मोदी vs केजरीवाल

मोदीको गुजरात मोडेलको विकल्पमा केजरीवालको दिल्ली मोडेल

पञ्जाबपछि ‘आप’ को लक्ष्य गुजरात र हिमाञ्चल

मोदीको गुजरात मोडेलको विकल्पमा केजरीवालको दिल्ली मोडेल

सन् २०१४ को १६ औं लोकसभा निर्वाचनमा भारतीय राजनीतिमा ‘गुजरात मोडेल’ को खुबै चर्चा थियो । यथार्थमा गुजरात मोडेल नै त्यो एक महत्वपूर्ण अस्त्र थियो, जसले भाजपालाई पहिलोपटक बहुमतसहित सत्तामा ल्यायो । नरेन्द्र मोदी भाजपाको पहिलो बहुमतवाला प्रधानमन्त्री भए ।

गुजरात मोडेलको अर्थ नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री हुँदा सन् २००२–२०१२ बीचको १० बर्षको अवधिमा भएको राज्यको भौतिक पूर्वाधार निर्माण र उद्यमशीलता बृद्धिद्धारा हासिल आर्थिक विकास थियो ।

मोदीले गुजरात शासनकालमा राज्यमा फराकिला ठूला सडक, रेल्वे, एयरपोर्ट, बाँध र बन्दरगाहलगायतका ठूला भौतिक पूर्वाधार सुधार र निर्माणमा विशेष जोड दिएका थिए । साथै, कर्पोरेट प्रचलन र लगानी आकर्षण उनको मोडेलको अर्को महत्वपूर्ण पाटो थियो । उनले उद्यमशीलता अभिबृद्धि गर्न कर अनुदान दिने, प्रशासनिक सेवा प्रदायनलाई सहज बनाउँने र वित्तिय व्यवस्थापनका लागि बैंक ऋण र ब्याजमा समेत अनुदान दिने नीति अख्तियार गरेका थिए ।

समग्रमा मोदीको गुजरात मोडेलेको अर्थ समष्टिगत आर्थिक बृद्धिले अर्थतन्त्रलाई गतिशील बनाई, रोजगार बृद्धि हुन्छ र गरिबी न्युनिकरण हुँदै जान्छ भन्ने विश्वासमा आधारित थियो । तर, गुजरातमा भाजपाको शासन अहिले २७ औं बर्षमा छ र राज्यमा ४० प्रतिशत जनता अझै निरपेक्ष गरिबीको रेखामुनी भएको तथ्यांकले बताउँछन।

भारतमा गुजरात मोडेलको चर्चा र आकर्षण विस्तारै कम हुन थालेको छ । कतिपय अर्थशास्त्रीले गुजरात मोडेल गरिबलाई निचोर्ने र आसेपासे पुँजीवादलाई प्रोत्साहन गर्ने खालको भएको भन्दै आलोचना गर्न थालेका छन् । बदलामा भारतीय राजनीतिमा दिल्ली मोडेलको चर्चा र आकर्षण बढेको छ ।

के हो दिल्ली मोडेल ?

केन्द्रीय सत्तामा नरेन्द्र मोदी र दिल्लीको राज्यसत्तामा अरविन्द केजरीवालको उदय सँगसँगैजस्तो भएको थियो । अरविन्द केजरीवाल पहिलोपटक दिल्लीको सत्तामा सन् २०१३ को डिसेम्बरमा आएका थिए, उनको पहिलो कार्यकाल ४९ दिनको मात्रै रह्यो । सन् २०१४ को लोकसभा निर्वाचनमा उनी नरेन्द्र मोदीसँग चुनाव लड्न बनारस निर्वाचन क्षेत्रमा गए तर पराजित भए । बनारसमा मोदीसँग हारेर फर्केका केजरीवाल त्यसपछि दिल्लीमै केन्द्रित भए । उनले विकासको आफ्नो भिन्नै मोडेल बनाए –दिल्ली मोडेल ।

केजरीवालको दिल्ली मोडेल भने मोदीको गुजरात मोडेल भन्दा उल्टो छ । केजरीवालले ठूल्ठूला भौतिक पूर्वाधार विकास र कर्पोरेट सुविधामा हैन, सर्वसाधारणको शिक्षा, स्वास्थ्य र सुविधामा विशेषः ध्यान दिइरहेका छन् । केजरीवालले सरकारी स्कुलको गुणस्तरमा उल्लेखनीय सुधार ल्याएका छन । सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउँन विशेष जोड दिएका छन। खानेपानी र विजुली निशुल्क वितरण गरेका छन् । शहरिया गरिब र झुपडपट्टीवालाको आवास स्थिति सुधारमा जोड दिएका छन् । केजरीवालको दिल्ली मोडेलमा शासनप्रशासनको गुणस्तर सुधार, भ्रष्टाचार निवारण र आर्थिक मितव्ययीताले बिशेष महत्व पाएको छ ।

मोदीका लागि चुनौति बन्दै केजरीवाल र दिल्ली मोडेल

जतिखेर मोदीको गुजरात मोडेलको चर्चा थियो, त्यतिखेर त्यससँग तुलनायोग्य अर्को कुनै मोडेल थिएन । तर, यतिखेर गुजरात मोडेलमाथि दिल्ली मोडेल हावी हुँदै गएको छ । यसले मोदी र भाजपाको राजनीतिक चिन्ता बढाउँदै लगेको छ । दिल्ली मोडेलबारे विश्व महानगर सम्मेलनमा प्रस्तुति गर्न केजरीवालालाई सिंगापुर सरकारले आमन्त्रण गरेको थियो । तर मोदी सरकारले केजरीवाललाई त्यो सम्मेलनमा भाग लिने अनुमति दिएन ।

हिंजोआज प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना सभा, भाषण र प्रवचनमा केजरीवाल मोडेलको चर्को आलोचन गर्ने गरेका छन्। उनले केजरीवालको निशुल्क बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्यको सुविधालाई ‘भोटका लागि मिठाई वितरण’ भन्दै आलोचना गर्ने गरेका छन्।
भाजपा र मोदीको चर्को आलोचना र अवरोधका बाबजुद आम आदमी पार्टी ‘आप’ को लोकप्रियता भने झनझन विस्तार भइरहेको छ ।

दिल्लीपछि आपको विस्तार गोवा र हरियाणामा हुने अपेक्षा गरिएको थियो । तर, आपका लागि दोस्रो ठूलो परिणाम भने पञ्जाबबाट आयो ।
गत फेब्रुअरीमा भएको पञ्जाबको ११७ सदस्यीय विधानसभा निर्वाचनमा आम आदमी पार्टीले ९२ सीट जितेर भारी बहुमत हासिल गर्यो । दिल्लीपछि पञ्जाबमा आपको दोस्रो राज्य सरकार बन्यो । भगवन्त मान पञ्जाबका मुख्यमन्त्री भए । सन् २०१४ देखि नै उनी आम आदमी पार्टीमा थिए । सन् २०१४ र २०१९ लोकसभा चुनावमा आपबाटै उनले लोकसभा सदस्यको निर्वाचन जितेका थिए ।

भरखरै सम्पन्न मध्यप्रदेशको स्थानीय निर्वाचनमार्फत् आम आद्मी पार्टी प्रदेश राजनीतिमा पनि प्रवेश गरेको छ । यो यसकारण हैन कि उसले धेरै स्थान हासिल गर्यो । आप मध्यप्रदेशमा १ मात्र नगर निगमको नेतृत्व जित्न सफल भयो । तर, आपका उम्मेद्वारले अभूतपूर्व जनाकर्षण हासिल गरे । प्रदेशका अधिकांश नगरमा आपका उम्मेद्वार लोकप्रिय मतमा दोस्रो वा तेस्रो स्थानमा देखिए ।
यसले सन् २०२२ को फेब्रुअरीको पञ्जाबमा जस्तै मध्यप्रदेशमा पनि अब जुनकुनै बेला ‘आपको आँधी’ चल्न सक्ने संभावना बढेको छ ।

सन् १९९० यता ३ दशक बढी समयदेखि भाजपाको मुख्य प्रतिस्पर्धी दल भारतीय राष्ट्रिय कांग्रेस थियो । सन् २०१४ को आम चुनावपछि कांग्रेस उल्लेखनीय रुपमा कमजोर हुँदै गयो । यहाँसम्म की कांग्रेसले लोकसभामा बैधानिक प्रतिपक्षका लागि प्राप्त गर्नु पर्ने जति सीट समेत हासिल गर्न सकेन ।

कुनै समय महात्मा गान्धी, जवाहरलाल नेहरु र इन्दिरा गान्धीले नेतृत्व गरेको शक्तिशाली कांग्रेस अहिले गान्धी–नेहरु परिवार कै ३ सदस्य आमा सोनिया गान्धी, छोरा राहुल गान्धी र छोरी प्रिय‌ंका गान्धीको हातमा छ । तर, कांग्रेस झनपछि झन कमजोर हुँदै गइरहेको छ।
‘अस्ताउँदो कांग्रेस’ सँग भाजपा डराउन छोडिसकेको थियो । तत्काल कांग्रेसको पुनर्उदय असंभव देखिएको अवस्थामा भाजपालाई चुनौति दिने कुनै बलियो राष्ट्रिय दल देखिएको थिएन । भाजपाको प्रतिस्पर्धी दल  प्रदेशमा फरक-फरक प्रादेशिक दल थिए । तर, ‘उदाँउदो आप’ भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीका लागि समग्र भारतमै नयाँ चुनौतिका रुपमा देखा परेको छ ।

आप’ को आगामी लक्ष्य 

आपको लक्ष्य अब गुजरात र हिमाञ्चल हुने देखिन्छ । यस बर्षको अन्त्यसम्ममा यी दुई राज्यमा निर्वाचन हुनेछ । गुजरातमा २७ बर्षदेखि निरन्तर भाजपाको सरकार छ । यहाँको प्रमुख विपक्षी दल अद्यपि कांग्रेस नै हो । हिमाञ्चलमा पनि अहिले भाजपाकै सरकार छ तर भाजपा गुजरातमा जस्तो बलियो मानिँदैन । सन् १९८० को दशक यता हिमाञ्चलमा प्रत्येक चुनावमा भाजपा र कांग्रेस बीच सत्ता आलोपालो हुँदै आएको छ। हिमाञ्चलमा कांग्रेस र भाजपा हाराहारीका राजनीतिक शक्ति मानिँदै आएका थिए । यी दुई राज्यमा आम आदमी पार्टीको संगठन अहिले पनि भाजपा र कांग्रेसको जस्तो बलियो छैन । तर, पञ्जाबको जस्तै परिणाम गुजरात र हिमाञ्चलमा पनि आउन सक्ने आधार देखिन्छन।

गत फेब्रुअरीमा भगवन्त मानको पक्षमा लहर चल्नु अघि पञ्जाबमा आम आदमी पार्टीको संगठन र प्रभाव सामान्य मानिन्थ्यो । तर, पन्जाबमा आप २० सीट सहित दोस्रो ठूलो दल भने थियो । सन् २०१४ को लोकसभामा ४ र सन् २०१९ मा १ सीट आपले पञ्जाबबाट जितेको थियो ।
पञ्जाबमा कांग्रेस, शिरोमणी अकाली दल र भाजपाको संगठन आपको भन्दा धेरै बलियो मानिन्थ्यो । भारतीय राजनीतिका जानकार भन्छन–‘पञ्जाबको विजयपछि आप कुन प्रदेशमा फैलिन्छ वा फैलिदैन भनेर विश्लेषण गर्न असंभवजस्तो भएको छ । दिल्लीमा मात्रै सीमित हुन्जेल यो अरु प्रदेशमा फैलिन्छ कि फैलिदैन भन्ने आशंका गरिन्थ्यो । तर, जब दिल्लीबाट फैलिएर पञ्जाबमा सरकार बनाउने स्थितिमा पुग्यो, अब आपको आँधी जुनसुकै प्रदेशमा चल्न सक्ने छ ।’

बर्षको अन्त्यतिर हुने गुजरात र हिमाञ्चलको चुनावमा आप सरकार बनाउने स्थितिमा पुग्यो भने के होला ? त्यसो भए संभवत भारतीय राजनीतिको समीकरणमा नै नयाँ मोड आउने छ । भारतीय राष्ट्रिय कांग्रेस, भाजपा र आपपछिको स्थानमा धकेलिने छ । भारतीय राजनीतिमा भाजपा र आप मुख्य प्रतिस्पर्धी दुई राष्ट्रिय दल बन्नेछन् ।

यसो भए के अरिवन्द केजरीवाल भारतको प्रधानमन्त्री होलान ? राजनीति संभावनाको खेल हो, यसै भन्न सकिन्न । २०२४ को चुनावमै आपले बहुमत ल्याउने वा एक्लै सबैभन्दा ठूलो दल हुने संभावना भने देखिएको छैन । तर, आगामी निर्वाचनसम्म पुग्दा अरविन्द केजरीवाल गैरभाजपा दलहरुको प्रधानमन्त्रीको उम्मेद्वार  हुने संभावनालाई भने इन्कार गर्न सकिन्न ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved