चीनमा पाइन्छ साँचो माया जाँच्ने ढुङ्गा

अचीले आशिमालाई अपहरण गरेर लग्यो। अहेइ पनि धनुकाँड लिएर आफ्नी प्रेमिकालाई छुटाउन गयो। अपहरणकारी अचीले अहेइलाई अनौठो प्रस्ताव राख्यो। उसले भन्यो, ”हामीबीचमा गीत गाउने प्रतियोगिता गरौँ। जसले जित्छ आशिमा उसकै हुन्छे।”

चीनमा पाइन्छ साँचो माया जाँच्ने ढुङ्गा

ढुङ्गैढुङ्गाको च्यापबाट छिर्दै जाँदा एउटा फराकिलो चोकमा पुगियो। चोकको पूर्वपट्टि अजङ्गको ढुङ्गा ठडिएको थियो। त्यो ढुङ्गापट्टि फर्किएर म फोटो खिच्दै थिएँ। हामीलाई गाइड गरिरहेको चिनियाँ युवतीले भनिन्, ‘‘त्यो ढुङ्गातिर फर्किएर आशिमा भन्दै कराऊ त।”

पहिले त उनले भनेको मैले बुझिँन। उनले फेरि दोहोर्‍याएर भनिन् ‘‘ऊ… त्यो ढुङ्गातिर हेरेर आशिमा भन्दै चिच्याऊ त एकपटक।” उनले भनेजस्तै मैले ‘आशिमा’ भनेर कराएँ।

मुसुक्क मुस्कुराएर उनले सोधिन् ‘‘तिमीले के सुन्यौ?”

‘‘म आफैँ चिच्याउँदै छु। के सुन्नु नि? तिमीले सुनिनौँ मैले आशिमा भन्दै चिच्याएको?” मैले उत्तरको साटो प्रश्न नै तेर्स्याएँ।

‘‘हैन हैन त्यो ढुङ्गाबाट आएको आवाज सुनेनौ? फेरि एकपटक कराऊ अनि ध्यान दिएर सुन” किलकिल हाँस्दै उनले आदेश दिइन्।

आदेश नमानौँ सुन्दरी चिनियाँ युवती त्यसमाथि आफूलाई पथप्रदर्शन गर्ने गाइड। उनले भनेको मानौँ कतै आफैँ जोकर भइँदैछ कि भन्ने मनमा आशङ्का। मैले दोहोर्‍याएर ‘आशिमा’ भन्दै कराएँ। अनि ध्यान दिएर सुनेँ। सायद पहरामा ठोकिएर आफ्नै प्रतिध्वनी आए जस्तो लाग्यो। आफूले जे सुने जस्तो लाग्यो त्यस्तै जवाफ दिएँ।

हाम्रा पछाडि थुप्रै देशका पर्यटकहरू थिए। पछाडिको समूहमा अर्की गाइडले एकजना महिलालाई मलाई जस्तै कराउन लगाइन्। तर ती गाइडले पर्यटक महिलालाई मैले जस्तो ‘आशिमा’ होइन ‘‘अहेइ” भन्न लगाइन्। कराउने महिला चाहिँ इण्डोनेसियाकी मजस्तै पर्यटक रहिछन्।

यताउता फोटो र भिडिओ खिच्दै टहलिँदै थिएँ। त्यहाँ पुग्ने प्रायः पर्यटकहरू उसरी नै चिच्याउँदा रहेछन्, जसरी म केहीबेर अगाडि कराएको थिएँ। सबै गाइडले आफ्ना समूहमा गएका केटा मान्छेलाई ‘आशिमा’ भन्दै पुकार्न लगाउँदा रहेछन् भने केटी मान्छेलाई चाहिँ ‘अहेइ”। त्यहाँको सुन्दर दृश्यले दिएको रोचकतासँगै त्यसो भनेर मान्छेलाई पहरातिर कराउन लगाउनुको पछाडिको रहस्यले मलाई चिथोरिरहेको थियो।

यस्तो अचम्मको ठाउँ चीनको पश्चिममा पर्ने युन्नान प्रान्तको सदरमुकाम खुन्मिङको एउटा प्रख्यात पर्यटकी स्थल हो ढुङ्गाको जङ्गल अर्थात् ‘स्टोन फरेस्ट”। सामान्य बोलीचालीमा जङ्गल हुनलाई माटो हुनुपर्छ अनि रुखैरुख। जहाँ ढुङ्गैढुङ्गाको गग्र्यान हुन्छ त्यहाँ जङ्गलको कल्पना गर्न सकिन्न।

ढुङ्गैढुङ्गाले भरिएकाले उक्त क्षेत्रलाई ढुङ्गाको जङ्गल भनिँदो रहेछ। साँच्चै त्यो ठाउँमा वनस्पतिहरू कतै कतै मात्र देखिन्छन्। ढुङ्गाको जङ्गल पनि सितिमिति हैन विश्व प्रशिद्ध। युनेस्कोले विश्व सम्पदा सूचिमा समावेश गरेको अनि विश्वकै पहिलो आश्चर्य पनि मानिने ठाउँ।

उक्त क्षेत्रको प्राकृतिक बनोट र सौन्दर्यले जति लोभ्याउँछ त्यो भन्दा बढी त्यहाँको सरसफाइ र संरक्षणले उत्तिकै मोहक बनाउँछ। त्यसमाथि चिरिच्याट्ट परेका पर्यटक गाइडले मोहनी लाग्ने पारामा त्यहाँको बखान गर्दा जस्तोसुकै अधैर्य पर्यटक पनि त्यहाँ पुगेपछि आफ्ना सबै पीरमर्का भुल्न विवश हुन्छ।

पर्यटक गाइडका पोशाक पनि विचत्रका। रातो पोशाकमा बाहुला र घुँडामुनि सेतो र निलो अनि कालो मिसिएको बुट्टाहरू। महिलाका टाउकामा गज्जबो टोपी। टोपीको अर्थ पनि कस्तो भने दुई चुच्चा निस्किएको भएमा त्यो महिला विवाहित भनेर चिनिने। एक चुच्चे भएमा अविवाहित रे!

उक्त पर्यटकीय स्थलमा पुग्ने विद्युतीय सवारी साधन चलाउने चालक सबैले त्यस्तै पोशाक लगाएका अनि पर्यटक गाइड पनि उस्तै। उनीहरू चिनियाँ अल्पसङ्ख्यक ‘यी’ जातिका मानिस रहेछन्। उक्त क्षेत्र ‘यी’ जातिको वाहुल्य रहेकाले पर्यटक गाइड र पार्कभित्र पर्यटक सवारी साधन तलाउने काम अन्य जातिका मानिसले नपाउने चलन रहेछ। चीन सरकारको यस्तो नीतिले ‘यी’ जातिको पहिचानलाई विश्वव्यापी बनाउने कामसँगै उनीहरूलाई आफ्नो पोशाक र जातीय पहिचानमा प्रोत्साहन पनि गरेको रहेछ।

युन्नान प्रान्तको सदरमुकाम खुन्मिङ सहरदेखि ८७ किलोमिटर पूर्वमा रहेको ‘‘सिलिन यी स्वायत्त काउन्टी”स्थित ३ सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्यावरणीय पार्क नै ढुङ्गाको जङ्गल हो। ढुङ्गैढुङ्गाले ३ सय ५० वर्ग किलोमिटर क्षेत्रफल ढाकेको छ। यस क्षेत्रमा जमिनमै रहेका ढुङ्गाका साना साना विरुवादेखि ५० मिटर अग्ला ढुङ्गाका रुससम्म छरिएका छन्। ढुङ्गाहरूको आकृति पनि फरक फरक छ। कुनै धरहराजस्ता चुच्ची परेका छन् भने कुनै च्याउजस्ता माथि गएर छाता आकारका फैलिएका। पिलरदेखि स्तम्भसम्मका आकारसँगै मान्छे र विभिन्न पशुप्राणीको आकृति झल्काउने ढुङ्गाहरू पनि देखिन्छन्।

ठाउँ ठाउँमा रहेका साना साना पानीका तलाउ अनि तलाउमा देखिएका अग्ला ढुङ्गाका प्रतिमाको दृश्यले क्यामरा तेर्स्याउनेहरू त्यतै थुप्रिन्छन्। ढुङ्गाघारीका बीचमा बनाइएका फराकिला र सफा बाटो तथा थकाइ मार्ने स्थानसँगै फोटो खिच्नका लागि बनाइएका स्थलहरू।

यो विश्वकै सबैभन्दा अग्लो भूभागमा रहेको पर्यावरणीय पार्क पनि हो। सन् २००७ मा युनेस्कोले यसलाई विश्व सम्पदा सूचिमा राखेको हो। यो क्षेत्र चीनका ख्यातिप्राप्त पर्यटकीय स्थल मध्येको एक हो। सन् २०१५ मा त्यहाँ ४० लाख पर्यटकले भ्रमण गरेका थिए।

लगभग २७ करोड वर्ष पहिले समुन्द्रमा यसको उत्पत्ति भएको बैज्ञानिकहरूले पुष्टि गरेका छन्। लगभग बीस लाख वर्ष अगाडि समुन्द्रको पानी सुक्दै गयो र चुनढुङ्गाहरू बिल्दै गएर अहिलेको आकृतिमा रहेको वैज्ञानिकको प्रयोगशालाबाट प्रमाणित भएको सो क्षेत्रको सूचनापाटीमा उल्लेख छ।

वैज्ञानिकले पुष्टि गरे अनुसार समुद्र सुक्दै जाँदा त्यहाँका चुनढुङ्गाहरू बाँकी रहेर यसको सिर्जना भएको मानिन्छ। चिनियाँहरू भने वैज्ञानिक मान्यताको साँटो हजारौँ वर्ष अगाडिको आशिमा र अहेइ नामका युवायुवतीको प्रेम वियोगान्तको कथामाथि बढी विश्वास गर्छन्।

ढुङ्गाको जङ्गल युन्नान प्रान्तको ‘‘यी जातीय स्वायत्त काउन्टी”मा पर्ने भएकाले यस क्षेत्रमा ‘यी’ जातिका मानिसहरू धेरै छन्। प्राचीन कथा अनुसार ‘यी’ जातिभित्रको एक शाखा रहेको ‘सानी’ जातिकी सुन्दरी युवतीको नाम हो ‘आशिमा’। उनी स्थानीय ‘अहेइ’ नामका युवालाई अत्यधिक प्रेम गर्थिन्। गाउँकै धनाढ्य जमिनदारका छोरा ‘अची’ पनि आशिमालाई मन पराउँथ्यो। अचीले आशिमालाई अपहरण गरेर लग्यो। अहेइ पनि धनुकाँड लिएर आफ्नी प्रेमिकालाई छुटाउन गयो। अपहरणकारी अचीले अहेइलाई अनौठो प्रस्ताव राख्यो। उसले भन्यो ‘हामीबीचमा गीत गाउने प्रतियोगिता गरौँ। जसले जित्छ आशिमा उसकै हुन्छे।”

तीनदिन तीनरातसम्म गीत गाउने प्रतिस्पर्धा भयो। प्रतियोगिता अहेइले जित्यो। अहेइले आशिमालाई लिएर घर फर्कियो। गीत गाउने प्रतियोगिता हारेर आशिमालाई गुमाउँदा अची विचलित भएको थियो। आशिमालाई आफ्नी श्रीमती बनाउन नसकेको रिसमा दुष्ट अचीले जाल बुन्यो। उसले छलकपटपूर्ण तरिकाले आशिमालाई गहिरो तलाउमा धकेलिदियो।

आशिमा डुबेपछि अहेइ शोकले व्याकुल भयो। ऊ आशिमा आशिमा भन्दै चिच्याउन थाल्यो। आशिमा डुबेको ठाउँबाट अजङ्गको शिला पलायो र त्यो हेर्दाहेर्दै अग्लो भयो। केहीबेरमा अहेइले कतैबाट आफूलाई बोलाए जस्तो सुन्यो। त्यही अग्लो ढुङ्गाबाट ‘‘अहेइ” ‘‘अहेइ” भन्ने आवाज आइरहेको थियो। अहेइलाई बोलाउने अरु कोही नभएर आशिमा थिइन्। उनी ढुङ्गाको रुपमा उभिएकी थिइन्। त्यसपछि आशिमा र अहेइको सधैँ संवाद हुन थाल्यो।

त्यसपछि चिनियाँ प्रेमी प्रेमिकाहरू उक्त क्षेत्रमा गएर आफ्नो प्रेम अमर बनाउनका लागि केटा भए ‘आशिमा’ र केटी भए ‘‘अहेइ” भन्दै कराउने चलन रहेछ। चीनमा अझै पनि उक्त ढुङ्गाका अगाडि गएर आफ्नो जोडी सम्झेर नाम पुकार्दा प्रतिध्वनि पनि आउने विश्वास रहेछ। केटा मान्छेले आशिमा भनेर करायो भने अहेइ भन्ने जवाफ आउँछ र केटी मान्छेले अहेइ भन्दै कराएमा प्रतिध्वनि चाहिँ आशिमा भन्ने आउँछ रे। यहाँ पुगेर यसरी कराएमा आफ्नो प्रेम सफल हुन्छ भन्ने विश्वास रहेको गाइडले सुनाइन्। मनमा आफ्नो जोडी सम्झने अनि कराउने बेलामा चाहिँ केटाले आशिमा र केटीले अहेई भन्ने।

‘‘हेर त त्यो ढुङ्गा केटीको आकार जस्तो छैन त?” त्यही ढुङ्गा देखाउँदै गाइडले भनिन् ‘‘टाउकामा रुमाल बाँधेको र ढाडमा डोको बोकेको जस्तो देखिएको आकृति नै आशिमाको हो। साँचो र पवित्र माया भएमा आशिमाबाट जवाफ आउने गर्छ।”

मैले नियालेर हेरेँ। साँच्चै नै त्यो ढुङ्गा गाइडले भने जस्तै टाउकामा रुमाल बाँधेको र ढाडमा डोको बोकेको जस्तो देखिँदोरहेछ। म उक्त ढुङ्गाको फोटो खिच्न थालेँ। कस्तो गज्जबको विश्वास। सुनेको  थिएँ सुनलाई कसीमा राखेर जाँचिन्छ। यहाँ त माया पनि ढुङ्गामा जाँचिदो रहेछ। साँचो र चोखो माया जाँच्ने ढुङ्गा आशिमाको बिम्बमा उभिएको जस्तो लाग्यो मलाई।

गाइडले भनिन् ‘‘यो ढुङ्गा चिनियाँ यी जाति भित्र रहेका ‘‘सानी” जातिका युवा युवतीको प्रेमको प्रतीक हो। चिनियाँ पात्रो अनुसार छैटौँ महिनाको २४ औँ दिन यहाँ बत्ती बाल्ने महोत्सव आयोजना हुने गर्छ।”

यही ऐतिहासिक तथा पौराणिक कथामा आधारित ‘आशिमा’ नाममा चीनमा थुप्रै गीति नाटक, उपन्यास, चलचित्र र पुस्तकहरू सिर्जना भएका रहेछन्। त्यस्ता सिर्जनाहरू थुप्रै विदेशी भाषामा अनुदित पनि भएका छन्।

‘यी’ भाषामा आशिमाको अर्थ ‘‘सुन जस्तो अनमोल र उज्यालो” हुन्छ। आशिमालाई ‘यी’ जातिभित्र आफूले चाहेको व्यक्तिसँग विवाह गर्ने छनोटको स्वतन्त्रता र सुखी जीवनको आशाको प्रतीक मानिन्छ।

आशिमाको कथामा आधारित नाटक पहिलो पटक सन् १९४० मा लेखिएको थियो र खुन्मिङमा प्रदर्शन गरिएको थियो। यो धेरै पटक प्रकाशित भएको छ। सन् १९६० यही कथामा चलचित्र पनि निर्माण गरिएको थियो। राष्ट्रिय नृत्य नाटक ‘आशिमा’ बीसौँ शताब्दीको शीर्ष चिनियाँ नृत्यहरूको सूचीमा रहेको छ।

‘‘सिलिन यी स्वायत्त काउन्टी”भित्रका ‘यी’ जातीका व्यक्तिहरू जो ढुङ्गाको जङ्गल घुमाउने पर्यटक पथ प्रदर्शक, दोभाषे र पार्कभित्र गुडाउने साना विद्युत्तीय कार चलाउने गर्छन्, उनीहरूलाई चीन सरकारले अंग्रेजी भाषाको राम्रो प्रशिक्षण दिएको छ। उनीहरू आफ्ना परम्परागत पोशाकमा सजिएर पर्यकटलाई ढुङ्गाको जङ्गल घुमाउँदै आशिमा र अहेइको कथा सुनाइरहेका हुन्छन्। पर्यटकले प्रवेश टिकटमै पथप्रदर्शक र दोभाषेको पनि शुल्क तिरेकाले भ्रमण र अवलोकनमा न त पर्यटकलाई कुनै झन्झट हुन्छ न त पथ प्रदर्शकलाई नै।

ढुङ्गाको जङ्गल घुमेर फर्कने बेलामा दोभाषे गाइडले मलाई सोधिन्, ‘‘कस्तो लाग्यो त आशिमाको कथा?”

मैले जिस्क्याउँदै भनिदिएँ ‘‘एकदम मन पर्‍यो। मलाई त तिमी नै मेरी आशिमा जस्तो लाग्यो।”

उनले अनुहार रातो बनाउँदै हतारमा जवाफ दिइन्, ‘‘हैन हैन, मेरो अहेइ घरमा छ। देखेनौँ मेरो टोपीमा दुई चुच्चा। म विवाहित हुँ।”


Comment

One thought on “चीनमा पाइन्छ साँचो माया जाँच्ने ढुङ्गा

  1. चार करोड वर्ष अगाडि भएको एक प्रलयकारी भूकम्पनको समयमा चिनको युनान् प्रान्तको ‘स्टोन् फरेस्ट’ को समुद्र सरेर हालको हिन्द महासागरमा परिणत भएको वैज्ञानीक अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved