प्रिय पात्र

दुई उपन्यासका केही प्रभावशाली पात्र

‘एक चिहान’ को नायक र सबै पात्रहरू हार्छन् तर त्यो हार विराट प्रकृतिसँग सामान्य मान्छेको युगीन संघर्षलाई व्यापक विजय र प्रतिरोधी अडान दिलाउन सहादतको तहमा भएको छ। प्रकृतिसँगको युद्धमा साधनहीन मानव कहिलेकाहीँ हार्छ तर हारपछि लगत्तै मान्छेले नयाँ संघर्षयात्रा प्रारम्भ गर्छ।

दुई उपन्यासका केही प्रभावशाली पात्र

१. एक चिहान

मैले पढेका नेपाली उपन्यासहरूमध्ये हृदयचन्द्रसिं प्रधानको उपन्यास ‘एक चिहान’ मलाई मन पर्ने उपन्यास हो। हृदयचन्द्रसिं आफ्नो समय, परिवेश र समष्टि मानवतालाई साझा र न्यायपूर्ण एकता र समस्या समाधानको थेसिससाथ उपस्थित विख्यात शब्दकर्मी हुन्। हृदयचन्द्रले लेख्न थालेको समय पाश्चात्य आधुनिकता कोलाजमा आफ्नो वर्चस्वका लागि आमजनताको जनमुखी आवाज दबाउन र फरक चिन्तनलाई समाप्त गर्न एउटा व्यापक गठबन्धन सक्रिय भएको समय थियो। तर हृदयचन्द्रसिंले त्यसलाई स्वीकारेनन् र सामान्य मान्छेका सरोकार प्रत्यक्षतः उसकै पंक्तिबाट खोज्ने प्रयास रचनामा जारी राखे।

हृदयचन्द्रसिंको वर्गीय सरोकार, कृषि संस्कृतिको वकालत र चित्रण तथा प्रखर नेपाली जातीय चेतनाको उद्बोधनका कारण उनका ‘एक चिहान’ उपन्यास र यसका पात्रहरू नेपाली साहित्यमा अमर रहेका छन्। नेपालको प्रमुख आर्थिक, सामाजिक आधार कृषि र कृषकहरूका समस्या, भूस्वामित्व र श्रम संस्कृतिको गहन चित्रणका उनी एक मात्र लेखक हुन्। विवाह, दाइजो, शोषण, संघर्ष, रुढी, परम्परा र आत्मसम्मानको व्यापक फलक मात्र होइन, वर्गीय स्वार्थमा निकै प्रगतिशील कदम चालेको मौलिक चित्रणसमेत गर्न उनले सफलता पाएका छन्। ‘एक चिहान’ उपन्यास मूलतः परम्परागत सामाजिक व्यवस्थालाई छोडेर समयोचित आदर्श, उदार र राष्ट्रिय दृष्टि ग्रहण गर्ने आग्रहमा निर्मित छ।

हृदयचन्द्रसिं प्रधानका प्रत्येक रचनामा निम्न वर्गको आक्रोश र सरोकारले आवाज मुखरीत गरेको छ। वैचारिक रुपले नबाँधिए पनि सामाजिक रुपान्तरणको छट्पटी उनका रचनामा ठम्याउन सकिन्छ। पात्रहरूको निर्माण, चित्रण र तिनीहरूको सोचाइ आदर्शोन्मुख र सुधारवादी रहेता पनि पात्रहरू हृदयचन्द्रका आग्रह बमोजिम बढी एकोहोरा र कताकता कृत्रिम जस्तो देखिए पनि मूलतः हृदयचन्द्र नेपाली कृषि जीवनको अनेक पक्षको चित्रण गर्न सफल देखिएका तथा निम्न वर्गको हितमा सामाजिक सुधार गर्न सिद्धान्ततः अग्रसर रहेका देखिन्छन्। ‘एक चिहान’ उपन्यास जमिनसँग जोडिएको कृषि अर्थतन्त्रमा समतामूलक चिन्तन र नेपाली जातिमा एकतामार्फत नेपाली संस्कृतिको ऐक्यवद्धताको सपनासँग जोडिएको छ।

‘एक चिहान’ उपन्यासको मूलनायक अष्टनारां र जेठा छोरा शिवनारां मात्र होइन आम पात्र लालमाया, अन्य छोरा र बुहारीसमेतको मेलमिलाप र चिन्तनमा एकै खालको आदर्श देखिन्छ। अष्टनारां आफ्ना छोराहरूको बिहेमा कुनै तडकभडक नगर्ने मात्र होइन, काठमाडौंको रैथाने ज्यापु परिवारमा धमाधम गैरनेवारे बुहारीहरू भित्र्याउँछन्। जति मिहिनेत गरे पनि विराट प्रकृतिको कोपमा उसको अर्थतन्त्र प्रताडित हुँदै जान्छ। तर पत्नी र छोरा–बुहारीलाई आर्थिक भार नथपियोस् भनेर उसले आफ्नो अन्त्येष्टिलाई जोगाएको २५ रुपियाँ मोहरले नै आफ्नो अन्त्येष्टिको खर्च पूरा होस् भन्ने उदात्त भावना राखेको छ। अष्टनारांको मृत्युपछि पनि उसको परिवारले त्यो आदर्श छोड्दैन। सामन्ती डाक्टर गोदन्तमानको गर्भ बोकेकी नानी थकुँलाई त्यसको घरबाट फिर्ता गरेर तराईबासी रामखेलावन राउतसँग बिहे गराउने र बिहेमा आडम्बर, फजुल खर्च र बेकारको स्वाङ गर्ने परम्परालाई तोडिएको छ।

आफ्ना भाइ हर्षनारांको तामाङ्नी युवतीसँग बिहे गर्दा दाइजोमा प्राप्त डोको, नाम्लो र हँसियाजस्ता पर्वते साधनहरूलाई काठमाडौंको खर्पन, नोल र कोदालीको साथ सुहाएर नेपाललाई हँसाउने कोसिस गर्ने आग्रह आफैँमा एकता र समन्वयको चिन्तनमा आधारित रहेको छ। नानी थकुँलाई रामखेलावन राउतसँग बिहे गर्दा उनीहरूले दाइजोस्वरुप दिएका एकजोर चर्खा, हँसिया, कुटो, कोदालो, कोदाली, डल्लेरी र ज्वाइँ रामखेलावन राउतलाई उपहार दिएको एकजोर खर्पन, डोको, डालो, कुटो, कोदालो, खुकुरी, भादगाउँले टोपी र नेपालको नक्साले नेपाल राष्ट्रको भावनालाई एकीकरण र कृषक–मजदुर वर्गको सांस्कृतिक उभारको नयाँ थेसिसको रचना हुन पुगेको छ। यी कारणहरू अष्टनारां र शिवनारां जस्ता पात्रहरूलाई पृथक पात्रको रुपमा माया गर्न यथेष्ट ठानेर मैले अष्टनारां र शिवनारां जोडी पात्रलाई मन पराएको हुँ।

पैसाको बलमा विवाह गर्न प्रलोभन दिने सुखा सुरमानको बहिस्कार र ललाइफकाई नानी थकुँलाई भगाए पनि फेरि फिर्ता गर्न बाध्य डा. गोदत्तमानजस्ता सामन्तवादी संस्कृतिका प्रतिक पात्रहरूलाई गरिएको तिरस्कारले वर्गीय चेतनाको एक पक्षको वकालत गर्छ। नेपालको कृषि संस्कृतिमा आधारित उपन्यासहरू एकदम कम लेखिएका छन्। काठमाडौंको मौलिक र विशिष्ट कृषि संस्कृति त झनै विलुप्त हुने अवस्थामा छ। यस्तो समयमा हृदयचन्द्रले काठमाडौंको कृषि संस्कृतिको समग्र संघर्ष, पीडा र आशावादको जगमाथि आफ्नो उपन्यासको जग राखेका छन्।

‘एक चिहान’का पात्रहरू सबै आफ्नाजस्ता लाग्छन्। तिनको बोली र सोचमा केही कृत्रिमता देखिए पनि तिनको नियत, परिश्रमी व्यवहार, नेपालको भौगोलिक स्थितिप्रतिको समन्वयवादी दृष्टि, पहाड, काठमाडौं र मधेसको जातीय समन्वय गर्ने चिन्तन, बिहे गर्ने विषयमा प्रेम र सद्भावलाई स्वागत, मिहिनेत गर्ने वर्गको परम्परागत खर्चिलो व्यवहारको अन्त गरेर समाज सुधार गर्ने ध्येयजस्ता उदात्त व्यवहारको कारण ‘एक चिहान’ उपन्यास र यसका पात्रहरू नेपाली जातीय संस्कृतिका प्रतिक पात्र हुन पुगेका छन्।

सामान्यतः प्रगतिशील रचनामा नायकको हार हुँदैन। तर ‘एक चिहान’ को नायक र सबै पात्रहरू हार्छन् तर त्यो हार विराट प्रकृतिसँग सामान्य मान्छेको युगीन संघर्षलाई व्यापक विजय र प्रतिरोधी अडान दिलाउन सहादतको तहमा भएको छ। प्रकृतिसँगको युद्धमा साधनहीन मानव कहिलेकाहीँ हार्छ तर हारपछि लगत्तै मान्छेले नयाँ संघर्षयात्रा प्रारम्भ गर्छ। मान्छे अजेय छ र प्रकृतिप्रदत्त सम्पत्तिमाथि समान हकको हकदारी छ। तर पुँजीवादी अपसंस्कृतिले गरिब र धनीको निरन्तर सृष्टि गरिरहन्छ। गरिब र धनी दुई आर्थिक अवस्था मात्र होइनन्, दुई संस्कृतिका प्रतीक पनि हुन्।

साधन र स्रोतमा पहुँचको प्रश्न मात्र होइन, समानताको हक र जातीय तथा भौगोलिक फरकपनबाट मुक्त नयाँ नेपाली समाजको निर्माणको प्रश्न पनि यस उपन्यासमा जोडिएको छ। साझा पात्रहरू वर्षादको कारण घर भत्केर ‘एक चिहान’ हुन्छन्। वि.सं. २०१७ सालमा प्रकाशित उपन्यास ‘एक चिहान’ पछिको नेपाली समाजको हृदयचन्द्रसिंको प्रारुपमा नेपाली राष्ट्रको भाग्य र भविष्य अडिएको छ।

२. धरती अझै बोल्दैछ

प्रकाशनको समयतिरै पढेर त्यस समयदेखि अहिलेसम्म पनि मलाई मन परेको स्टाइलिस उपन्यास ‘धरती अझै बोल्दैछ’ का नायक देव हुन्। उपन्यासकारले देवमार्फत् पहाडबाट मधेश झरेका मान्छेहरूका दुःख–सुख, अज्ञान, गरिबी, रुढिवादी चिन्तन र तत्कालीन सत्ताका चाकरहरूका अन्यायपूर्ण, गैरकानूनी तर सत्तास्वीकृत विकृतियुक्त व्यवहार, समाजको बदलिँदो सोच र परिवर्तनको चाहना व्यक्त गरेका छन्।

पूर्वी पहाडबाट धरान झरेर आरा काटेर कमाएर घरको आर्थिक अवस्था सुधार्ने चाहनाले सक्रिय युवकहरूका दुःख, मृत्यु र शोषणका अनेक गाथाहरू पस्केर अधिकारीले राणाकालीन अन्तिम समयतिरको सामाजिक इतिहासलाई जीवन्त तुल्याएका छन्। तसर्थ यो उपन्यासलाई तिथिमिति नतोकिएको नेपाली समाजको परिवर्तनको इतिहास भन्दा फरक पर्दैन। उपन्यासमा चित्रित समय वि.सं. १९९० भन्दा अगाडिको औपचारिक संस्कृत तथा अंग्रेजी शिक्षा प्रदान गर्ने विद्यालय स्थापना भइनसकेको समयको पूर्वी पहाड हो भन्न सकिन्छ।

पूर्वी पहाडका केही राणा दरबारमा पहुँच भएका सामन्तहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही लगायत जिल्लामा आवाद क्षेत्रमा खेती गर्न र चारकोसे झाडीको विशाल वन, सिमसार समेत चुरे पहाड र महाभारत शृंखलामा रहेका अमूल्य रुखपात, जडीबुटी र खानीजन्य वस्तुहरूको उत्खनन र ब्रिटिस–इन्डियाका सामन्तसँग मिलेर निकासी गर्न यस क्षेत्रमा योजनाबद्ध बसाइएका थिए। दक्षिण अमेरिकाको अमेजन जंगलजस्तै मेची–महाकालीको चुरे, महाभारतसँग जोडिएका तराईका जंगल भारत, पाकिस्तान, बंगलादेश, भुटान र चीनकै लागिसमेत जीवनदायी रहेका तथ्यको जानकारी भए पनि यसबाट कमाउन बेलायती साम्राज्यवादीहरूले छोडेनन्।

बेलायतले उपनिवेश रहेको भारत छोडेर गएपछि पनि बेलायती तालिममा हुर्केका रैथाने शासकहरूले यसको संरक्षणभन्दा मासेर भारतको रेल्वे लिक तथा औद्योगिक र आवासीय प्रयोजनमा प्रयोग गर्ने सोचले राणाहरू र राणाहरूपछिको शासकहरूलाई घुस खुवाई वा अन्य प्रभावमा पारी नेपाली अग्राख, सिसौ, खयर, सिमललगायतका काठ प्राप्त गर्दै रहे। यसै समय साँघुरो गजको रेल चलाएर यस क्षेत्रका ढुंगा झन्डै असी वर्ष निरन्तर दिनमा एक, दुई वा तीन पटकसम्म भारतमा दिन राणाहरूभन्दा पनि कांग्रेसी शासन धेरै सहयोगी देखियो। कमाउ धन्दाका लागि त्रिभुवन, महेन्द्र, वीरेन्द्रलगायतका राजाहरू पनि सहयोगी नै देखिए।

हजारौं वर्षमा प्राकृतिक रुपले निर्मित हिमाल, पहाड र मधेशका लागि जडिबुटी, पानी र वातावरण सन्तुलनमा अपरिहार्य यो महान् जंगल र प्राकृतिक स्रोत, साधनको दोहनले अहिले नेपालमा केही कम र भारतमा निकै ठूलो मात्रामा बाढी, पहिरो र भूक्षयको जोखिम बढ्दो छ। पानीका स्रोत सुक्दै गएका छन् र वातावरणीय असन्तुलन फैलँदो छ। उपन्यासले हालको धरान सहरको प्रारम्भकालीन समयमा त्यहाँको वातावरण र काठ कटनी र चिरानीको व्यापक तस्वीर खिचेका छन्।

उपन्यासका नायक देव, खलनायक रहेका उनका फुपा नाता पर्ने कप्तान साहेब भनिने सामन्त र विधवा भएर पनि प्रेममा परेकी जमुनाको त्रिभुजाकार व्यक्तित्व र चरित्र अत्यन्त वाचाल रहेको छ। मलाई मन पर्ने पात्र देवका पिताको धरानमा चेपिएर भएको मृत्युको समयको चित्रणदेखि उनको हुर्काइको क्रममा आएका परिवर्तनहरू जति तीव्र रुपमा अघि बढ्छन्, त्यससँगै नेपाली समाज र राजनीतिको गतिमा पनि परिवर्तन आएको कुरा इतिहासमा वर्णित घटनाहरूबाट स्पष्ट हुन्छ।

देव एकदम मितभाषी त छ तर उसको मनभित्र घटना–दुर्घटनाका चक्रहरू, भावी जीवनका रुमानी सपनाहरू, पढ्ने र सम्मानित जीवन बाँच्ने चाहना तथा यथास्थितिबाट मुक्त हुने चाहनाको गतिमान यात्रा जारी छ। त्यो बेला बाहुन–क्षेत्री समाजमा वर्जित विधवा विवाहको हिम्मत गर्ने देव घर निकाला भएपछि जमुनाको आत्महत्याको हल्ला सुनी लुकिछिपी जमुनाको घरतिर जाँदा देखेको तस्वीर र त्यस समयमा पनि बंगाली मास्टरको नयाँ समयको चेतना खुलेको एकालाप ‘समाज आफूले लिएको मध्ययुगी रुढिवादी क्रुरताको लत आफ्ना सन्तानहरूलाई दिनहुँ मर्न बाध्य गराउँदो छ…तर एकदिन यस्तो पनि आउने छ, समाज आफ्ना यी क्रुर व्यवहारलाई हेरेर आफैँ छाड्ने छ…’ ले नेपाली समाजको उपन्यास लेखिएको समयलाई राम्ररी प्रतिनिधित्व गर्छ। देव आफैँ पीडित छ, आश्रयहीन छ तर उसको यात्रा सामन्तवादको अग्निपथमा पनि निरन्तर अघि बढ्छ। उपन्यासको अन्त्य यही अवस्थामा हुन्छ।

कालो समयमा रंगीन सपना देखेर अघि बढ्ने देव वास्तवमा नेपाली राजनीतिमा अग्रगामी अनुहार हो। डीपी अधिकारी स्वयं कम्युनिष्ट पार्टीका जिम्मेवार नेता र साहित्यकार रहेका कारण उनले नेपाली समाजको मिहिन चित्र खिच्ने क्रममा देवको उत्खनन गरेका छन्। पूर्वी पहाडको जागरण, पहाडबाट मधेशतिरको स्थानान्तरण र सामाजिक परिवर्तनको केन्द्रका रुपमा देवले नेपाली समाजको कालो समयबाट अग्रगामी यात्राको नेतृत्व गर्छ। पात्र र चरित्रका रुपमा देवको उपस्थिति आशावादी भविष्य र अग्रगामी यात्राको संकेतको प्रतिरुप रहेका कारण नेपाली उपन्यासमै महत्वपूर्ण पात्रको रुपमा देवलाई लिनुपर्छ भन्ने मलाई लाग्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved