काठमाडौं। स्वास्थ्य बिमा कार्यक्रममा देखिएको समस्या तत्काल हल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले क्याबिनेटमा प्रस्ताव लगेर भए पनि सो बिमा कार्यक्रम कार्यान्वयनमा देखिएको समस्या तत्काल हल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो।
बजेट वक्तव्यमा आएको सोसम्बन्धी व्यवस्थालाई हेरी मन्त्रालय आफैँले वा नसकेमा मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय गराएर भए पनि सो बिमा कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देश गरिएको समितिकी सभापति जयपुरी घर्तीले बताइन्।
समितिले सेवाग्राहीलाई सहज ढङ्गले सो बिमाको भुक्तानी पाउने व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको छ। बैठकमा समितिका सदस्यहरूले स्वास्थ्य बिमा कार्यक्रम तत्काल सुचारु गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए।
आफूले नसके मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय गराएर भए पनि सो बिमा कार्यक्रम तत्काल कार्यान्वयन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढिलाइ गर्न नहुने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले बताए। उनले स्वास्थ्य बिमा कार्यक्रम रोकेर सरकारले गम्भीर गल्ती गरेको आरोपसमेत लगाए।
Facebook Comment
Comment