अर्थमन्त्री प्रकरण

सीसीटीभीको ‘फरेन्सिक रिपोर्ट’ संसदीय समिति बैठकमा आज हेरिँदै

नेपालभ्युज

सीसीटीभीको ‘फरेन्सिक रिपोर्ट’ संसदीय समिति बैठकमा आज हेरिँदै
फाइल फोटो

काठमाडौं। आफू निकट व्यापारीलाई फाइदा पुग्ने गरी कर दर निर्धारण गरेको आरोप लागेका तत्कालीन अर्थमन्त्री जर्नादन शर्मामाथि छानबिन गर्न बनेको विशेष समितिले आज सिलबन्दी रिपोर्ट हेर्दैछ। नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट प्राप्त रिपोर्ट आज हेर्न लागिएको हो।

बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गतेको सीसीटीभी फुटेजबारेको रिपोर्ट प्रहरीले संसदीय विशेष छानबिन समितिलाई दिएको छ। प्रयोगशालाले सोमबार समितिलाई रिपोर्ट दिइसकेको छ।

समितिका एक सदस्यका अनुसार सिलबन्द रहेको रिपोर्ट मंगलबार (आज) बिहान समितिको बैठकमा खोलिनेछ। समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो।

बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन। सीसीटीभी फुटेन डिलिट भएको भनिएपछि घटना रहस्यमय बनेको छ। तर, प्रमाण भेटिएको छैन।

छानबिन समितिका एक सदस्य भन्छन्, ’’नेपाल प्रहरीको रिपोर्ट अनुसन्धानको झिनो आशाका रूपमा लिएका छौँ। अहिलेसम्म कुनै प्रमाण फेला पारेका छैनौँ। झिनो आशा बाँकी छ। प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी छ।’’

समितिका सदस्यबीच तत्कालीन शर्माको कल डिटेल हेर्ने÷नहेर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ। समितिमा रहेका नेकपा एमालेका सांसदहरूले मोबाइलको कल डिटेललाई समेत आधार मान्नुपर्ने अडान राखेका छन्।

सत्तारूढ दलका सदस्यहरू व्यक्तिको गोपनीयताको हक हनन् हुने भन्दै हेर्न नहुने तर्क गरिरहेका छन्। लोकेसन ट्र्याकिङको प्रस्ताव एमाले सांसदहरूले राखेका छन्। तर, सत्ता पक्षका सांसद्ले मानेका छैनन्।

असार २२ मा गठन भएको समितिले २८ गते काम शुरु गरेको थियो। समितिले १२ गतेभित्र छानबिन गरेर संसद्लाई प्रतिवेदन दिनुपर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved