बेइजिङ डायरी

दुवै खुट्टा गुमाएर पनि जसले सगरमाथाको शिखर चुमे, जिन्दगीमा हार नमान्ने सियाको कथा

उनले भने ‘‘सगरमाथा आरोहण गर्नु मेरो जीवनको सपना हो। मैले अन्तिम साससम्म प्रयास गर्ने वाचा गरेको छु।’’ नरम बोल्दै गरेका चिकित्सकको मुखबाट कडा जवाफ निस्कियो ‘‘तिमी सगरमाथा चढ्ने त होइन केही समयपछि उभिन पनि सक्दैनौ।’’ चिकित्सकको भनाइको तत्कालै प्रतिवाद गर्द उनले भने ‘‘मैले कहिल्यै हार मान्ने गरेको छैन।’’

दुवै खुट्टा गुमाएर पनि जसले सगरमाथाको शिखर चुमे, जिन्दगीमा हार नमान्ने सियाको कथा

बेइजिङ। सन् २०२० को जनवरी ७ तारिख मंगलबारको बेलुकी। बेइजिङको सितानस्थित पान प्यासिफिक होटलमा नेपाली दूतावासले आयोजना गरेको थियो, ‘नेपाल भ्रमण वर्ष २०२०’ को चिनियाँ संस्करण उद्घाटन समारोह।

(पछि कोरोना महामारीले गर्दा नेपालले ‘नेपाल भ्रमण वर्ष २०२०’ स्थगित गर्‍यो) समारोहमा दक्षिणी मोहोडाबाट सगरमाथा आरोहण गर्ने केही चिनियाँले प्रस्तुति दिएका थिए। प्रस्तुति दिनेमध्ये एक व्यक्ति देखेर म आश्चर्य चकित भएँ। किनकि, उनका दुवै प्राकृतिक खुट्टा थिएनन्, कृत्रिम थिए।

प्रौढ देखिने ती व्यक्तिले आफ्ना दुवै खुट्टा सगरमाथा आरोहणका क्रममा नै गुमाएका रहेछन्। खुट्टा गुमाएको ४३ वर्षपछि ६९ वर्षको उमेरमा उनले सगरमाथाको आरोहण गरेको सुनाए। त्यो साहस देखेर उनीसँग कुराकानी गरेर एउटा फिचर लेख्ने हुटहुटी त्यतिखेरै चलेको हो। तर, भिडभाडमा कुरा गर्न अनुकूल भएन। समय पनि अभाव भयो। उनीसँग चिनापर्ची हुनै पाएन। म थकथकाए र फर्किएँ।

उनका बारेमा बुझ्ने र केही लेख्ने धोको अढाई वर्षपछि पूरा भएको छ। दुई साता अगाडि अर्थात् सन् २०२२ को अगस्ट ७ तारिख नेपाली दूतावासले दक्षिणी मोहोडा (नेपालपट्टि)बाट सगरमाथा आरोहण गर्ने चिनियाँको सम्मानमा एक समारोह आयोजना गरेको रहेछ। मलाई पनि निमन्त्रण आयो। दूतावासकै सभाकक्षमा आयोजित उक्त कार्यक्रममा ती दुवै खुट्टा काटिएका व्यक्ति पनि त्यही देखिए। उनले आफ्नो अनुभव समेटेर छोटो र मिठो प्रस्तुति पनि दिए।

कार्यक्रम सकिएपछि मेरो पुरानो धोको पूरा भयो। खाना खाँदै उनीसँग केही कुरा गर्ने अवसर मिल्यो। हामी विच्याटमा जोडियौँ। विच्याटमा उनीसँग कुरा गरेपछि थाहा भयो उनका अचम्मका कुरा । उनी हुन् ७३ वर्षीय सिया पोयु।

यसरी गुमाए दुवै खुट्टा

सन् १९४९ मा छोङछिङमा जन्मिएका सिया पोयु सफल फुटबल खेलाडी थिए। खेलाडी हुँदाहुँदै उनमा सगरमाथा आरोहण गर्ने रहर जाग्यो। सन् १९७५ मा जोसिलो २६ वर्षे जाँगरका साथ उनी विश्वको सर्वोच्च शिखर नाप्न लम्किए। सगरमाथाको उत्तरी मोहोडाबाट उनको समूह अगाडि बढेको थियो।

सामान्यतः हरेक व्यक्तिका लागि जुनसुकै हिमाल आरोहण आफैँमा चुनौतीपूर्ण कार्य हो। आरोहणको क्रममा उच्च अक्षांशमा लेक लाग्ने, अक्सिजनको कमीले हुने थकावट, चारैतिर सेताम्मे हिउँको दृश्यबाट लाग्ने चक्करलगायत धेरै संकटको सामना गर्नुपर्ने हुन्छ।

हिमालको भौगोलिक संरचनाको प्राविधिक जटिलता, सामूहिक कार्यको संयोजन, अत्यधिक चिसोका कारणले शारीरिक अ‌ंगको निष्क्रियता, लामो समय समस्यासँग जुध्दा आउने नैराश्य, शारीरिक दुर्बलता तथा मौसममा आकस्मिक परिवर्तनलगायतका समस्यासँग लड्न सक्ने व्यक्ति मात्र आरोही हुनसक्छ। त्यसमाथि विश्वको सर्वोच्च शिखर चुम्नु धेरैको सपना भए पनि थोरैका लागि मात्र सम्भव कार्य हो।

खेलाडीहरू साहसिक र चुनौतीपूर्ण जीवन जिउन चाहन्छन्। फुटबल खेलमा दैनिक साहस बटुलेर चुनौतीको सामना गरिरहेका सियाको मनमा अर्को चुनौती थप्ने हुटहुटी थपियो। उनको तीव्र चाहना र साहसलाई ख्याल गरेर चीन सरकारले सगरमाथा आरोहीको समूहमा उनको नाम समावेश गर्‍यो।

चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ सियालाई सम्मान गर्दै

जति बेला उनी सगरमाथा आरोहणका लागि छनोट भए, त्यस समयमा चीनमा धेरै पेशेवर पर्वतारोही थिएनन्। चीन सरकारले पनि राष्ट्रको महत्त्वपूर्ण मिसनका लागि शारीरिक रूपमा सबैभन्दा फिट युवाको समूह बनाएको थियो। चीनका केही हिमालमा आरोहणको तालिमपछि सिया आफ्नो समूहसँग विश्वको सर्वोच्च शिखर चढ्न अगाडि बढे।

आफ्नो समूहसँगै सिया ८ हजार ६ सय मिटरको उचाइमा पुगेका थिए। यो उचाइ शिखरबाट मात्र २५० मिटर कम थियो। आरोहणका क्रममा अचानक आएको मौसम परिवर्तनबाट उनीहरूको यात्रा रोकियो। दुई दिन र तीन रात चिनियाँ पर्वतारोही न माथि चढ्न सके न तल ओर्लन। माइनस २५ डिग्री सेल्सियस तापक्रम सहँदै उनीहरू बीच बाटोमै अड्किए।

सोही क्रममा सियाको टोलीका एकजना सदस्य चिसोका कारण नराम्रोसँग थला परे। त्यो बेला सियाले सगरमाथा आरोहणभन्दा साथीलाई बचाउन उचित ठाने। उनले आफूसँग भएको स्लिपिङब्याग साथीलाई दिए। माइनस २५ डिग्री सेल्सियसको चिसोमा लामो समय रहँदा सियाका खुट्टा निला भए। रगत जमेका कारण खुट्टा चल्न सकेनन्। दुर्भाग्यवश पछि उनका दुवै खुट्टा काट्नुपर्‍यो।

त्यो बेलाको क्षण सम्झँदै सियाले भने, ‘‘म विश्वासै गर्न नसक्ने गरी दुःखी भएको थिएँ। त्यतिबेला मेरो पहिलो दुःख अब फुटबल खेल्न सक्दिन भन्ने थियो। जब म पेसामै फर्कन सक्दिन थिएँ भने मेरो भविष्य के हुन्छ भन्ने म आफैँलाई केही थाहा थिएन।’’

शिखर चुम्ने धाेकाे नमरेपछि

फुटबल खेलाडीका लागि दुई वटै खुट्टा गुमाउनु कति पीडादायी हुन्छ भन्ने कुराको अनुमान मात्र गर्न सकिन्छ। त्यसमाथि हिमाल आरोहण जस्तो कठिन कार्य रोजेका व्यक्तिका लागि उक्त प्रतिकूलता आफैँमा एउटा चलचित्रको कथाभन्दा दर्दनाक थियो।

उनले तत्कालीन आफ्नो पीडा बोल्दै भने ‘मलाई लाग्यो कि अब सम्पूर्ण जीवन ह्विलचेयरमा बिताउनुपर्नेछ। फेरि कहिल्यै फुटबल खेल्न सक्दिनँ। म २६ वर्षको मात्र थिएँ तर, आफ्नो सम्पूर्ण जीवन ह्विलचेयरमा बिताउने सोचेको थिएँ।’’

दुवै खट्टा गुमाएर पनि उनले हिम्मत हारेनन्। उनी ह्विलचेयरमै कसरत गर्न थाले। विभिन्न खेलकुदको अभ्यास गर्न थाले। मान्छेको ऊर्जा नै उसको आत्मविश्वास हो। उनी हरेक बिहान ५ बजे उठ्न थाले अनि फिटनेस अभ्यास गर्न थाले। सिट–अप, पुश–अप र काँधमा तौल लिएर व्यायाम गर्ने उनको नियमित कसरत थियो। उनी बिस्तारै खेलमा फर्किए। शट–फुट, डिस्कस थ्रोइङ, बास्केटबल र टेबल टेनिसको प्रयास गरे। यो समयसम्म उनी ह्विलचेयरमै थिए।

दूतावासको सम्मानपछि फोटो खिचाउँदै

एक जर्मन विज्ञसँगको भेटले उनलाई जीवनलाई सामना गर्ने नयाँ साहस दियो। ती जर्मन विज्ञले सियालाई हिँड्न सक्ने सम्भावना रहेको बताए। उनले शुरुमा त पत्याएका थिएनन्। भौतिक परीक्षणपछि जब स्टिलका कृत्रिम अङ्गको गुणस्तरले उनको शरीरलाई अनुमति दियो तब उनी फेरि उभिन सक्न भए। उभिन मात्र होइन ठमठमी हिँड्न पनि सके।

अब उनले ह्विलचेयरको सहयोग लिइरहनुपरेन। उनी ह्विलचेयर बिना नै खेलकुदमा भाग लिन थाले। उनको जीवन खुट्टा काटिनु अगाडिको जस्तै सामान्य अवस्थामा फर्कँदै थियो। उनी हरेक दिन साइकलमा ३२ किलोमिटर यात्रा गर्थे। सप्ताहन्तमा पहाडहरूमा पैदल यात्रा गर्न जान्थे। सियामा सगरमाथा आरोहण गर्ने भूत फेरि सवार भयो। उनी विश्वको सर्वोच्च शिखरमा एकपटक पाइला राख्न चाहन्थे। भलै उनका पाइला कृत्रिम हुन्। उनी सर्वोच्च शिखर चुम्न चाहन्थे। उनी यसकै तयारीमा लागे। यो समय सन् १९९० को दशकको थियो।

अचानक उनको स्वास्थ्यमा गडबडी भयो। सुरुमा उनले त्यति ख्याल गरेका थिएनन्। जब समस्या अलिक बढ्यो तब उनी चिकित्सककहाँ पुगे। चिकित्सककहाँ पनि उनले पहिले आफ्नो स्वास्थ्यभन्दा पनि सगरमाथा आरोहण गर्ने इच्छा प्रकट गरे। परीक्षणपछि चिकित्सकले पहिले नरम भाषामा भने ‘‘तिमी सगरमाथा आरोहण गर्ने सपनालाई त्यागिदेऊ।’’

नेपालीहरूसँग कुरा गर्दै सिया पोयु

सियाले आफ्नो ढिपी किन छोड्थे। उनले भने ‘‘सगरमाथा आरोहण गर्नु मेरो जीवनको सपना हो। मैले अन्तिम साससम्म प्रयास गर्ने वाचा गरेको छु।’’ नरम बोल्दै गरेका चिकित्सकको मुखबाट कडा जवाफ निस्कियो। चिकित्सकले भने ‘‘तिमीलाई लोम्फमा क्यान्सर भएको छ। तिमी सगरमाथा चढ्ने त होइन केही समयपछि उभिन पनि सक्दैनौ।’’

चिकित्सकको भनाइपछि उनले तत्कालै प्रतिवाद गरे ‘‘मैले कहिल्यै हार मान्ने गरेको छैन।’’ नभन्दै सन् १९९६ मा उनले क्यान्सरलाई जिते। उनले क्यान्सर जित्न र सगरमाथा आरोहण गर्नका लागि आफ्नो घर र कार बेच्नुपर्‍यो। उनी आफ्नो सपना पूरा गर्नका लागि दिलोज्यान दिएर लागेका थिए।

उनले अब दक्षिणी मोहोडाबाट सगरमाथा चढ्ने सोच बनाए। यस्तो सोच बनाउनुको पछाडि हिमाल आरोहणमा नेपाली शेर्पाको अनुभव र उनीहरूको सहयोगी बानी उनले राम्ररी थाहा पाएका थिए। त्यस कारण उनी दोस्रोपटक सगरमाथा आरोहण गर्नका लागि सन् २०१४ मा नेपाल पुगे। अनि शेर्पाका साथमा लागे सगरमाथा आरोहणमा।

 

क्यान्सर जित्नुभन्दा कठिन आरोहण

पहिलो प्रयासमा दुवै खुट्टा गुमाएका सियाका लागि क्यान्सर जित्नुभन्दा कठिन थियो सगरमाथा आरोहण। उनी आरोहणको क्रममा रहेको बेला खुम्बु आइसफलमा हिमपहिरो गयो र १६ जनाले ज्यान गुमाए। उनी आरोहण छोडेर फर्कन बाध्य भए। तर, सगरमाथा चढ्ने हुटहुटी मरेन। अर्को वर्ष उनी सगरमाथा आरोहणमा निस्किए। यसपटक पनि उनको समय अनुकूल रहेन। नेपालमा गएको भूकम्पले उनको सपना भत्काइदियो। उनी थकथकाउँदै फर्किए।

सन् २०१६ मा उनले चौथो प्रयास गरे। यसपटक उनी जसरी भए पनि शिखर चुम्ने ध्याउन्नमा थिए। उनको टिम सगरमाथा शिखरको १ सय मिटर नजिक पुगेको थियो। ‘अभागीको खप्पर जता गयो त्यतै ठक्कर’ भने जस्तै भयो यो पटक पनि। अकस्मात् हिउँको आँधीबेहरी आयो। उनलाई सहयोग गर्ने शेर्पाहरूले आरोहण रोकौँ भन्ने सुझाव दिए। उनका लागि जीवनभन्दा प्यारो थियो आरोहण। उनी कुनै हालतमा रोकिने पक्षमा थिएनन्।

उक्त क्षणको स्मरण गर्दै सियाले भने, ‘‘यदि म एक्लै भएको भए कदापि रोकिन्न थिएँ। त्यो मेरो ४० वर्षदेखिको सपना साकार गराउने क्षण थियो। तर, मैले पछाडि फर्केर हेर्दा, पाँच शेर्पाको अनुहारमा देखेँ। तिनीहरूका परिवार सम्झिएँ। म अगाडि बढ्दा उनीहरू पनि बढ्नुपर्थ्यो। मैले त ज्यानको बाजी थापिसकेको थिएँ। मलाई कुनै प्रवाह थिएन। तर, मसँगै रहेका ती पाँचजना शेर्पाको पनि ज्यान जान सक्थ्यो। उनीहरूको परिवारको बिल्लिबाठ हुन्थ्यो। त्यसैले, मैले पछाडि फर्कने निर्णय गरेँ।’’

उनले सगरमाथासँग चारपटक हारिसकेका थिए। उनको इच्छा एकपटक सगरमाथाको शिखर चुम्ने थियो। सके जिउँदै फर्कन्छु नभए त्यहीँ प्राण जान्छ भन्ने सोचेका उनी पाँचौँपटक सगरमाथा आरोहणको योजना बनाउँदै थिए। सन् २०१७ को अन्त्यमा आरोहणका क्रममा बढ्दो दुर्घटनालाई रोक्न नेपाल पर्यटन बोर्डले दुईवटै खुट्टा काटिएकाहरूलाई आरोहणमा प्रतिबन्ध लगाउने नीति ल्यायो।

नेपाली दूतावासका सैनिक सहचरी मोहन क्षेत्री र स्तम्भकारको बीचमा सिया

नेपालले ल्याएको उक्त नीति सियाको सपना उडाउने भयंकर आँधीजस्तो भयो। त्यस्तै, आँधीसँग सगरमाथाको आरोहणका क्रममा उनले बारम्बार झम्काभेट गरिसकेका थिए। संयोगवश नेपालको सर्वोच्च अदालतले उक्त प्रतिबन्धलाई उल्टाइदियो। त्यो बेला सिया यति खुसी भए कि उनी साँच्चै सगरमाथा आरोहण गरेजस्तै रमाए। तर, आरोहणको काम त बाँकी नै थियो।

सन् २०१८ मा सिया पाँचौँपटक आत्मविश्वास बोकेर सगरमाथा आरोहणमा निस्किए। अविश्वसनीय परिश्रमपछि उनी अन्ततः ६९ वर्षको उमेरमा सगरमाथाको चुचुरोमा पुगे। त्यति मात्र होइन उनले नै दुवै खुट्टा काटिएर पनि दक्षिणी मोहोडाबाट विश्वको सर्वोच्च शिखरमा पुग्ने पहिलो व्यक्तिको कीर्तिमान पनि बनाए । गिनिजबुकमा नाम लेखाए।

त्यो क्षण सम्झँदै उनी भन्छन्, ‘‘आखिरमा, सगरमाथाले मलाई स्वीकार गरेरै छोड्यो। ४३ वर्षपछि म शिखरमा पुग्न सफल भएँ। यो नै मेरो जीवनको सबैभन्दा ठूलो सपना थियो जुन पूरा गरेँ।’’

दुवै खुट्टा गुमाएर पनि सगरमाथामै लम्किरहँदा धेरैले उनलाई ‘पागल’ भनेका थिए। तर उनले त्यसको वास्ता गरेनन् । आफ्नो उदेश्यमा निरन्तर लागिरहे र सफल पनि भए । सगरमाथापछि उनले माउन्ट एल्ब्रस पनि आरोहण गरिसकेका छन्। अब उनले विश्वका सातै महादेशका उच्च शिखर आरोहण गर्ने योजना बनाएका छन्।

कुराकानीको अन्तिममा उनले भनेको एक घतलाग्दो कुरा उद्धरण गर्न मन लाग्यो। उनले यही कुरा पहिलेका अन्य अन्तर्वार्तामा पनि भनेका छन्। उनले भने ‘‘सेवानिवृत्त भएपछि कोही बल्छी खेल्न खोलामा जान्छन्, कोही तास खेल्छन्, कोही केही पनि गर्दैनन्। मचाहिँ हिमाल आरोहण गर्छु।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved