नयाँ दिल्ली। यूएईमा चलिरहेको टी-२० एसियाकप क्रिकेट हेर्न पुगेका एक भारतीय युवालाई ज्यान मार्ने धम्की आएको छ । पाकिस्तानको जर्सी लगाएको भन्दै युवालाई ज्यान मार्ने धम्की आएको हो । संयम जयसवाल नाम गरेका युवा भारतको बरेलीबाट एसियाकपमा भारत र पाकिस्तानको खेल हेर्नकै लागि दुबई पुगेका थिए ।
स्टेडियमको बाहिर पुग्दा उनले भारतको जर्सी किन्न खोजे तर भारतको जर्सी कतै पाएनन् । उनले अन्तमा पाकिस्तानको जर्सी किनेर लगाए । पाकिस्तानको जर्सीमा भारतीय झण्डा हातमा लिएर उनले तश्वीर खिचे । उनले यो तश्वीर आफ्नो साथीलाई मात्रै पठाएका थिए । तर साथीले तश्वीर सामाजिक सञ्जालमा राखेर भाइरल बनाइदिए ।
पाकिस्तानको जर्सी लगाएर तश्वीर खिच्ने काम उनलाई यो काम निकै भारी पर्यो । भारतीय सञ्चारमाध्यम एनडीटीभीसँग जयसवालले आफूलाई दिनदिनै ज्यान मार्ने धम्की आईरहेको बताएका छन् ।
बरेली प्रहरीमा युवामाथी एफआईआर दर्ता गरेर पक्राउ गर्नपर्ने माग उठेको छ । तर बरेलीका प्रहरी एसएसपी सत्यार्थ अनिरुद्र पंकजले यसलाई अर्कै देशमा भएको सामान्य घटना भएको र ट्वीटरमा फोटो देखिएकै भरमा युवामाथि आरोप दर्ता गर्न नसकिने बताएका छन् ।
Facebook Comment
Comment