ब्लग

जहाँ गगन भेटिए, जहाँ गगन भेटिएनन् !

जहाँ गगन भेटिए, जहाँ गगन भेटिएनन् !

गगन थापा नेपाली राजनीतिमा सबैभन्दा धेरै रेटिङमा पर्ने नेतामध्ये एक हुन् । यसो भन्न अब पक्ष हुनुपर्दैन, विपक्षले पनि आत्मसात् गरेको तथ्य हो । आफ्नोभन्दा पाको उमेर समूहमा रहेका अधिकांश नेताका भन्दा उच्च रेटिङ छ उनको । थापाका आफ्ना क्रियाकलाप, बोलीवचनदेखि उनीमाथि बोलिने धावाकै कारण पनि नेपाली राजनीतिमा चर्चामा छन् । ताली खाएर होस् गाली खाएर होस्, उनी चर्चामै छन् ।

गगन थापाका जति धेरै समर्थक छन्, त्यति नै विरोधी पनि देखिन्छन्। थापालाई समर्थन गर्नेहरूले उनलाई भोलिको नेता वा प्रधानमन्त्री सोच्छ भने गाली गर्नेले राष्ट्रवादी कोणबाट आलोचना गरिरहेका हुन्छन् ।

गाली वा ताली बजाउने भीडकै आधारमा त्यो व्यक्तिको उचाइ मापन पनि हुन्छ । गाली नखाएरै यो संसारमा ठूला बनेका पात्रहरूका उदाहरण विरलै होलान् । आफ्नो समयमा उच्च गाली खानेहरू अन्ततः महापुरूष भएका उदाहरण पनि भेट्न सकिन्छ । गगन थापालाई गरिने गाली र गगन थापाले खाने तालीबीच उनको सर्वव्यापीस्वरूप नै मुख्य कुरा हो । यो सर्वव्यापीस्वरूपमा केही केही विशेष कमजोरी देखिए पनि कतिपय उच्च गुण हावी छ भन्दा फरक पर्दैन ।

म गगन थापाको निर्वाचन क्षेत्रको एक सर्वसाधरण हुँ भन्दा फरक पर्दैन । यद्यपि परिचयका हिसाबले भने गगन थापालाई चिनेको १५ वर्षभन्दा धेरै नै भयो । यो बीचमा उनी दुईपटक प्रत्यक्ष सांसद र एकपटक समानुपातिक सांसद बने । ०६४ को समानुपातिक र ०७० को प्रत्यक्ष सांसद उनी संविधानसभाका लागि भएका थिए जुन संबिधान बनाउनका लागि थियो । ०७४ सालमा भएको चुनावबाट निर्वाचित भएपछि भने उनी साँचो सांसद थिए जसले नीतिदेखि विकाससम्म संबोधन गर्न पाउँथे ।

आफ्नै क्षेत्रको सांसद भएकाले धेरथोर चिनजान परिचय भए पनि म गगन थापाको कट्टर समर्थक वा जथाभावी आलोचक दुवै हैन । लेखन तथा पत्रकारितामा काम गरिरहेकाले थापाका कुनै विषयमा आलोचना तथा कुनै विषयमा समर्थन दुवै गरेको छु । यस हिसाबले गगनको आफ्नो निर्वाचन क्षेत्रमा के कस्तो योगदान गरे वा उनको छवि कस्तो छ भन्ने कुराको साक्षी पनि हुँ ।
अझ यसो भनौं, आफ्नो निर्वाचन क्षेत्रमा के के काम गरे वा के के गरेनन् भन्ने विषयको चासो सम्भवतः मलाई अलि बढी नै छ । कारण, गगन थापा वा उनी जत्तिको व्यक्तिले यो देश हाँकून् भन्ने सदाशयता ममा धेरै नै छ।

गगन थापाको चुनावी क्षेत्रमा निर्माण शुरू गरेर ८ वर्षदेखि बन्न नसकेर ठस्ठसी कनिरहेको सुवर्ण शमशेर क्रिकेट मैदान होस् वा बनिरहेको तर जसका लागि निकृष्ट राजनीति भैरहेको बुढानीलकण्ठ नगर अस्पताल होस्, मैले देखेको मात्र नभै कहिँकतै लेखिरहेको विषय हुन् ।

त्यसैगरी धोबीखोला करिडोरदेखि बूढानीलकण्ठका १२ वटा जति मेरूदण्ड सडकका विभिन्न आयामबारे म स्वयम् पनि कतिपय कुरा भन्न सक्छु । विकास भएका वा विकास हुन नसकेका धेरै मुद्दामा मैले लेखेको छु ।

मलाई लाग्छ, नेपाली राजनीतिमा केपी ओलीपछि पब्लिक रेस्पन्समा ‘सुपर सेन्स’ भएको नेता हुन् गगन थापा । मानिसलाई टाढैबाट चिन्नेदेखि सहज संवादमा सहभागी हुने गुणका कारण चुनावी मैदानमा थापालाई विपक्षी पार्टीकै अख्खा मानिसले पनि भोट दिने गरेका छन् ।

पार्टी महामन्त्रीको क्षेत्र संगठनका लागि ‘वाह’ भन्ने लायक नहुनु गगन थापा नभेटिएको ठाउँ हो । काठमाडौं क्षेत्र नं ४ को काँग्रेस पार्टी, यहाँको नेतृत्व र उनका गतिविधि हेर्दा कहिँकतै गगन थापाको क्षेत्रझैँ प्रतीत नै हुन्न ।

काखापाखा नगरी सम्वाद गर्नेदेखि जन्मदेखि मृत्युसम्मका यावत् समयमा क्षेत्रवासीको घरआँगन वा घाटसम्म पुग्ने नेताका रूपमा पनि थापा परिचित छन् । पुराणदेखि पास्नीसम्म, अस्पतालदेखि घाटसम्म पुग्नेमात्र नभै जनमानसमा जम्न परेको ठाउँमा जम्ने र रम्न परेको रम्ने नेता भएकै कारण पनि थापा एमालेको गढमा आफ्नो मजबुत किल्ला गाढेर बसेका छन् ।

विपक्षी एमालेको एकखाले गढजस्तो ठाउँ हो, गगन थापाको निर्वाचन क्षेत्र हो । गगन थापाले संसदीय चुनाव जित्नुबाहेक काठमाडौं क्षेत्र नं ४ का स्थानीय तहका १२ वडामा काँग्रेस कमजोर नै छ । देशभरी काँग्रेसको माहौलमा पनि यस क्षेत्रमा जम्म ३ वटा वडाध्यक्षमात्र काँग्रेसले जित्न सक्यो । स्थानीयरूपमा काँग्रेसको कमजोर संगठन भएकै कारण पनि थापा आफ्नो निर्वाचन क्षेत्रको विकासका पक्षलाई राम्ररी सम्बोधन गर्न चाहन्छन् तर उनी विकासका हरेक मोर्चामा जस लिनचाहिँ चुक्ने गरेको देखिन्छ ।

यसरी जस लिन नसक्नुको पछाडि उनका आफ्ना लोभीपापी भाइभारदार तथा स्थानीय नेताको पनि कहिँ कतै भूमिका देख्छु म । त्यसो त, उनले आफ्नो निर्वाचन क्षेत्रको काँग्रेसलाई सहज मिलाउन सकेको पनि देखिन्न । पार्टी महामन्त्रीको क्षेत्र संगठनका लागि ‘वाह’ भन्ने लायक नहुनु गगन थापा नभेटिएको ठाउँ हो । काठमाडौं क्षेत्र नं ४ को काँग्रेस पार्टी, यहाँको नेतृत्व र उनका गतिविधि हेर्दा कहिँकतै गगन थापाको क्षेत्रझैँ प्रतीत नै हुन्न ।

केही वर्षअघि धोबीखोला करिडोर बाटो बनाउने ताका एकपटक थापासँग सम्वाद भएको थियो । उनले त्यसका लागि मन्त्रालयतिर आफैं धाउँदै तथा आफ्ना हितैषीहरूलाई धाउन लगाउँदै थिए । आज सर्वाधिक सहज आवतजावतको सडक बनिरहेको धोबीखोला करिडोरलाई गोपीकृष्ण हलबाट मास्तिर लैजान पर्छ भनेर गगन थापा लाग्दा विपक्षी पार्टीहरू भाँजो हाल्न आएको घटनाहरू पनि थिए । आज तिनै विपक्षीहरू धोबीखोला करिडोर आफूले बनाएको भन्नलाई लजाउँदैनन् ।

करिडोर बनाउने ताका ठेक्कादेखि विभिन्न विषयमा ठूला लफडाहरु गगन थापाले भोगेका थिए । आज बूढानीलकण्ठको नौलिनस्थानसम्म धोबीखोलाको वारीपारी शानदार सडकबाट हिँड्दा हामी कतिलाई यो सहजै भएको जस्तो लाग्न सक्छ तर यसका लागि सानो मेहनत भने परेको छैन ।

यो प्रोजेक्ट गगन थापाका प्रयासले हुन थालेपछि यसलाई रोक्न, बिथोल्नदेखि अपजसतिर धकेल्नसम्म ठूलै प्रयास र खेल खेलियो तथापि थापाले हार नमानी आफ्नो भूमिका गरे । तर यसमा म भने गगन थापाको चुकेको देख्छु । यति ठूलो प्रोजेक्टमा काम गरेर पनि यसको जस किन राम्ररी लिएनन् वा विपक्षले गर्ने स्टन्टलाई कसरी नजरअन्दाज गरे होलान् !?

धोबीखोला करिडोरमा अर्बौंको लगानी हुँदा पनि थापाले एकपटक गएर फोटो खिचेर सामाजिक सन्जालमा हालेनन् । यही कमजोरीको फाइदा विपक्षले लिएको देखिन्छ ।

त्यसो त गगन थापा फोटो खिचाउन वा सामाजिक सन्जालमा फोटो हाल्न अत्यन्त चुजी झैँ लाग्छ । राष्ट्रिय मुद्दाबाहेक स्थानीय मुद्दा उनको सामाजिक सन्जालमा भेटिन्न । यो उनले स्थानीय मुद्दालाई हेला गरेका हुन् वा स्थानीय विकासका कामलाई सामाजिक सन्जालमा राखेर घटिया राजनीति नगरेका हुन् त्यो सहज अनुमान गर्न सकिन्छ । जे होस् सामाजिक सन्जालका फोटामा गगन भेटिंदैनन् ।

कपनलाई चिनाउने विषय बनिरहेको डुबानका विषयमा गगन थापाले एकपटक म आफूसँग पनि कसरी सम्भावना हुन्छ भनेको सम्झना आउँछ । म आफू ०५४ को जनप्रतिनिधि भएका कारण यस डुबानको कारण र यसको हलका बारे थापाले जिज्ञाशा राखेका थिए । मैले भनेको थिएँ, यो समस्या अब इन्द्रेको बाउ चन्द्रे आए पनि हल हुन्न ।’ तथापि उनले डबल ढल हाल्नदेखि हाल चलिरहेको बक्स कल्भर्टसम्ममा आफूलाई पुर्‍याए ।

हरेक वर्ष दर्जन पटकभन्दा धेरै डुब्ने कपन डुबानलाई गगन थापाले अझै राम्ररी बुझेझैँ लाग्दैन मलाई । कपन डुबानको विषयमा काँग्रेस र थापा स्वयमले राजनीति गर्न जानेनन् भन्ने मेरा बुझाइ हो । कपन डुबानको समस्या जसका कारण भयो त्यही मान्छेलाई एमालेले हाल नगरप्रमुख बनायो तर काँग्रेसले यस्तो गम्भीर विषयमा राजनीति गर्न सकेन ।
थापाको स्थानीय मुद्दामा राजनीति गर्न हुन्न भन्ने धारणा पनि मलाई कमजोर लाग्छ । राजनीति गर्ने विषयमा राजनीति गर्न सकिएन भने पछि आफैं प्रतिरक्षात्मक भइन्छ ।

खोलाकै जमिनमा बस्ती, खोला नै पुरेर सडक अनि त्यही सडकमा खोला बगिरहेको कपनका केही भेक अब डुबानबाट मुक्त हुन निकै गारो छ । वर्षामा बाढीमै रमाउनु उपयुक्त हुनुपर्ने अवस्था बनेको छ । यसरी डुबानको समस्या आउनुमा सबैभन्दा ठूलो दोष खोला छेउमा बस्नेहरुकै हो ।

खोला पुरेर साँघुरो रूपमा बनाइएको सडक अनि सडकमुनिको ढल वा बक्स कल्भर्टले कपनमा वर्षामा पर्ने पानीको मात्रालाई थेग्न सकिंदैन भन्ने सत्यलाई गगन थापाले जनतासामू स्पष्ट पार्न आवश्यक छ । यसमा उनी चुकिरहेको देखिन्छन् । उनले गम्भीर भएर पहल गरेको बजेट बालुवामा पानी हालेसरी मात्र भएको मात्र हैन, उनको पहलमा बजेट आउने अरू दलको नेताले आफूले ल्याएको भन्ने गरेको पनि देखिन्छ ।

मलाई लाग्छ अब, कपनका पुराना खोला उप्काउने मुद्दा थापाले बोक्नुपर्छ । कुनै दिन यो कुराले सार्थकरूप लिन सक्छ । कपनका पूराना खोला जति सबै नखोलीकन कपन डुबानको हल हुन्न भन्ने कुरा थापाले अब जनतालाई बुझाउन ढिलो गर्न हुन्न ।

नेपालको इतिहासमै मन्त्री बनेर बाहिरिँदा वाहवाही कमाएका नितान्त कम व्यक्तिमध्ये एक हुन् गगन थापा । उनी मन्त्रीहुँदा आफ्नो निर्वाचन क्षेत्रमा दुइवटा सहरी स्वास्थ्य केन्द्रका काम गरे । एउटा कामपा ३० मा अर्को बुनपा १० मा । नेपालमै उदाहरणीय काममध्ये पर्ने यो अवधारणा विदेशमा गरिएका केही राम्रो अभ्यासमा आधारित थियो ।

कामपा वडा नं ३० मा यसले राम्रो रूप लिए पनि यही कुरा बूढानीलकण्ठमा स्थानीय सरकार बैरी हुँदा २० शैयाको नगर अस्पताल बन्दैछ भन्ने थिममा स्वयम् गगन थापालाई समेत गिज्यारहेको छ । थापाले नगर अस्पतालको अवधारणा, बजेटको आधार र निर्माण प्रक्रियाका बारे आफूले गरेका यावत पहल एवम् कामलाई जनतासम्म पुर्‍याउनै सकेनन् ।

यसमा बूढानीलकण्ठ नगरपालिकामा एमालेको राज हुनु र गगन थापाको कामलाई जसरी पनि भाँजो हाल्ने सोच नगरका मेयर र वडाध्यक्षमा व्याप्त हुनुले पनि काम गरेको छ । यसमा काँग्रेसको स्थानीय संगठन र नेताहरू जुध्न नसकेको पनि देखिन्छ ।

बूढानीलकण्ठमा गगन थापामार्फत १२ वटा जति महत्वपूर्ण मेरूदण्ड सडक बनेका छन् । आधा दर्जन खानेपानीको स्रोत विकाससम्बन्धि आयोजनालगायत उनका कामहरूको लिस्ट हेर्‍यो, अचम्मै लाग्दो छ । म व्यक्तिगतरूपमा यसरी विकास वा विकासमा बजेट पार्नुलाई नीतिगत भ्रष्टाचार भएको जस्तो लाग्छ ।

आफ्नो शक्ति तथा पहुँचका आधारमा थापाले काठमाडौं क्षेत्र नं ४ मा यति धेरै योजना तथा बजेट हाले जुन सम्भवतः नेपालमा अरू सांसदले सायदै गरे होलान् । पहुँच र शक्तिका आधारमा यसरी एउटा दुइवटा क्षेत्रमा बजेट थुपार्नु भ्रष्टाचार हो भनेर भन्न कम्तिमा म सक्छु ।

(लेखक कपन निवासी हुन् ।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved