हत्या अभियोगमा जन्मकैद सजाय पाएका व्यक्ति एमालेबाट उम्मेदवार सिफारिस

नेकपा एमालेले प्रहरीको हत्यामा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिलाई उम्मेदवारका लागि सिफारिस गरेको छ ।

हत्या अभियोगमा जन्मकैद सजाय पाएका व्यक्ति एमालेबाट उम्मेदवार सिफारिस

काठमाडौं। नेकपा एमालेले प्रहरीको हत्यामा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिलाई उम्मेदवारका लागि सिफारिस गरेको छ ।

एमालेले सिरहा क्षेत्र नम्बर १ बाट रामशंकर यादवलाई प्रतिनिधि सभाका लागि एकल उम्मेदवारमा सिफारिस गरेको हो । उनी पार्टीका मधेस प्रदेश कमिटी सदस्य पनि हुन् ।

अदालतको फैसलापूर्व नै फरार रहेका यादवलाई २०६९ पुस ३ गते प्रहरीले काठमाडौं काँडाघारी टाउन प्लानिङ्गबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । २०५८ मंसिर ३ गते तत्कालीन सिराहा जिल्ला भगवानपुर गाविस–४ मा दिनेश यादव र राजेन्द्र यादवको संयुक्त स्वामित्वमा रहेको बसको विषयलाई लिएर भएको विवादमा उनले गोली चलाउँदा  प्रहरी जवान यमबहादुर बस्नेतको मृत्यु भएको थियो ।

उक्त घटनामा दोषी ठहर गर्दै सिरहा जिल्ला अदालतले यादवलाई कर्तव्य ज्यान मुद्दामा ६ माघ २०६१ मा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । २०७६ सालको संविधान दिवसका दिन उनलाई मन्त्री परिषदको निर्णयबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएपछि रिहा भएका थिए । त्यसपछि उनी नेकपा एमालेको राजनीतिमा सक्रिय भएका हुन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा के छ व्यवस्था ?

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार यस्ता व्यक्ति उम्मेदवारका लागि अयोग्य हुन्छन् ।

ऐनको दफा १३ को (ङ) मा संगठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएका व्यक्ति उम्मेदवारका लागि अयोग्य मानिने उल्लेख छ । यो ऐन अनुसार यादवले राष्ट्रपतिबाट आममाफी पाएको ६ वर्ष पुगेको छैन ।

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रदीप गिरि निर्वाचित भएका थिए । गिरिको केही दिनअघि मात्रै निधन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved