सिर्जना-गर्भ

‘जहाँ छन् बुद्धका आँखा’को अन्तरकथा

त्यतिबेला म राष्ट्रिय कम्प्युटर केन्द्रमा कार्यरत थिएँ। एक जना सुबेदार मलाई खोज्दै आए। ती सुबेदारले सोधे, ‘बमबहादुर थापा को हुनुहुन्छ ?’
मैले आफ्नो परिचय दिएपछि सुबेदारले भने, ‘तपाईँलाई आर्मी हेडक्वार्टरमा बोलावट भएको छ, सवारी हुनुपर्‍यो।’

‘जहाँ छन् बुद्धका आँखा’को अन्तरकथा

१. जहाँ छन् बुद्धका आँखा…

यो गीत मैले १ वैशाख २०४४ मा लेखेको हुँ। रेकर्डिङको हिसाबले मेरो पहिलो गीत यही नै हो। रेकर्डिङ भएपछि यो गीत निकै चर्चित भयो। यही गीतको चर्चासँगै अरूले पनि मसँग राष्ट्रिय गीतहरू माग्न थाले।

लेख्न त मैले आधुनिक गीतहरू पनि लेखेको थिएँ तर गायक/संगीतकारले राष्ट्रिय गीत नै बढी मागे। मैले पनि राष्ट्रिय गीतहरू नै दिन थालेँ र अहिलेसम्म एक दर्जनभन्दा बढी नै मेरा राष्ट्रिय गीत रेकर्ड भएका छन्। केही राष्ट्रिय गीत छायांकन पनि भएका छन्।

यो गीत सिर्जना हुनुको पृष्ठभूमिमा तत्कालीन समयमा नेपाललाई शान्ति क्षेत्रको प्रस्ताव राखिनुसँग सम्बन्धित छ। राजा वीरेन्द्रले संयुक्त राष्ट्रसंघको महासभामा नेपाललाई शान्तिक्षेत्र घोषणा गरियोस् भनेर प्रस्ताव राखे। एक सयभन्दा बढी मुलुकले नेपालद्वारा राखिएको शान्ति क्षेत्रको प्रस्तावमा समर्थन जनाए। पछि ममा यही विषयमा गीतको रचनागर्भ पलाएको हो। त्यही परिकल्पनाअनुरुप मैले लेखेँ–

‘जहाँ छन् बुद्धका आँखा स्निग्ध, शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर…।’

अनुष्टुप छन्दमा लेखिएको यो गीत मैले एकै बसाइँमा लेखिसिध्याएको हुँ।

त्यही समयताक ‘सिपाही’ नामक पत्रिकाले मसँग रचना माग्यो। नेपाली सेनाद्वारा प्रकाशित उक्त पत्रिकाका निम्ति यो गीत सुहाउँदो ठानेँ र पठाएँ। सो पत्रिकाको अग्र पेजमा नै यो गीत छापियो।

‘सिपाही’ मा कुनै पनि रचना प्रकाशित भएपछि हरेक वर्ष मूल्यांकन गरेर पुरस्कृत गर्ने चलन रहेछ। वरिष्ठ साहित्यकार श्यामदास वैष्णवले मूल्यांकन गर्दा मेरो यो रचना सर्वोत्कृष्ट ठहरिएछ। तर, सेनाका एक जना जर्नेलको रचनालाई सर्वोत्कृष्ट बनाउनुपर्ने दबाब आएपछि मेरो कविता पुरस्कृत हुन सकेन।

मैले पुरस्कार नपाएपछि श्यामदास वैष्णवलाई निकै खिन्न महसुस भएछ। आफूले पुरस्कारका लागि सिफारिस गरेको रचना पुरस्कृत नभएपछि मूल्यांकनकर्तालाई तोड पर्नु स्वाभाविकै थियो। उहाँले सेनाको हेडक्वार्टरमा गएर रोष पोख्दै भन्नुभएछ, ‘सिर्जनामा यस्तो अन्याय गर्ने ? जर्नेललाई ग्रेड थपिदिए हुन्थ्यो नि ! प्रोत्साहन गर्ने अनेक ठाउँ छन्। सिर्जनामा घाँटी ङ्याक्न पाइन्छ ? बमबहादुर थापालाई मैले चिनेको पनि छैन। उनलाई अहिल्यै बोलाएर मसँग भेट गराउनुस्।’

त्यतिबेला म राष्ट्रिय कम्प्युटर केन्द्रमा कार्यरत थिएँ। एक जना सुबेदार मलाई खोज्दै आए। ती सुबेदारले सोधे, ‘बमबहादुर थापा को हुनुहुन्छ ?’

मैले आफ्नो परिचय दिएपछि सुबेदारले भने, ‘तपाईँलाई आर्मी हेडक्वार्टरमा बोलावट भएको छ, सवारी हुनुपर्‍यो।’

तत्कालीन समयमा म व्यंग्य कविता लेख्थेँ। व्यंग्य कविताको विभिन्न अर्थ लगाइन सक्थ्यो। केही डर मान्दै म ती सुबेदारको पछि लागेर गएँ। बाटामा ती सुबेदारले ‘श्यामदास वैष्णवले तपाईँलाई भेट्न चाहेकोले लिन आएको हुँ’ भनेपछि म ढुक्क भएँ।

हिँड्दै जाँदा सिंहदरबारको गेटमा श्यामदाससँग भेट भयो। वैष्णवसँग मलाई भेटाइदिएपछि ती सुबेदार अन्यत्र लागे र हामी रेडियो नेपालतिर गयौँ। श्यामदासले भन्नुभयो, ‘त्यो गीत लेखेर दिनुस् मलाई।’ मैले रेडियो नेपालको कौसीमा बसेर लेखेर सो गीत वैष्णवलाई दिएँ।

त्यसपछि वैष्णवले भन्नुभयो, ‘यस्तो रचनामाथि अन्याय गरियो। अब यो गीतलाई रेकर्ड गर्नुपर्छ। रेकर्ड गरेर तिनीहरूलाई देखाउनुपर्छ।’

त्यो दिन रेडियो नेपालमा उच्च तहका कुनै पनि कर्मचारीसँग भेट हुन सकेन। श्यामदास निकै रिसाउनुभयो र भन्नुभयो, ‘रेडियोका हाकिमहरू अफिसमा भेटिँदैनन्, कहाँबाट देश विकास हुन्छ ?’ लगत्तै वैष्णवले मलाई नेपाल टेलिभिजनमा लिएर जानुभयो। त्यो बेला नेपाल टेलिभिजनको महाप्रबन्धक नीर शाह हुनुहुन्थ्यो। नीर शाहलाई गीत दिँदै वैष्णवले भन्नुभयो, ‘यो गीत रेकर्ड गर्ने व्यवस्था मिलाउनुपर्‍यो।’

शाहले पूरै गीत पढ्नुभयो र भन्नुभयो, ‘बाफ् रे ! राष्ट्रिय गीत त यस्तो पो हुनुपर्छ। अरू कसैले रेकर्ड गर्न मानेनन् भने म आफ्नै खल्तीको पैसा हालेर भए पनि यो गीत रेकर्ड गराउँछु।’

शाहको हातमा यो गीत परेको दुई महिनाभित्रै रेकर्ड भयो। यो गीत शाहले भक्तराज आचार्यलाई गाउन दिनुभएछ। त्यसअघि मैले आचार्यलाई चिनेको थिइनँ।

तीन वटा संस्था रत्न रेकर्डिङ संस्थान, नेपाल टेलिभिजन र रेडियो नेपालले संयुक्त रुपमा रेकर्ड गरेको हुँदा यी तीनै संस्थाले आफ्नो हक लाग्ने कुरा उठाए। तत्कालीन समय निकै उच्च प्रविधिअनुरुप रेकर्ड गरिएको हुँदा यो गीत उच्च क्वालिटीको रह्यो।

२. आयो सारा युवक हो…

देशका युवाहरूलाई उत्प्रेरित गर्ने हेतुले मैले यो गीत लेखेको हुँ। रेडियो नेपालमा कार्यरत रहन थालेपछि मेरो गायिका मीरा राणासँग चिनजान भयो। एकदिन उहाँले भन्नुभयो, ‘तपाईँको एउटा राष्ट्रिय गीत चाहियो।’

राणासँग सल्लाह हुँदा युवाहरूलाई प्रोत्साहन गर्ने खालका युवा–गीत बनाउनुपर्‍यो कुरा उठ्यो। त्यही कारण मैले युवालाई लक्षित गरेर लेखेँ–

‘आओ सारा युवक हो ! फुलाएर छाती
राष्ट्रियता उचालेर लैजानु छ माथि….।’

यो गीतमा मीरा राणाले संगीत भर्नुभयो र यम बराललगायतले गाउनुभएको छ।

३. गाउँको शिर नउठेसम्म…

गाउँको विकास नभई मुलुकको विकास हुँदैन भन्ने भावमा मैले यो गीत लेखेको हुँ। सहरको मात्र विकास भएर मुलुकको विकास हुँदैन। गाउँको विकास भयो भने मात्र सहरको पनि स्वतः विकास हुँदै जान्छ। यही भावलाई झल्काउने गरी मैले लेखेँ–

‘गाउँको शिर नउठेसम्म खुल्दैन प्रकाश
गाउँको पीडा नहटेसम्म हुँदैन विकास…।’

४. अखण्ड देश यो बाँच्छ…

राष्ट्रिय अखण्डतामा तल–माथि हुने संकेत देखेपछि मैले यो गीत लेखेको हुँ।

पहिला नेपाल प्रज्ञा–प्रतिष्ठानबाट आयोजना हुने राष्ट्रिय कविता महोत्सवका लागि हरेक वर्ष वैशाख १ गते राजाले कविताको शीर्षक दिने चलन थियो। मैले त्यही शीर्षकअनुरुप लेखेँ, यो काव्य।

प्रज्ञा–प्रतिष्ठानमा कसरी पुरस्कार दिइन्छ भन्ने सबैलाई विदितै भएको विषय हो। मैले यो काव्य प्रतियोगिताका लागि पेश गरे पनि पुरस्कृत भने हुन सकेन। पुरस्कृत नभए पनि मैले यो गीत रेकर्ड गराएँ–

‘अखण्ड देश यो बाँच्छ, पौरखी जनशक्तिले
जीवन्त जनता त्यो हो, जो उठ्छ देशभक्तिले’

मैले अधिकांश देशप्रेम र राष्ट्रियतासम्बन्धी गीत लेखेँ। हुन त माया–प्रेमका गीतहरू पनि लेखेको छु तर ती गीतहरू रेकर्ड भएका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved