काठमाडौं। १७ भदौबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । गायक सुगम पोखरेलको लोकप्रिय गीत ‘सम्हालिन्छ कहिले मन’लाई रि-रेकर्ड गरेर तयार पारिएको गीत सोमबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
सुगमकै स्वर र सुरेश भट्टराईको शब्द रहेको गीतको ओरिजिनल संगीतकार जेम्स प्रधान हुन् । गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा र नव-अभिनेता सोनम तोप्देनको अभिनय छ । संवादसहितको गीतमा उनीहरूको त्रिकोणात्मक प्रेम कथालाई बुनिएको छ । आकाश र सोनममध्ये पूजा कसकी हुन्छिन् भन्ने कौतुहलता गीतले जगाउनेछ ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्ममा पूजा, सोनम र आकाशसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारको पनि अभिनय छ । गायक समेत रहेका सोनमले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।
सम्हालिन्छ कहिले मन गीतमा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बू र जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ।
Facebook Comment
Comment