धनुषा । विभिन्न माग गर्दै आन्दोलन गरिरहेको सुकुम्बासी र चुरे तथा वन जंगल संरक्षण अभियान समूहले सडकमै सुतेर प्रदर्शन गरेको छ ।
सुकुम्बासीहरूले चुरे दोहन बन्द गर्नुपर्ने, अतिक्रमित वन क्षेत्रबारे प्रदेश सरकारले गरेको छानबिन प्रतिवेदन सार्वजनिक हुनुपर्ने, सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउनुपर्नेलगायत माग राखेर जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सडकमै सुतेर प्रदर्शन गरेका हुन् ।
सुकुम्बासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहेको र वास्तविक सुकुम्बासी जग्गा पाउने अधिकारबाट वञ्चित भएको भन्दै उनीहरूले यसअघि पनि आन्दोलन गर्दै आइरहेका थिए ।
यसअघि, जनकपुरधाम बन्द, झाडु जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री, जिल्ला प्रशासन, राजनीतिक दलका नेताहरूलाई ज्ञापनपत्र बुझाइसकेको अभियानका संयोजक सुनीलकुमार यादवले बताए । उनका अनुसार पछिल्लो समयमा सुकुम्बासीहरू रिले अनशनसमेत बस्दै आएका छन् ।
यादवले सिरहास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वन क्षेत्रबारे प्रदेश सरकारले ४ भदौ २०७८ मा समिति बनाएर छानबिन गर्ने बताए पनि कुनै ध्यान नदिएको बताए । उनले वास्तविक भूमीहीन, दलितलाई जग्गा नदिई अर्कै व्यक्तिलाई दिने गरेको आरोपसमेत लगाएका छन् ।
Facebook Comment
Comment