खडेरीले गाईवस्तु मरे, मानिस भोकमरीसँग जुधिरहेछन्

अफ्रिकाका इथियोपिया, केन्या, सुडानलगायतका देशमा फैलिएको खडेरीका प्रकोपका शिकार गाईवस्तु र मानिस भइरहेछन्। इथियोपियाको इगो गाउँमामात्रै १० हजार गाई मरिसके, गाउँलेहरू एक छाकमा जीवन गुजार्न बाध्य छन्।

नेपालभ्युज

खडेरीले गाईवस्तु मरे, मानिस भोकमरीसँग जुधिरहेछन्

पूर्वी अफ्रिकामा भइरहेको खडेरीका कारण कम्तिमा एक करोड ८० लाख मानिस भोकमरीका शिकार भएका छन्। राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालय (ओचा)का अनुसार इथियोपियाका ७० लाख, केन्याका ४० लाख र दक्षिणी सुडानका ५० लाख जनता मानवीय सहयोगको आवश्यकतामा छन्। खडेरीका कारण मानिसहरू भोकमरीको  शिकार भइरहेछन्। उनीहरूले पालेका गाईवस्तु आहारा र पानीको अभावमा मरिरहेछन्।

यो खडेरीले पारेको असरबारे ‘हेल्पएज इन्टरनेशनल र ह्युमेनिटेरियन डेभलपमेन्ट कसोर्टियम’(एचडीसी)ले इथियोपिया, केन्या र दक्षिण सुडानका तीन गाउँका एक हजार एक सय ९१ जना वृद्धहरूसँग अन्तर्वार्ता लिएर गरेको ‘र्‍यापिड निड एसेसमेन्ट’को अध्ययन रिपोर्ट २१ जुन २०२२ मा प्रकाशित भएको छ। सोही रिपोर्टमा समावेश  इथियोपियाका इगो गाउँका६६ वर्षे मलिचा गायोको खडेरी अनुभवको सुनीता साखकर्मीले गरेको अनुवाद।


इथियोपिया। जमाना किटो डाइटको छ। संसारका अधिकांश मानिस दुब्लाउनकै लागि निश्चित समयको अन्तरालमा दिनको एक छाक खान थालेका छन्। दिनको एक छाक खानु ती मानिसको रहर हो। तर इथियोपियाको इगो गाउँमा भने यो रहर होइन, बाध्यता हो।

खडेरीका कारण हरेक दिन इथियोपियाको बोरेना क्षेत्रको डबलक जिल्लाको इगो गाउँका वासिन्दा एक छाक खान बाध्य छन्। गहुँको पिठो पानीमा पकाएर सिंगो  परिवारले एक छाक खाने गरेको स्थानीय ६६ वर्षे मलिचा गायो बताउँछन्।

“हामीले गहुँको पिठो पानीमा मिसाएर आगोमा पकाएर खान्छौँ”, उनी भन्छन्, “यो हाम्रो हरेक दिन खाने जम्मा एक छाक खाना हो। त्यही पनि हरेक दिन पाइँदैन।”

इगो गाउँले मलिचा गायोलाई नेता नै मानेको छ। गायो पशुपालक हुन् तर खडेरीका कारण उनका एक सय ३० ओटा गाइ मरे। खडेरीले बढाएको भोकमरीसँग लड्न उनले गाउँको पक्षबाट वकालत गरिरहेका छन्।

पशुपालक मात्रै नभई गायो आफ्नो गाउँको नेतृत्व पनि गर्छन्। गाउँमा सद्भाव कायम राख्न भूमिका खेल्छन्। समुदायमा संकट पर्दा समाधान खोज्न लागिपर्छन्। उनी आफ्नो गाउँको प्रवक्ताको रुपमा कार्यरत छन्। उनी पुरै जिन्दगी यही गाउँमा बिताउन चाहन्छन्। तर खडेरीले उनीहरूको जीवन कष्टकर बनाउँदै लगेको छ।

“म पशुपालक हुँ, पशुहरू मेरो जीवन हुन्,” गायो भन्छन्, “हामी दुध पिउथ्यौँ, मासु खान्थ्यौँ। पैसाको लागि मासु पनि बेच्थ्यौँ। पशुहरूबाट जे पाएँ, त्यसैले मैले मेरो परिवारको भरणपोषण गर्दै आइरहेको थिएँ।”

पहिले उनीहरूको अवश्यकता सामान्य थियो। खानाको लागि खेत जोत्न पर्दैनथ्यो किनकि उनीहरूसँग गाई थियो, खाना थियो। सबै बच्चालाई गाईको दुध पिलाएर हुर्काएका थिए गायोले पनि। तर अहिले उनको परिवार मात्रै नभई पुरै गाउँ नै भोको छ। खडेरी लागेदेखि हरेक महीना सरकारले दिने एक बोरा गहुँबाटै गुजारा चलाउन उनीहरू बाध्य छन्। उनी भन्छन्, “ठूलो परिवार भएकाले हामीलाई एक बोरा गहुँको पीठोले पुग्दैन।”

गायोलाई आफ्नो गाउँमा किन खडेरी भइरहेछ भन्ने थाहा छैन। पानी नपरेको महीनौँ बितिसकेको छ।

“हामीले वर्षा पर्खेरै महिना र ऋतु बित्यो। हाम्रा सबै चरण भूमी सुक्यो, पोखरीहरू सुके। हाम्रा गाईहरूलाई खानेकुरा थिएन। मैले बचत गरेको केही पैसाले घाँस किनेर तिनीहरूलाई जीवित राख्ने प्रयास गरेँ,” उनी भन्छन्, “तर, त्यो मेरो क्षमताभन्दा बाहिर थियो। अन्ततः मैले मेरा सबै गाईहरूलाई गाउँबाट करिब ५० माइल टाढाको मियो जिल्लामा लिएर गएँ। त्यहाँ पनि उस्तै अवस्था देखेर तुरुन्तै फर्किएँ। गाईहरू बाटोमै मर्न थाले। बाटैमा मैले एक सय ३० ओटा गाई गुमाएँ। खडेरीका कारण मैले मेरा ४० मध्ये ३० वटा बाख्रा गुमाएँ। अब मसँग १० वटा बाख्रा बाँकी छ।”

खडेरीका कारण मरेका आफ्ना गाईका अस्थिपञ्जरको माझमा मलिचा गायो।

खडेरीका कारण गायोको मात्रै होइन, उनको गाउँका करीब १० हजार गाई मरेका छन्। अझै मर्ने क्रम रोकिएको छैन। उनी आफ्ना गाईहरू मरेको घटना सम्झन चाहन्ननँ। त्यो घटना उनलाई दुःस्वप्न जस्तो लाग्छ। राती सुत्न पनि सक्दैनन्।

त्यति मात्रै होइन उनका जेठा छोराले पालेका सबै गाइवस्तु पनि मरेका छन्। गाउँमा हिँड्दा हरेक दिन ६÷७ वटा गाइ मरेको देख्छन्। अब उनीहरूको एउटै आश सरकारसँग छ। गाउँको पक्षबाट उनी सरकारलाई गुहार्छन्। उनी भन्छन्, “यो असहनीय अवस्था हो। अहिले हामीले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती भनेको खानाको अभाव हो। हाम्रो गाउँमा जताततै मानिस भोकै छन्। तर हामीले निकै कम सहयोग पाएका छौं। हामीलाई सरकारको थप सहयोग चाहिन्छ। ”

खानाको अभावमा मानिसहरू बसाइँ सर्ने तयारीमा पुगिसकेको गायो बताउँछन्। “हामीलाई अब के गर्ने थाहा छैन। हामी पशुपालक हौं र हाम्रा सबै गाईहरू मरे। गाउँका सबैजना अप्ठ्यारो अवस्थामा छन्। बालबालिका र वृद्धवृद्धाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। अहिले हामी दिनमा एकपटक मात्रै खान्छौँ,” उनी भन्छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved