प्रिय कथा

अर्को क्षितिजको खोज

अर्को क्षितिजको खोज

(रचनागर्भ– मैले सामाजिक जनजीवनका कथाहरू धेरै लेखेँ। पचासको दशकअघि नै लेखेको कथा ‘अर्को क्षितिजको खोज’ मा मैले म आफैँले समाजमा देखेको विषयवस्तुलाई कथारूप दिएकी हुँ।

एउटी आमालाई कहिले कुन छोराकहाँ, कहिले कुन छोराकहाँ बोकाएरै लगेको मैले देखेकी थिएँ। यस्तो दृश्य देखेपछि मभित्र अनेक भावना सल्बलाउन थाले र त्यही भाव संसारमा उभिएर मैले यो कथा लेखेकी हुँ।

कुनै पनि बाबु–आमा आफ्ना सन्तानका लागि सर्वस्त्र सुम्पिन तयार हुन्छन्। उनीहरू छोराछोरीको पढाइदेखि अरू प्रयोजनका निम्ति सबै सम्पत्ति रित्याउन चाहन्छन्। बुढेसकालका लागि केही पनि बाँकी राख्दैनन्। माया आफ्नो ठाउँमा होला तर भावनामा बगेर बुढ्यौलीका निम्ति आफूले केही नराखी सबै रित्याउनु उचित हुँदैन भन्ने मलाई लाग्छ। छोरा–बुहारीको आश्रयमा बाँच्छु भन्ने आश र कल्पना गर्नु उचित हुन्न भन्ने सन्देश मैले यो कथामार्फत दिन चाहेकी छु।)

आँखाभरि रातको वर्षात छ– लाग्दैछ के जीवन यसरी नै अस्थिर रूपले घुम्दै बित्नेछ ? के यो विश्रान्ति हुने उमेरमा पनि स्थिर शान्ति सहज रूपमा प्राप्त गर्न सक्तिन ? कहीं कतै पनि मैले किन स्वच्छन्द मुस्कान, स्वच्छन्द मन र स्वच्छन्द स्वतन्त्रता लिएर बस्न सकिन ? जहाँ पनि म उपेक्षित एउटा कागजको टुक्रा र घाँडो पाहुनाको रूपमा बस्दैछु। चोरहरूसँग सम्झौता गर्न पनि कति गाह्रो छ। के मेरो अतिरञ्जित विश्वास र आस्था नै मेरो जीवनको भूल थियो ? आफ्नो दुःखको आर्जन गरेर कमाएको पैसा सकेर तीन छोराहरूलाई पढाउनु के मेरो भुल थियो ? वास्तवमा मैले तीन छोराहरूलाई नै मेरो जीवनको शक्तिशाली वैभव र मैले टेक्ने दह्रो धरती सम्झेको थिएँ तर कुनै छोराहरूले पनि मलाई सधैँ पाल्न नैतिक साहससम्म गर्न सकेनन्। कत्रो विडम्बना ! लाग्थ्यो, छोराहरूको कमाइमा मेरो बुढो जीवन मह भएर बित्नेछ, मैले सधैँ घाम देख्न पाउनेछु– अन्धकार होइन– तर आज किन छोराहरू मेरो निम्ति रित्तो थैलीझैँ भएका ? किन मेरो त्याग र बलिदानलाई अपहेलना गरेका ?

आज चार महीनाको पालो तोक्दै कान्छो छोराको घरमा आएको छु– मागेर हिँड्ने भिखमंगाझैँ भएर, जसको कहीं कतै घरबास हुँदैन।

कान्छो छोराको तीन तले नयाँ शानदार बंगलाः हल्का पहेँलो रङले पोतेको। म अन्तिम फ्लोरको बरण्डामा बस्दै फूलबारीको मोहकता पिउने प्रयास गर्दैछु तर यो मन कुनै फक्रेको लालुपाते र लाहुरे फूलको बैंसमा झुक्न सकेको छैन। किन मन यस्तो औडाहा भएको ? मलाई लाग्दैछ र जुन चीज मैले देखिरहेको छु ती सब एउटा छल र प्रपञ्च मात्र हुन्, केही क्षणपछि यी सारा सौन्दर्यहरू अर्थात् यो बंगला र रंगीबिरंगी फूलहरू श्मशानघाटजस्ता हुनेछन्– बिलाउनेछन्, मेरो आँखाको ओझेलबाट। यहाँ पनि मैले उदारताका कुनै सुसेलीहरू सुन्न पाइनँ। बैंस फुलेको फूललाई निर्धक्क हेर्न र टिप्न पाइनँ। आइरहेछ त्यही गन्ध जुन गन्धले जेठो र माहिलो छोराको घरमा पनि मेरो सातो लगेको थियो– जुन अपनत्वहीन गन्धले मेरो शरीर र मन–मस्तिष्कलाई छिन्नभिन्न पारेको थियो– त्यही गन्ध यहाँ पनि आइरहेछ र मलाई त्यसरी नै चूर्ण–चूर्ण पार्दैछ। मेरो मोह, त्याग र दुःखको मूल्यांकन सही रूपले कुन छोराहरूले गरे ? कठै ! बुबाले हाम्रो लागि कति दुःख खप्नुप¥यो ? कसरी हामीलाई योग्य छोरा बनाउनुभयो भन्ने खरो भावना कुन छोराको मनमा हरियो दुबो भएर उम्¥यो ? लाग्छ, मानौं तिनीहरू आफैँ जन्मेका हुन्, आफैँ हुर्केर पढेर योग्य भएका हुन्– मैले उनीहरूलाई केही गरेको छैन– मात्र बीचमा बाबु भन्ने एउटा नाम जोड्न आएको छु, त्यही पनि उनीहरूले कमाएको सम्पत्तिमा लोभिएर ! उनीहरूको मन र आँखाको कसिंगर भएर बाँचिरहेको छु अर्थात् बाँच्न र खान भिख माग्दैछु।

समाजको आँखा अगाडि म सुखी र सम्पन्न बाबु भएर बाँचेको छु– हेर्दा कति राम्रो छ ! सुन्दा कति ईष्र्याजन्य छ ! तर तीनै छोराहरूको घरमा घाँटीमा तिर्खा अड्काएर, मनमा चोट फलाएर, आँखामा पानी मारेर बसेको छु। यो अदृश्य घाउ कसको अगाडि कोट्याएर देखाऊँ– आखिर आफ्नै बदनाम र उपहास त हो यो बुढ्यौली जिन्दगीमा।

यो फूलबारीभरि अनेकथरि फूलहरू फुलेका छन्– हरिया पातहरूले घेरिएको छ– बंगला हेर्दा कुनै तपस्वी बस्ने वनकुञ्जभित्रको आश्रमजस्तै देखिन्छ। बोटभरि नासपाती, अम्बाहरू फलेर लच्किरहेका छन् तर एउटा फल टिपेर खान पनि मलाई किन संकोच लागेको ? लाग्छ, एउटा फल टिपेर खाने अधिकार पनि मेरो छैन। हिजो एउटा लत्रिरहेको ठुटो नासपाती टिप्न खोज्दा मालीले चर्को स्वरमा मनाही गरेको थियो, ‘जथाभावी फल टिपेको देख्नुभयो भने मालिक्नी साहेब रिसाइबक्सिन्छ। नटिप्नुस्।’ रिसले सोचेँ, उसैको हातको कोदाली लिएर उसैको थाप्लोमा हिर्काऊँ तर वर्षौं बसेको त्यो मालीलाई केही गर्न सकिन। तत्कालै सोचेँ त्यो फल मेरो लागि ढुंगाबराबर छ।

‘ए बाजे ! चिया पिउनुस्’ कान्छा कोठामा आउँछ र मेरो हातमा चिया राखिदिन्छ। साथमा दुई पीस पाउरोटी पनि प्लेटमा छ।

‘छोरा–बुहारी, नातिहरू कहाँ छन् ?’

‘ब्रेकफास्ट गर्दै हुनुहुन्छ।’

सानो जवाफ कान्छाले दिन्छ।

‘मलाई किन कोठामा चिया ल्याएको ? सँगै बसेर पिउँथेँ।’

‘मालिक्नी साहेबले कोठामा लगिदिनु भन्नुभयो।’

कान्छा फर्किन्छ एउा भारी उत्तर दिएर। मन लाग्थ्यो छोरा–बुहारी, नातिहरूसँग गफ गर्दै खान। के म उनीहरूसँग बसेर खान सक्तिन ? किन मलाई चिया खान पनि यही कोठामा ल्याइदिन्छन् ? खाजा पनि यही कोठामा। भात खाने बेलामा डाइनिङ टेबुलमा पनि एक्लै। यिनीहरूले मलाई किन पन्छाउन खोज्छन्– म जति नजिक जान खोज्छु, उति उनीहरू टाढा हुन्छन्। किन उनीहरू मसँग गफ गर्न खोज्दैनन्, किन उनीहरू मेरो नजिक आउन खोज्दैनन् ? सोध्न मन लाग्छ मलाई– छोराको कमाइ, व्यवसाय र दैनिक घटेका घटनाहरू तर म बोलेँ भने जवाफ दिन्छन् उनीहरू स्वयं मलाई बताउन चाहन्नन्। छोरा–बुहारी, नातिहरू र मेरो बीचमा त्यस्तो कुन विकृत पहाड छ जसले हामीहरूलाई एक अर्काबाट टाढा राख्न खोज्छ ? यो सानो कोठा– मलाई थाहा छ, तल्लो स्तरका मान्छेहरू अर्थात् पाहुनाहरू आउँदा सुताउने कोठा हो जुन कोठामा म अहिले बसिरहेको छु। मलाई सुत्न–खान र बस्न यही कोठा दिइएको छ– माथि तलामा छोरा–बुहारी बस्छन्– न त छोरा–बुहारी मेरो कोठामा नै बस्न आउँछन् न त नातिहरू मसँग कुरा गर्न नै आउँछन्। सोच्छु, के यो कोठा मेरो लागि कैदखाना त होइन ? जुन कोठामा मैले जीवनको कुनै मोहकता पिउन सकिन।

बाहिर मोटरको आवाज सुन्छु– आज शनिबार छोराको छुट्टी छ, पशुपति दर्शन गर्न जान प¥यो। बाहिर बरण्डामा निस्कँदा छोराले मोटर स्टार्ट गरिसकेको हुन्छ।

‘बाबु ! पशुपतिनाथ दर्शन गर्न जान्छु, यही मोटरमा जाऊँ कि ?’

‘मलाई जरुरी काम छ, बाटो परेन। तपाईँ बसमै जानुस्।’

छोराले कारबाटै जवाफ दिन्छ– आँखाले हेर्दाहेर्दै मोटर गायब हुन्छ। मेरो आँखाको रोशनी धमिलो भएझैँ लाग्छ। सोच्छु, के मलाई त्यो कारमा चढ्ने अधिकार छैन ? कफी रङको त्यो कार मलाई मन पर्ने रङ हो। टिलिक्क टल्केको कारलाई छुन मन लाग्छ, त्यसमा अगाडि बसेर घुम्न जान मन लाग्छ। बाथ भएर हो कि म त्यति हिँड्न सक्तिनँ। किन एकछिनको लागि पनि छोराले मलाई कारमा राख्न सक्तैन ? आफ्ना छोराछोरी र स्वास्नीलाई राखेर कति घुम्न जान्छन्– मलाई किन एक वचन पनि ‘हिँड्नु बुबा’ भनेर भन्न सक्तैन ? त्यति एक शब्द मीठो बोल्न पनि किन कञ्जुस भएको ? लाग्छ, अब त कार छुँदा पनि मेरो हातको मयल लाग्ला, कारमा बस्दा पनि नोकर बसेको झैँ होला।

हिजो राति बुहारी र नातिहरूले कुरा गरेको सुनेँ–

‘मम्मी ! मम्मी ! तल बस्ने त्यति नराम्रो सेतै फुलेको चाउरी परेको बुढा पनि हाम्रो बुबाको बुबा हुन सक्छ र ?’

‘खि…ति…ति…।’

बुहारीको कर्कश हाँसोले शरीरको कुनै अंगमा खुकुरीले छ्याक्क काटेझैं लागेको थियो। हीनताको पहाडले मलाई थिचेको थियो, अपमानको खहरेले मलाई हुत्याउँदै थियो।

कसलाई आफ्नो ठानूँ ? कसलाई आफ्नो भनेर च्यापूँ ?

आउने दिन कान्छो नातिलाई काखमा राखेर माया गर्न लागेको थिएँ– नाति यसरी रोइदियो मानौं मैले नै उसलाई चिमोटेर रुवाएको हुँ। बुहारी आएर तुरुन्तै लगी, म जिल्ल परिरहेँ। नातिहरूलाई माया गर्न खोज्दा पनि किन तर्सेर रुन्छन् ? किन कोही नातिहरू पनि मसँग लोलुपोतु भएर खेल्दैनन् ? शायद म नराम्रो चाउरे बुढालाई देखेर हो कि ? बरु माली बुढालाई ‘बाजे’ भनेर सम्बोधन गरेको सुन्दा मुटुको एक चोक्टा खसेको जस्तो लाग्छ।

हत्तेरी, कस्तो कस्तो सोचिरहेको मैले– बरु बसमै बसेर पशुपति गए हुन्थ्यो। बाटोको छेउछाउमा अनेक रंगका झपक्कै फुलेका गुलाफका फूलहरू टिप्न मन लाग्छ– गएर रातो गुलाफ टिप्न थाल्छु– बुहारी झ्यालबाटै चिच्याई, ‘त्यो फूल किन टिप्नुभएको ? बगैंचाको सुन्दरता नै हराउँछ नि ! देउतालाई चढाउने भए कुनाकाप्चाको नराम्रो फूल टिपे हुन्छ।’ मेरो हात फतक्कै गलेर काँडामा कोत्रिदै झर्छ। दुइटा गुलाफको फूल टिप्दैमा के फूलबारी रित्तो हुन्छ र ? के राम्रो फूल देउतालाई चढाउन हुँदैन ? छोराको घर के मेरो घर होइन र ? छोराको सम्पत्ति के मेरो सम्पत्ति होइन र ? खै मैले आफ्नो भनेर कहीं कतै छुन सकेको ? खै मैले आफ्नो मनको दहमा जमेको माया खन्याएर रित्याउन सकेको ? किन पराइ गन्धले मुटु छेड्न खोज्छ ?

पुराना गन्ध आउन थाल्छन् मभित्र। यी तीन छोराहरूलाई स्वास्नीको अस्सी तोला गहनाहरू बिक्री गर्दै पढाएको थिएँ– मर्ने बेला स्वास्नीले भनेकी थिई, म मरे पनि तपाईँलाई केही दुःख हुँदैन, तीन वटा छोराहरूले तपाईँलाई सुखसाथ राख्नेछन्।

त्यति बेला स्वास्नीले नभने पनि तीनै छोराहरूमाथि मेरो विश्वास ढलौट थियो तर ती सबै पहेँला पातहरूझैँ झरेर निख्रिए।

जेठो छोराकहाँ बस्दा एकदिन छोरासँग बाहुनलाई दान दक्षिणा गर्न पचास रूपैयाँ मागेँ– छोराले बुहारीसँग मागे, बुहारीले दस रूपैयाँ मात्र दिई, केही क्षणपछि छोरा–बुहारी आपसमा कुरा गरिरहेका थिए, बुहारीले भन्दै थिई, ‘बुढेसकालमा आफ्नो लागि केही जगेर्ना राख्नुपथ्र्यो तपाईँको बुबाले। कस्तो दुर्बुद्धि ! जहिले पनि खर्च गर्न हामीसित मागेर साध्य हुन्छ र ? बाहुनलाई दान गर्न पचास रूपैयाँ चाहियो रे ! यो जमानामा दान गर्न पैसा दिन सकिन्छ र ?’

यद्यपि छोरा अफिसर थिए– बुहारी जागिरे थिई– लाउन खान कुनै दुःख थिएन। मन साह्रै जल्यो, सिंगै घर जलेझैँ। महीना नपुग्दै माहिला छोराको घरमा आएँ– इन्जिनियर थिए माहिला छोरा, बुहारी स्कुलमा मास्टर्नी थिई, सुखपूर्वक नै बसेका थिए।

जेठो छोराको घरमा रोपिएका पीडा हराउन नपाउँदै अर्को पीडाको बोट रोपियो मनमा।

‘महीना पनि नपुग्दै ससुरा जेठो छोराको घरबाट किन आएको हालो ? केही नपरी त्यसरी आउँछ र ? पाल्न र जन्माउन त गल्लीको कुकुरले पनि जानेको हुन्छ। भन्ने हो भने नीना ! मेरो श्रीमान् त आफ्नै पैसाले पढेका हुन्, आफ्नै कमाइले धनी भएका हुन्। पालो गरेर छोराहरूको घरमा चहार्नुभन्दा एउटै छोराको घरमा स्थायी रूपले बसेको भए दुःख पाउने थिएन। हामीलाई त केही मतलब छैन। कान्छो छोरा प्यारो छ क्यारे– उतै बसे भइहाल्थ्यो। नआए पनि हुन्थ्यो’ बुहारीले कोठामा बसेर शायद मलाई सुनाउन नै हो कि जोडजोडले फलाक्दै थिई।

‘नीना ! मीनाले ठीक भनेकी हुन्। बाबुले त एसएलसीसम्म मात्र पढाएका हुन्, त्यसपछि त आफैँ खुट्टामा उभिएर पढेको छु। यत्रो बन्दोवस्त गरेको हुँ।’

छोरा–बुहारीले जुन तल्लो स्तरका कुराहरू मेरो बारेमा गरे, के त्यो कुरा सजिलै सहन सकिन्थ्यो र ? मलाई लाग्यो– मेरो वरिपरि सम्पूर्ण भूमण्डल घुमिरहेछ र बुल्डोजरको भयंकर आवाज पृथ्वीभित्रबाट फारेर निस्कँदैछ– मैले टेकेको जमिन हल्लिएर म घरि उता भित्तामा घरि यता भित्तामा ठोक्किरहेको छु। यो कस्तो मर्माहत पीडा हो ! बन्दुकको नालबाट निस्केको गोलीझँै।

यो अथाह वेदनालाई सहन नसकेर– काँपिरहेको तन र मन लिएर कान्छो छोरा र कान्छी बुहारीको शरणमा आएँ मनमा सानो दीपशिखा बालेर। डाक्टर छोरा–लेक्चरर बुहारी। यहाँ पनि कुनै कुराको कमी थिएन। तर जे सोचेर यहाँ आएको थिएँ, मैले चाहेको जस्तो हरियाली वातावरण यहाँ पनि पाइनँ। छोरा बुहारी र नातिनातिनाहरूसँग बसेर सुख–दुःखका कुराहरू गर्न मन लाग्दथ्यो– रहर लाग्थ्यो तर छोरा–बुहारी सधैँ मबाट ओझेल हुन्थे– नातिनातिना परपर भाग्थे। सुखको कुनै अंशसँग मैले आत्मसात गर्न सकिन। जिन्दगीका इच्छा र सपनाहरू पानीसरी भुइँमा सुकेर गए, कुनै खँदिला भएनन् मेरा सुखहरू। कति सास्ती खाएर छोराहरूको जीवन गोडमेल गरेँ– आज ती कुराहरू उनीहरूको लागि एउटा दन्त्यकथाजस्तै भएको छ। उफ् ! कसरी मेरा त्याग र मर्महरूलाई छोराहरूले सजिलै बिर्से ?

सोच्छु– के यो घर मेरो लागि अग्निकुण्ड होइन ? मेरा सारा सपना जलाएर कसरी बसूँ ? मेरो सम्पूर्ण अस्तित्व सधैँ हाहाकार बनाउँदै कसरी यस घरमा रहूँ ? मलाई लाग्छ जुन सोच्दा गर्व लाग्थ्यो– अहिले मेरा कोही छोरा बुहारीहरू छैनन्– कोही नातिनातिनाहरू छैनन्, मात्र म भावनामा यी सबै सुखद् कुरा बोकेर बाँच्दैछु। यो ठुलो घरमा म बाटो बिराएर मात्र पसेको हुँ।

तत्कालै निर्णय लिन्छु र आफ्ना पाखुराहरू छाम्न थाल्छु– अझै पनि मेरा खुट्किलाहरू खिइएका छैनन्– मेरा ताकतहरू ओइलाएका छैनन्, मेरा शरीरका अवयवहरू खुम्चिएका छैनन्– म बाँच्न सक्छु, कुनै प्राइभेट नोकरी गरेर पनि अथवा कुनै दोकानमा कारिन्दा भएर पनि बाँच्न सक्छु।

मलाई लाग्छ– मेरा अंगअंगमा ताकत फुल्न थाल्छ– जोशको लहर उठ्न थाल्छ। कुनै पनि पश्चाताप र ग्लानिले मलाई गलाउन सक्दैन। मेरा लुगाहरू भएको झोला काँधमा राख्छु, सोच्छु, फेरि जीवनको एउटा जिम्मेवारी थपिएको छ मेरो काँधमा। मेरो मन यसरी हलुंगिन थाल्छ– म एउटा ठुलो कैदबाट मुक्त हुँदैछु। बाहिर निस्कन खोज्दा कारमा छोरा आइरहेको हुन्छ। मेरो काँधमा झोला देखेर सोध्छ, मोटर रोक्दै–

‘बा ! कहाँ जाँदै हुनुहुन्छ ?’

‘म आफ्नै संसारमा जाँदैछु– आफ्नो कमाइमा बाँच्न जाँदैछु। मेरो भारबाट तिमीहरू सबै आजदेखि मुक्त भयौ।’

अप्रत्याशित निस्केको मेरो प्रश्न छोराले बुझेर हो वा नबुझेर हो केही बोल्न सक्तैन। म फटाफट बाहिर जान्छु। उसको कार ग्यारेजमा जान्छ। आफ्नो नयाँ क्षितिजको खोजीमा मेरा कल्पनाहरू र गोडाहरू सँगसँगै दगुर्न थाल्छन्।


Comment

One thought on “अर्को क्षितिजको खोज

  1. अत्यन्त राम्रो कथा ! कथाकार भागीरथी श्रेष्ठ यस्तै श्रेष्ठ कथा लेख्ने कुशल कथाकार हुनुहुन्छ । यसकथामा सन्देश मात्रै छैन, विद्रोही पनि चेत छ । जुन चेतनाले मान्छेलाई लास हुनबाट जोगाउँछ !

Leave a Reply to नारायण तिवारी Cancel reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved