलको घनिष्ट सम्बन्ध रहेको बताउँछन् । तर, नेपाली नेताहरूले सीपीसी चिनियाँ जनतामा किन लोकप्रिय छ भन्ने कुराचाहिँ गहनरूपमा कहिल्यै अध्ययन गरेका छैनन्। तसर्थ, केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले यो लेख पढून्।

चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीले गौरवशाली १०१ वर्ष पार गरिसकेको छ। विश्वमा सबैभन्दा ठूलो राजनीतिक पार्टीका रूपमा सीपीसी ७३ वर्षदेखि अविछिन्न सत्तारुढ दलका रूपमा कायम छ ।

सीपीसीका ९ करोड २० लाख सदस्य छन्। १ अर्ब ४३ करोड जनसङ्ख्या भएको चीनमा लगभग साढे ६ प्रतिशत चिनियाँ नागरिक मात्र सीपीसीमा आबद्ध भए पनि आम चिनियाँमा सीपीसी अत्यधिक लोकप्रिय छ।

चिनियाँ जनतामा सीपीसी र सरकार लोकप्रिय रहेको चीनले दाबी गरेको नभई कट्टर आलोचक अमेरिकाले गरेको लामो सर्वेक्षणबाट पुष्टि भएको हो। सरकारप्रति जनताको सन्तुष्टि दर अनि सत्तारुढ दलको लोकप्रियता थाहा पाउनलाई विश्वका विभिन्न देशमा सर्वेक्षण हुने गर्दछ।

अमेरिकी एक विश्वविद्यालयले सन् २००३ देखि २०१६ सम्म गरेको सर्वेक्षणबाट सीपीसी र चिनियाँ सरकार विश्वका अन्य मुलुकभन्दा अत्यधिक लोकप्रिय रहेको तथ्य प्रकाशित भएको थियो।

विश्वप्रसिद्ध अमेरिकी विश्वविद्यालय ‘हार्वर्डले सन् २००३ देखि २०१६ सम्म चीनमा सर्वेक्षण गरेको थियो। हार्वर्डको प्रजातान्त्रिक शासन तथा आविष्कारका लागि केन्द्र (यस सेन्टर फर डेमोक्रेटिक गभर्नेन्स एन्ड इनोभेसन) ले सन् २०२० को जुलाईमा ‘सीपीसीको लचिलोपन बुझाइ : समयमार्फत चिनियाँ सार्वजनिक राय सर्वेक्षण’ (सर्भेइङ चाइनिज पब्लिक ओपिनियन थ्रु टाइम)’ शीर्षकमा प्रतिवेदन जारी गर्‍यो।

तल्लो तहका चिनियाँ अधिकारीहरू ‘धनीहरूको पक्षपोषण’ र ‘आफ्नो स्वार्थमा केन्द्रित’ नभएर’समस्या समाधान गर्ने’ र ‘सामान्य मानिसका कठिनाइमा केन्द्रित’ रहेकाले अत्यधिक चिनियाँले सीपीसी र सरकारप्रति सन्तुष्टि व्यक्त गरेको प्रतिवेदनले औँल्याएको छ।

अनुसन्धान संस्थाले चिनियाँ जनमतको सबैभन्दा लामो प्राज्ञिक अध्ययन गरेको जनाएको छ। सहरी र ग्रामीण क्षेत्रमा ३१ हजारभन्दा बढी व्यक्तिसँग व्यक्तिगत अन्तर्वार्ता लिएर सर्वेक्षण गरिएको थियो। सर्वेक्षणमा सबैभन्दा वस्तुपरक र मात्रात्मक विधि’ प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख छ।

सन् २००३ पछि चीनका चारै तहका (काउन्टी, प्रिफेक्चर, प्रान्तीय र केन्द्रीय) सरकारप्रति चिनियाँ नागरिकको औसत सन्तुष्टि घटेको नभई बढेको सर्वेक्षकले प्रतिवेदन सार्वजनिक गर्दा बताएका थिए।

सन् २०१६ मा ९३.१ प्रतिशत उत्तरदाताले सीपीसी र चीन सरकारसँग सन्तुष्ट रहेको बताएका थिए। सन् २००३ मा सीपीसी र चीन सरकारसँग सन्तुष्टि दर ८६ प्रतिशत मात्र थियो। यही प्रकारको सर्वेक्षण अमेरिकामा पनि भएको थियो। ग्यालप सर्वेक्षणका अनुसार अमेरिकामा सन् २०१६ मा ३७ प्रतिशत व्यक्तिले सरकारसँग सन्तुष्ट रहेको बताएका थिए। यो सन्तुष्टि दर सन् २००३ को ३९ प्रतिशतबाट २ प्रतिशत कम थियो।

उक्त प्रतिवेदनको निष्कर्ष के छ भने चीनका गरिब बासिन्दाले आधारभूत स्वास्थ्य सेवा, सरकारी कल्याणकारी योजना र अन्य सार्वजनिक सेवा दिन सरकार झन् प्रभावकारी भएको महसुस गरेका छन्। चिनियाँ नागरिकले अझै पनि निरन्तर आय असमानता र जागिरको असुरक्षा जस्ता महत्त्वपूर्ण समस्या पहिचान गरे पनि धेरैजसोले सरकारी कामकारबाही सकारात्मक दिशामा गइरहेको र आफ्ना भौतिक कल्याणमा सुधारका लागि सरकारलाई श्रेय दिने गरेको प्रतिवेदनले निचोड निकालेको छ।

चिनियाँ नागरिकले देशको भ्रष्टाचार विरोधी कार्यलाई दृढ समर्थन गरेको उल्लेख गर्दै सन् २०११ मा भ्रष्टाचारविरुद्ध लड्ने सरकारी प्रयासलाई ३५ दशमलव ५ प्रतिशत उत्तरदाताले अनुमोदन गरेका थिए। जबकि यो संख्या सन् २०१६ मा ७१ दशमलव ५ प्रतिशत पुगेको सर्वेक्षणले देखाएको छ।

सीपीसी र चीन सरकार आफ्ना नागरिकमा लोकप्रिय भइरहेको बेला अमेरिकी शासन व्यवस्था भने अनगिन्ती समस्यामा जेलिएको छ। अमेरिकाले यति बेला सामना गरिरहेको सबैभन्दा महत्त्वपूर्ण समस्या आय र सम्पत्तिको असमानता हो।

सीपीसी र चीन सरकार आफ्ना नागरिकमा लोकप्रिय भइरहेको बेला अमेरिकी शासन व्यवस्था भने अनगिन्ती समस्यामा जेलिएको छ। अमेरिकाले यति बेला सामना गरिरहेको सबैभन्दा महत्त्वपूर्ण समस्या आय र सम्पत्तिको असमानता हो। अमेरिकी मध्यम वर्गको दीर्घकालीन पतन र उनीहरूको कुलीन वर्गमा विकास भइरहेको अमेरिकी गार्जियन अनलाइनमा बार्नी सेन्डरले एक लेख लेख्दै प्रकाश पारेका छन्।

सन् २०२२ मा, सीमित अरबपतिसँग अमेरिकी समाजको आधाभन्दा बढी अर्थात् १६ करोड अमेरिकीको भन्दा बढी सम्पत्ति छ। आम्दानीको ४५ प्रतिशत हिस्सा शीर्ष १ प्रतिशत अमेरिकीमा थुप्रिएको छ। त्यहाँका ठूला निगमका सीईओले आफ्ना कर्मचारीको भन्दा ३५० गुणा बढी सुविधा पाउने गरेका छन् ।

वालस्ट्रिट जर्नलले अमेरिकी नेसनल सेन्टर फर हेल्थ स्ट्याटिस्टिक्सको प्रतिवेदनको हवाला दिँदै अमेरिकीको सरदर आयु दुई वर्ष घटेको जनाइएको छ। सन् २०२० र २०२१ को कोरोना महामारीमा, अमेरिकीको सरदर आयु ७८ दशमलव ८ बाट घटेर ७६ दशमलव १ वर्षमा झरेको छ।

अमेरिकीको सरदर आयु यो अवस्थामा घटेको सन् १९९६ पछिको सबैभन्दा न्यून स्तर हो। सरल भाषामा भन्ने हो भने, महामारीले चिकित्सा व्यवस्था र स्वस्थ जीवनशैलीमा भएको एक चौथाइ शताब्दीको प्रगतिको प्रभावलाई नामेट बनाएको छ।

सधैँ चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अमेरिकी नियत चीनको विकासलाई रोक्नु हो। युद्ध, हतियार, प्रभुत्व लाध्ने कार्य, कथित मानव अधिकारका नाममा गर्ने धन्दाले अमेरिका आफूले खनेको खाल्डोमा आफैँ जाकिँदै छ। यता चीनचाहिँ ‘कुकुर भुक्तै गर्छ, हात्ती लम्कँदै गर्छ’ भने झैँ विकास निर्माण र आफ्ना नागरिकका आवश्यकता पूर्ति गर्न निरन्तर क्रियाशील छ।

राजनीतिमा सामान्यतः नयाँ सत्ता र नयाँ सरकार पुरानोभन्दा लोकप्रिय हुने गर्दछन्। नयाँप्रति आलोचना गर्ने र असन्तुष्टि जनाउने प्रश्वस्त आधारहरू बनिसकेका हुँदैनन् तर, पुरानाप्रति मान्छेहरू दिक्क भइरहेका हुन्छन्।

यो प्रक्रिया हरेक देशमा लागू हुने गर्छ। तर, एक सय वर्षभन्दा लामो इतिहास बोकेको सीपीसी चीनमा दिनदिनै बढी लोकप्रिय हुनुपर्ने खास कारण के हुन् ? त्यसमाथि ७३ वर्षदेखि चीनको सत्ता सम्हालेर  बसेको राजनीतिक दललाई किन धेरै चिनियाँ नागरिकले मन पराएका छन् ?

यसका केही कारणहरू छन्। ती कारणलाई बुँदागत रूपमा यसरी विश्लेषण गर्न सकिन्छ।

प्राथमिकतामा जनता

सीपीसी र चिनियाँ सरकारले जनतालाई सदैव प्राथमिकतामा राख्ने गरेको छ। सन् २०१२ मा सीपीसीको १८ औँ महाधिवेशनबाट महासचिवमा निर्वाचित सी चिनफिङले जनतालाई प्राथमिकतामा राख्न पार्टीका हरेक सदस्यलाई निर्देशन दिँदै आएका छन्।

उनले गर्ने हरेक सम्बोधनमा पनि जनतालाई प्राथमिकता दिएर काम गर्ने विषय समेटिएका हुन्छन्। जनतालाई प्राथमिकता राख्ने भएकाले नै चीनमा समूल रूपमा गरिबी निवारण सम्भव भएको हो। उनले गरिबी निवारणमा कुनै एउटा व्यक्ति पनि छुट्नु हुँदैन भन्ने नीति अँगाल्दै कार्यकर्तालाई काम गर्न निर्देशन दिएका थिए।

गरिबी निवारण

सी चिनफिङ सत्तामा आएको ८ वर्षमै चीनले ९ करोड ८९ लाख ९० हजार मान्छेलाई गरिबीबाट मुक्त गर्न सक्यो। हरेक नागरिकले बाँच्न पाउने अधिकार नै मानव अधिकार भन्ने सिद्धान्त चीनले लिएको छ। गरिबी निवारण गरेर चीनले विश्वमै उत्कृष्ट मानव अधिकार प्रदर्शन गरेको छ।

सी चिनफिङ केन्द्रीत सीपीसीको नेतृत्वमा रहेको चीन सरकारले हरेक नागरिकको स्वास्थ्य, शिक्षा, बीमा, रोजगारी, सामाजिक सुरक्षा, ज्येष्ठ नागरिकको संरक्षण जस्ता विषयलाई ग्यारेन्टी गरेको छ । जसका कारण नागरिक खुसी हुनु र सरकार तथा सत्तारुढ दलप्रति विश्वास बढ्नु स्वाभाविक हो।

भ्रष्टाचार नियन्त्रण

सी चिनफिङ सत्तामा आउनासाथ भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाए। भ्रष्टाचार नियन्त्रणमा उनले सीपीसीकै उच्चस्तरका नेताबाट काम थालनी गरे। चिनियाँको एउटा उखान छ, ‘भर्‍याङ र भ्रष्टाचार माथिबाट बढार्नुपर्छ।’

हो, यही भनाइलाई चरितार्थ गर्दै सीले कठोर अभियान चलाएपछि भ्रष्ट नेता हालयकालय भए। भ्रष्टाचार पूर्ण रूपमा नियन्त्रण भयो। चीनमा भ्रष्टाचार गरेर अमेरिका लगायतका विभिन्न देशमा लुकेकालाई धमाधम स्वदेश फर्काएर कारबाही गरियो। कयौँ नेतालाई मृत्युदण्ड पनि दिइयो।

भ्रष्टाचार नियन्त्रण भएपछि विकास निर्माणका काम तीव्र भए। अनावश्यक सरकारी खर्चमा व्यापक कटौती भयो। यी कामबाट जनताले राहत पाए र सीपीसी तथा सरकारको लोकप्रियता बढ्यो।

सफल र सबल नेतृत्व

सन् २०२१ जुलाई १ तारिखमा आयोजित सीपीसीको एक सयौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सी चिनफिङले सीपीसीले मूलतः चारवटा वृहत् सफलता प्राप्त गरेको औँल्याएका थिए। उनले भनेका थिए:- सीपीसीले चिनियाँ जनताको मुक्ति र एकताका लागि संघर्ष गरेको छ। सीपीसीको नेतृत्वमा सशक्त चीन निर्माण भएको छ। सीपीसीको नेतृत्वमा चीनले सुधार र खुलापन अँगाल्दै चिनियाँ चरित्रको समाजवादी व्यवस्थामा हिँडाएको छ।

र, सीपीसीको नेतृत्वमा आत्मविश्वास, आत्मभरोसा र आविष्कारले नयाँ युगमा चिनियाँ चरित्रको समाजवाद विकास भएको छ।’ सीले औँल्याएका यी चारवटा वृहत् सफलतामा सीपीसीको नेतृत्व सफल र सबल छ।

देशभक्ति भावना

चीनले असङ्ख्य घरेलु समस्यासँगै कयौँ बाह्य समस्यासँगै एकै पटक पौँठेजोरी खेल्नुपरेको छ। पछिल्लो समय अमेरिकी गठबन्धनले हङकङ, तिब्बत, सिन्च्याङ, दक्षिण चीन सागर, पूर्वी चीन सागर तथा ताइवान जस्ता विषयमा चीनमाथि लान्छना लगाउने, चीनको आन्तरिक मामिलामा खुलेआम हस्तक्षेप गर्ने, अन्तर्राष्ट्रिय जगतमा चीनको बदनामी गर्ने, चिनियाँ नागरिक तथा चिनियाँ उत्पादनलाई भेदभाव गर्ने प्रयास गरिरहेको छ ।

यस्तो बेला समग्र चिनियाँलाई एउटै मालामा उनेर देशभक्तिको भावना पैदा गराउने काम सीपीसीले गर्दै आएको छ। सन् १९३१ देखि १९४५ सम्म सीपीसीकै नेतृत्वमा चिनियाँ जनताले जापानी अतिक्रमणकारका विरुद्ध युद्ध गरेका थिए। सन् १९४९ मा नयाँ चीन स्थापना भएपछि पनि चीनले निरन्तर विदेशी हस्तक्षेपका विरुद्धमा प्रतिकार गर्दै आएको छ। सीपीसीले सधैँ देशभक्तिको भावना बोकेको र चिनियाँहरू अत्यधिक देशभक्त भएकाले उनीहरू सीपीसी र सरकारप्रति पूर्ण विश्वस्त छन्।

विकास निर्माण

चीनलाई विश्वको कारखाना भनिन्छ। सन् २०११ देखि २०१३ सम्म चीनले प्रयोग गरेको सिमेन्टको खपत अमेरिकाले विगत एक सय वर्षमा गरेको सिमेन्टको खपतभन्दा बढी थियो। दिन दुई गुना रात चौगुना विकास गर्छ चीनले। द्रुत गतिमा भइरहेको भौतिक पूर्वाधार निर्माणले चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ।

केही वर्षमै अमेरिकालाई उछिनेर चीन विश्वको पहिलो ठूलो अर्थतन्त्र बन्नेछ। भौतिक पूर्वाधार निर्माणसँगै विश्वमा चिनियाँको इज्जत, प्रतिष्ठा र मानसम्मान पनि बढेको छ। विश्वकै सबैभन्दा धेरै वैदेशिक लगानी चीनले भित्र्याएको छ भने विश्वमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक पनि चीन नै बनेको छ।

विकासका प्रतिफल अरुलाई बाँड्न चीनले बीआरआई महाअभियान अगाडि सारेको छ । विकाससँगै नागरिकको मानसम्मान बढेपछि सीपीसी र चीन सरकार जनतामा लोकप्रिय हुने भइहाल्यो।

कडा अनुशासन

चिनियाँमा भएको अर्को महत्त्वपूर्ण सम्पत्ति अनुशासन हो। आफ्नो संस्कृतिको जगेर्नामा सबै चिनियाँ दत्तचित्तले लाग्ने गर्छन्। सीपीसीको अनुशासन उसका सदस्यमा मात्र लाग्छ तर चिनियाँ अनुशासन सबैमा लाग्ने गर्छ। उच्च नैतिक मनोबल, राष्ट्रप्रेम, बन्धुत्व, आपसी सहयोग जस्ता कुरामा चिनियाँ अगाडि छन्।

सीपीसीको सदस्यता लिन अत्यन्त ठूलो मापदण्ड पूरा गर्नुपर्छ। अनि सदस्य भइसकेपछि कडा अनुशासन पालना गर्नुपर्छ। सदस्य बन्ने व्यक्तिको पृष्ठभूमि, आनीबानी, पार्टीमा पुर्‍याएको योगदान, योग्यता र क्षमता लगायतका विषय हेरेर निश्चित समयसम्म निगरानी राखेपछि मात्र सदस्यता स्वीकृत हुन्छ।

सीपीसीको हरेक सदस्यले कडा अनुशासनको अनुसरण गर्नुपर्छ। चिनियाँ नेताले जनताले भोगेका दुःखसुख आफ्नै जस्तो ठान्नुपर्छ। कुनै पनि पार्टी सदस्यले दुर्गम क्षेत्रमा जान नमाने, जनताका दुःख नबुझे, भड्किलो जीवनशैली अपनाए, पैसा अथवा पैतृक सम्पत्तिको तुजुक देखाए अनुशासन उल्लङ्घन ठहर्छ र कारबाहीयोग्य हुन्छ।

उल्लिखित विश्लेषणबाट आफूलाई सीपीसीको अनुयायी ठान्ने नेपाली नेताले आफ्नो स्वार्थ, आफन्तका स्वार्थ र पुँजीपतिको स्वार्थका लागि होइन बहुसङ्ख्यक जनताको स्वार्थका लागि काम गर्न प्रेरणा लिन्छन् कि ?


Comment

2 thoughts on “ओली, प्रचण्ड र माधवले के सिक्छन् चिनियाँ कम्युनिष्ट पार्टीबाट ?

  1. वास्तवमा चीन सरकार समुन्नत समाज निर्माण गर्ने कार्यमा आईपर्ने हर समस्याको बस्तुगत कारणलाई पन्छाउन योजनावद्ध तवरले लागेको हुनाले जनतामा सरकार र चीकपा प्रति धेरै आस्था र भरोसा छ, र जनता मानसिक रूपमै सरकारका योजना सफल बनाउन आफूले गर्नुपर्ने भूमिका गर्न तत्पर छन। तर यताका नेता अझै दलगत स्वार्थ पुरा गर्न हुँडारको लडाई लडिरहेका छन।

    1. धन्यवाद काजीराम सर। तपाईले गहन ढङ्गले पढ्ने र सेयर गर्ने गर्नु भएको छ। तपाईप्रति हार्दिक आभार प्रकट गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved