कांग्रेसबाट सम्भावित प्रधानमन्त्री : देउवा नै दोहोरिएलान् वा शेखर, गगन र आरजुमध्ये कोही बन्ला ?

सहज छैन संस्थापन इतर समूहलाई

कांग्रेसको नेतृत्व उनी सहजै कोइराला खेमामा फर्किन दिन चाहँदैनन्। तर, उनको खेमामा उनीपछि प्रधानमन्त्रीका लागि योग्य व्यक्तित्व तयार भइसकेको छैन। स्वास्थ्य र उमेरलाई देउवा निकटले चुनौती मानेका छन्। अर्कोतिर एकपटक आफ्नै पत्नी आरजू राणालाई अघि बढाएर देशको पहिलो महिला प्रधानमन्त्रीको रेकर्ड बनाउने इच्छासमेत देउवामा प्रबल रहेको उनका निकटवर्ती  बताउँछन्।

कांग्रेसबाट सम्भावित प्रधानमन्त्री : देउवा नै दोहोरिएलान् वा शेखर, गगन र आरजुमध्ये कोही बन्ला ?

काठमाडौं। मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुने तय भएसँगै ‘निर्वाचनपछि देशको प्रधानमन्त्री को होला ?’ भन्ने बहस पनि सुरु भएको छ।

संसदीय लोकतन्त्रमा निर्वाचनको सम्भावित परिणाम अनुमान गर्न नसकिने हुँदैन। विद्यमान राजनीतिक प्रवृत्ति, दलीय उपस्थिति र प्रभाव, चुनावी समीकरण र गठबन्धनको अवस्था, विगतका निर्वाचनको मतदान प्रवृत्तिलाई हेर्दा मंसिरको चुनावपछि तीनवटा दलले  मात्रै प्रधानमन्त्री दिन सक्ने सम्भावना देखिन्छ। ती हुन्, नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र।

माओवादी केन्द्रबाट प्रधानमन्त्री त्यतिबेला मात्रै सम्भव देखिन्छ, जतिखेर कांग्रेससँग माओवादीको ‘आलोपालो प्रधानमन्त्री खाने सम्झौता’ हुनेछ। चुनावपछि कांग्रेससँग समीकरण बिग्रिएमा एमालेको समर्थनमा पनि एउटा सम्भावना हुनेछ तर माओवादीले आफ्नै क्षमता र बलबुताबाट प्रधानमन्त्री हत्याउने सम्भावना भने देखिँदैन।

प्रधानमन्त्री पत्नी तथा कांग्रेस नेतृ आरजू देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दक्षिण छिमेकी भारतको मध्यस्थतामा आलोपालो प्रधानमन्त्रीको सम्झौता बनाउने प्रयास भएको चर्चा पनि छ। तर, त्यस्तो सम्झौता हुन सकेको वा नसकेको, सम्झौता भएकै भए पनि कार्यान्वयन हुने आधार कतिको छ भन्ने अहिलेसम्म प्रष्ट छैन।

चुनावपछि कांग्रेससँग समीकरण बिग्रिएमा एमालेको समर्थनमा पनि एउटा सम्भावना हुनेछ तर माओवादीले आफ्नै क्षमता र बलबुताबाट प्रधानमन्त्री हत्याउने सम्भावना भने देखिँदैन।

गत स्थानीय निर्वाचनको नतिजा विश्लेषण गर्दा प्रमुख प्रतिपक्षी दल एमालेले एक्लै बहुमत हासिल गरी मंसिरपछि सरकार गठन गर्न सक्ने सम्भावना कमजोर देखिन्छ। एमाले अझै सबैभन्दा ठूलो वा दोस्रो ठूलो दल हुन सक्ने सम्भावना कायमै छ तर, एकल बहुमत ल्याउने सम्भावना भने तत्कालका लागि देखिँदैन। वर्तमान सत्तारुढ पाँचदलीय गठबन्धन कायम रहे चुनावपछि पनि अहिलेकै जस्तो सरकार बन्ने सम्भावना बढी छ।
सम्भावना क्रियाशील नहुन देशको राजनीतिक प्रवृत्तिमा यसबीच ठूलो परिवर्तन आउनुपर्ने हुन्छ। अहिलेसम्म त्यसको झल्को देखिएको छैन। नयाँ र उदयमान मानिएको विवेकशील–साझा आफैँ थिलोथिलो भएको छ। जसपा धार तीन टुक्रामा विभाजित छ। यसको सबैभन्दा ठूलो घटक उपेन्द्र यादव नेतृत्वको जसपा कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनभित्रै छ। यस्तो अवस्थामा नयाँ सम्भावनाका आयाम भनेका स्वतन्त्र उम्मेद्वार र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै हो। तर, गत स्थानीय चुनावबाट स-सानो झिल्कोको रूपमा देखिएको यो प्रवृत्ति मंसिरको चुनावसम्म पुग्दा व्यापकरूपमा फैलिएला भन्ने अवस्था अझै बनिसकेको छैन।

यदि, यस्तो विश्लेषणले काम गरेमा मंसिरको चुनावपछिको नयाँ सरकार पनि कांग्रेसको नेतृत्वमै बन्ने सम्भावना बढी छ। त्यसो भए– मंसिरको निर्वाचनबाट कांग्रेसबाट को अगाडि आउला भन्ने जिज्ञासा हुने नै भयो। कतिपय देशमा निर्वाचनअघि नै पार्टीहरूले संस्थागत निर्णय गरेर आ-आफ्ना भावी प्रधानमन्त्रीका उम्मेद्वार घोषणा गर्ने प्रचलन हुन्छ। नेपालमै पनि २०५६ सालको आमनिर्वाचनमा यस्तो अभ्यास भएको थियो।
त्यतिखेर नेपाली कांग्रेसले कृष्णप्रसाद भट्टराई र एमालेले मनमोहन अधिकारीलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरेर चुनाव लडेका थिए। निर्वाचन अभियानकै क्रममा एमालेबाट भावी प्रधानमन्त्री घोषित उम्मेद्वार मनमोहन अधिकारीको निधन भएको थियो।

छिमेकी देश भारतमा सन् २०१४ र २०१९ को चुनावमा भाजपाले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै अघि सारेर चुनाव लडेको थियो। भावी प्रधानमन्त्री घोषणा गरी चुनावमा जाने प्रचलन २०५६ को चुनावपछि नेपालमा भने कायम हुन सकेन। सायद यसपटक पनि ठूला दलले भावी प्रधानमन्त्रीको उम्मेद्वार घोषणा नगरिकनै चुनाव लड्नेछन्।

त्यस्तो अवस्थामा स्वाभाविक छ कांग्रेसबाट फेरि प्रधानमन्त्री हुने सम्भावना सबैभन्दा बढी शेरबहादुर देउवाकै हुनेछ। उनी निर्वाचित पार्टी सभापति छँदैछन्। आफ्ना समर्थक र नजिकका मान्छेलाई टिकट दिने र संसदीय दलको बहुमत हासिल गर्न देउवाले समानुपातिक सूची बनाउने बेलादेखि नै गणितको अनुकूलन गर्ने क्षमता राख्दछन्।

उनी निर्वाचित पार्टी सभापति छँदैछन्। आफ्ना समर्थक र नजिकका मान्छेलाई टिकट दिने र संसदीय दलको बहुमत हासिल गर्न देउवाले समानुपातिक सूची बनाउने बेलादेखि नै गणितको अनुकूलन गर्ने क्षमता राख्दछन्।

देउवा सातपटक प्रधानमन्त्री हुने उनका ज्योतिषीको भविष्यवाणी राजनीतिको लोकप्रिय मिथक नै बनेको छ। मंसिरको चुनावपछि फेरि प्रधानमन्त्री भए उनी छैटौंपटक प्रधानमन्त्री हुनेछन्। उनका ज्योतिषको भविष्यवाणी सत्यको नजिक पुग्नेछ। सायद, त्यसपछि ज्योतिषी पेसाको लोकप्रियता समाजमा अझै बढ्नेछ। तर, स्वास्थ्य र उमेरलाई देउवा निकटले चुनौती मानेका छन्। अर्कोतिर एकपटक आफ्नै पत्नी आरजू राणालाई अघि बढाएर देशको पहिलो महिला प्रधानमन्त्रीको रेकर्ड बनाउने इच्छासमेत देउवामा प्रबल रहेको उनका निकटवर्ती  बताउँछन्।

देउवानिकट कांग्रेस नेता मीन विश्वकर्माले भरखरै एक सार्वजनिक कार्यक्रममा आरजू राणा कांग्रेसको उदयमान नेतृ भएको र भविष्यमा प्रधानमन्त्री हुन सक्ने सम्भावना भएको बताए। कांग्रेसको देउवा खेमामा शेरबहादुरपछि आरजूलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सार्नु केवल देउवाको रहर मात्रै नभएर गुटगत समीकरणको बाध्यतासमेत देखिन्छ।

लामो संघर्ष र मेहनतपछि देउवाले कांग्रेसको नेतृत्व कोइराला खेमाबाट खोसेका थिए। त्यसका लागि पार्टी सभापति उनी आफ्नै राजनीतिक संरक्षक गिरिजाप्रसाद कोइराला र उनका उत्तराधिकारी सुशील कोइरालासँग प्रतिस्पर्धा गरी हारेका थिए। १३औं महाधिवेशनमा कोइराला खेमाकै रामचन्द्र पौडेल र १४औं महाधिवेशनमा कोइराला परिवारकै शेखर कोइरालालाई पराजित गरी उनी सभापति चुनिएका हुन्।

कांग्रेसको नेतृत्व उनी सहजै कोइराला खेमामा फर्किन दिन चाहँदैनन्। तर, उनको खेमामा उनीपछि प्रधानमन्त्रीका लागि योग्य व्यक्तित्व तयार भइसकेको छैन। उपसभापति पूर्णबहादुर खड्का, नेताहरू ज्ञानेन्द्र बहादुर कार्की र बालकृष्ण खाँण,  प्रकाशशरण महत देउवा गुटका मुख्य हस्ती हुन्। यी कसैको पनि व्यक्तित्व अहिलेसम्म प्रधानमन्त्री हुनेगरी प्रस्फुटित छैन।
यो बाध्यताले पनि देउवा आरजूलाई अगाडि सार्ने मनस्थितिमा पुगेको हुन सक्छन्। संस्थापन इतरको खेमामा शेखर कोइराला र गगन थापा अघि बढिरहेका छन्। बिमलेन्द्र निधी, प्रकाशमान सिंह, शशांक कोइरालाजस्ता नेता पुत्र तथा मझधार नेताप्रति दुवै समूहको विश्वास बलियो छैन।

तर, यी तीनजनै नेता मौका परे एकपटक प्रधानमन्त्री हुने इच्छा राख्दछन्। यीमध्ये कोही कांग्रेसको प्रधानमन्त्री हुने अवस्था आए त्यो गणित हैन भाग्यको खेल हुनेछ। शेखर र गगनलाई चुनावमै हराउने गरी अन्तर्घात त हुने हैन भन्ने आशंका र गाइगुइँ पनि कांग्रेसभित्र सुनिन्छ। शेखर मोरङबाट गत चुनावमा एमालेका लालबाबु पण्डितसँग पराजित भएका थिए। गगन थापा भने काठमाडौं ४ बाट चुनाव लड्दै आएका छन्। त्यस निर्वाचन क्षेत्रमा उनको उम्मेदवारी तेस्रोपटकका लागि हुनेछ।

शेखर र गगनलाई चुनावमै हराउने गरी अन्तर्घात त हुने हैन भन्ने आशंका र गाइगुइँ पनि कांग्रेसभित्र सुनिन्छ। शेखर मोरङबाट गत चुनावमा एमालेका लालबाबु पण्डितसँग पराजित भएका थिए। गगन थापा भने काठमाडौं ४ बाट चुनाव लड्दै आएका छन्।

शेखर र गगन आ-आफ्नो निर्वाचन क्षेत्रबाट चुनिएर आए पनि कांग्रेस संसदीय दलको गणित उनीहरूको अनुकुल हुने अपेक्षा कमै गर्न सकिन्छ। निर्वाचनको टिकट दिँदा र समानुपातिकको सूची बनाउँदा देखि नै उनीहरूले सभापति देउवामाथि दबाब बनाउन सक्नु र आफ्ना पक्षका उम्मेद्वार जिताउन सक्नुपर्ने हुन्छ। अन्यथा देउवा पक्षले संसदीय दलमा सहजै बहुमत पुर्‍याउनेछ। मंसिरको चुनावपछि प्रधानमन्त्री हुने बलियो सम्भावना फेरि पनि शेरबहादुर देउवाकै हो। तर, कांग्रेसले देउवालाई भावी प्रधानमन्त्री घोषणा गरेर जाने आँट भने गर्ने छैन। युवा मतदातामा देउवाको छवि खासै राम्रो छैन।

संसदीय प्रणालीका पद्धति, संरचना प्रचलन भने अझै देउवाकै कै अनुकूल छन्। यदि केही गरी प्रचण्डलाई प्रधानमन्त्री छाड्नुपर्ने अवस्था आएछ भने देउवाले आरजुलाई उपप्रधानमन्त्रीसहित ठूलो मन्त्रालयमा लगेर भावी प्रधानमन्त्रीका रूपमा तयार पार्ने चलाखी गर्न सक्छन्। देउवा निकट स्रोतले पनि एकै पटक आरजुलाई प्रधानमन्त्रीमा अघि सार्दा स्वीकार्य नहुने भएकाले पहिले उपप्रधानमन्त्री बनाएर वातावरण बनाउने सम्भावना बढी रहेको बताउँछ।

शेखर र गगनलाई प्रधानमन्त्रीका रूपमा अघि आउन भने कांग्रेसमा ठूलै उलटफेर हुनुपर्ने हुन्छ। त्यसको संकेत कमसेकम अहिलेसम्म देखिएको छैन। तर, कांग्रेसका धेरै शुभचिन्तक भने गगनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारे चुनावमा पार्टीले राम्रो परिणाम ल्याउने भन्दै अहिलेदेखिनै देउवामाथि दबाब बनाउन लागिपरेका छन्। यद्यपि, देउवा पार्टीमा आफूलाई गगनबाट तत्काल खतरा हुने देखिरहेका छैनन्। त्यसको कारण हो समग्र पार्टीको कमान्ड अहिले उनकै हातमा छ। र चुनावमा पनि त्यहीअनुसार टिकट वितरण गर्ने सुविधा प्राप्त छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved