उपेन्द्रको कारबाहीको तयारीपछि के गर्लान् बाबुराम भट्टराई ?

यादव पक्षले सांसद र केन्द्रीय समितिमा बहुमत जुटाएर भट्टराई पक्षलाई कारबाही गर्नेसम्मको तयारीमा लागेपछि भट्टराई पक्षको प्रतिक्रियालाई चासोपूर्वक हेरिएको छ।

नेपालभ्युज

उपेन्द्रको कारबाहीको तयारीपछि के गर्लान् बाबुराम भट्टराई ?
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षलाई कारवाही गर्ने तयारी गरेपछि भट्टराई पक्षले के गर्ला भने चासो बढेको छ। यादव पक्षले सांसद र केन्द्रीय समितिमा बहुमत जुटाएर भट्टराई पक्षलाई कारबाही गर्नेसम्मको तयारीमा लागेपछि भट्टराई पक्षको प्रतिक्रियालाई चासोपूर्वक हेरिएको छ।

(जसपा)भित्रको विवाद अब बहुमत जुटाउने खेल र एक अर्कामाथि कारबाहीतर्फ प्रवेश गरेको नेताहरु बताउँछन्। अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष सांसद र केन्द्रीय समितिमा बहुमत जुटाउने र अर्को पक्षलाई कारबाही गर्नेसम्मको तयारीमा लागेका छन्।

सोमबारको बैठकमा सहभागीहरू १७ जना कार्यकारणी सदस्य नेताको बैठकले भट्टराईलगायतका नेतालाई कारबाही गर्नुपर्ने निर्णय लिएको छ। बैठकमा सहभागी नभए पनि मनिष सुमन र परशुराम बस्नेत अध्यक्ष यादवको पक्षमा छन्। त्यसो हुँदा अध्यक्ष यादवको पक्षमा १९ जना कार्यकारी सदस्य पुग्ने देखिन्छ।

सोमबारको बैठकमा सहभागी हुनेहरूमा उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव, मोहम्मद इस्तियाक राई, लालबाबु राउत, विजय यादव, सुशीला श्रेष्ठ, रणध्वज कन्दङ्वा, रकम चेम्जोङ, युवराज कार्की, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह, गोविन्द चौधरी, नवलकिशोर साह र गजाधर रोहता यादव थिए ।

एता बाबुराम भट्टराई पक्षमा पनि आधाभन्दा कम नेताहरु छन्। सोमबारको बैठकमा उपेन्द्र यादव पक्षका १९ जना खुलेपछि बाबुरामको पक्षमा १२ जना केन्द्रीय कार्यकारिणी सदस्य खुलेका छन्। जसमा बाबुराम भट्टराई, हिसिला यमी, नवराज सुवेदी, गंगा श्रेष्ठ, महेन्द्रराय यादव, राजकिशोर यादव, अमृता अग्रहरी, डम्बर खतिवडा, प्रशान्त सिंह, दुर्गा सोब, भक्तबहादुर शाहलगायत छन्।

पार्टीका मन्त्रीहरू हेरफेर गर्ने यादव पक्षको एकपक्षीय निर्णयले विवादको भुमरीमा फसेको जसपामा थप संकट थपिएको छ। यादव पक्षका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सोमबार साँझ बसेको बैठकले सरकारमा सहभागी आफ्ना मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गरेपछि भट्टराई पक्ष पनि रणनीति निर्माणमा जुटेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved