ताइपेई । अमेरिकी वरिष्ठ डेमोक्रेट न्यान्सी पेलोसीको नेतृत्वको प्रतिनिधिमण्डलको ताइवान भ्रमणपछि यस क्षेत्रमा तनाव बढेको छ । ताइवानले आइतबार जहाजहरू तैनाथ गरेर चौथो दिन चीनको अभ्यासलाई जवाफ दिएको जनाएको छ ।
ताइवानी सेनाले आइतबार बिहान धेरै विमानहरू पठाएर ‘लाइभ फायर’ अभ्यासलाई ‘उचित’ प्रतिक्रिया दिएको जनाएको छ । यसलाई चीनको आक्रमणको नक्कलका रूपमा वर्णन गरिएको बेलायती समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
ताइपेईमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री सु त्सेङ–चाङले क्षेत्रीय स्थिरतामा बाधा पुर्याउने चीनको उक्त अभ्यास अहंकारी कदम रहेको आरोप लगाए । चिनियाँ पक्षलाई संयमता अपनाउन अपिल गरे ।
ताइवानको रक्षा मन्त्रालयका अनुसार चिनियाँ विमानहरूले सप्ताहन्तमा ताइवान ‘स्ट्रेट’मा ‘मिसन’हरू सञ्चालन गरेका थिए । केहीले मध्यरेखा पार गरेका थिए, त्यो एक अनौपचारिक ‘बफर जोन’ हो ।
बेइजिङले पछिल्लो अभ्यासका बारेमा टिप्पणी गरेको छैन । तर, ताइवान वरपरको हवाई र समुद्रमा चार दिन लामो सैन्य अभ्यासको शृंखला आइतबार समाप्त हुने अपेक्षा गरिएको छ ।
यता, ताइवानले चीनले आफ्नो टापुमा आक्रमणको अभ्यास गरेको जनाएपछि अमेरिकाले बेइजिङलाई ‘उत्तेजक’ र ‘गैरजिम्मेवार’ कार्य गरेको आरोप लगाएको छ ।
Facebook Comment
Comment