धुलिखेल अस्पतालमा पहिलो पटक बंगाराको दुवै जोर्नी प्रत्यारोपण सफल, युवतीको मुहारै फेरियो

मुख खोल्न, चपाउन, बोल्नका लागि नभै नहुने कानको नजिकै (कन्चट) मा जोडिएको दुवैतर्फको जोर्नीमा गम्भीर क्षति पुगेको एक युवतीको शल्यक्रियामार्फत् सफल प्रत्यारोपण गरिएको हो।

नेपालभ्युज

धुलिखेल अस्पतालमा पहिलो पटक बंगाराको दुवै जोर्नी प्रत्यारोपण सफल, युवतीको मुहारै फेरियो

काठमाडौं। नेपालमा धेरै मानिसमा लड्दा च्यापु ठोकिएर हुने मुखको गम्भीर समस्याको पहिलो पटक धुलिखेल अस्पतालमा शल्यक्रिया सफल भएको छ। मुख खोल्न, चपाउन, बोल्नका लागि नभै नहुने कानको नजिकै (कन्चट) मा जोडिएको दुवैतर्फको जोर्नीमा गम्भीर क्षति पुगेको एक युवतीको शल्यक्रियामार्फत् सफल प्रत्यारोपण गरिएको हो।

काठमाडौं कपन निवासी २२ वर्षीय युवती ज्योत्सनाल अर्यालको (टेम्पोरोमन्डिबुलर जोर्नी प्रतिस्थापन) शल्यक्रियामा धुलिखेल अस्पताललाई सफलता मिलेको हो। झन्डै ८ घण्टा लगाएर गरिएको शल्यक्रियापछि युवतीको मुहारै फेरिएको छ।
डा. चन्दन उपाध्यायको नेतृत्वमा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका डा. आलोक सग्तानी, त्रिवि शिक्षण अस्पतालका डा. आशुतोषकुमार सिंह र काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसका डा. नितेश चौरसिया, डा. सनद दुलाल र डा. ममता शाक्यको टोलीले शल्यक्रिया गरेको हो। धुलिखेल अस्पतालमै रहेको मेसिनमार्फत थ्रीडी प्रिन्ट गर्नाले शल्यक्रिया सफल, वास्तविक र प्रभावकारी भएको डा. चन्दनको भनाइ छ। उनका अनुसार बिरामी ६ महिनासम्म चिकित्सकको निगरानीमा बस्नुपर्छ।

अस्ट्रेलियाको स्माइल हाई फाउन्डेसनले उपचारका लागि सघाउँदै आएको छ । शल्यक्रियापछि खुसी व्यक्त गर्दै ज्योत्सनाले मःमः सिङ्गै खाने इच्छा भएको बताइन्। ‘‘पहिला मःमःको किमा निकालेर सानो सानो बनाएर खानुपर्थ्यो, पुरै निको भएपछि मःमः सिङ्गै खान्छु,’’ उनले भनिन् ।

डा. चन्दन उपाध्यायको नेतृत्वमा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका डा. आलोक सग्तानी, त्रिवि शिक्षण अस्पतालका डा. आशुतोषकुमार सिंह र काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसका डा. नितेश चौरसिया, डा. सनद दुलाल र डा. ममता शाक्यको टोलीले शल्यक्रिया गरेको हो।

ज्योत्सना अर्यालको शल्यक्रिया गर्नुअघि मुख खोल्न नसकेको अवस्था र शल्यक्रिया गरेपछि पछि मुख खोल्न सकेको अवस्था

यसरी भएको थियो बंगारामा क्षति

ज्योत्सना अर्याल साढे २ वर्षको उमेरमा लडेकी थिइन्। उनी बागलुङ जिल्लामा लडेकी थिइन्। लडेपछि उनको च्यापुको हड्डीमा चोट लागेको थियो। उनको कन्चटमा रहेको दुवै भागको जोर्नीमा असर परेको र नाक र कानबाट रगत बगेको अवस्थामा उपचार सम्भव नभएको भनियो। पछि बिस्तारै ज्योत्सनाको मुख खुल्नै गाह्रो हुनुका साथै च्यापुनै सानो हुँदै गयो।

१२ वर्षको उमेरमा बीएण्डबी अस्पतालमा पुन परीक्षण गर्दा उनको मुख खोल्दा चल्नुपर्ने जोर्नी कन्चटमा रगत जमेर हड्डी बनेर जोर्नी नै पुरिएको पत्ता लाग्यो। चिकित्सकको सल्लाह अनुसार छोरीको मुख खोल्न सहज बनाउनका लागि बीएण्डबी अस्पतालमा शल्यक्रिया गरियो। केही समय मुख खोल्न अलि सहज भए पनि पुनः पहिलाकै अवस्थामा कन्चटभित्रको जोर्नीमा हड्डी जोडिएछ। पहिलो शल्यक्रियामा सफलता नमिलेपछि धुलिखेलमा उपचार गरिएको हो।

१३ वर्षयता मुख खोल्न नसकेकी ज्योत्सनाले अब मःमः सिङ्गै खाने इच्छा भएको बताइन्। ‘‘पहिला मःमःको किमा निकालेर सानो सानो बनाएर खानुपर्थ्यो, पुरै निको भएपछि मःमः सिङ्गै खान्छु,’’ उनले भनिन् ।

बंगाराको दुवै जोर्नीसहितको मेटल, जुन ज्योत्सनाको च्यापुमा प्रत्यारोपण गरिएको हो।

ज्योत्सनाका बुबाले भने – अस्पतालले छोरीलाई पुनर्जन्म दियो

धुलिखेल अस्पताल काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज (कुम्स ) को ओरल एण्ड म्याक्सिलोफेसियल सर्जरी विभागका प्रमुख प्रा.डा.चन्दन उपाध्यायको सहयोगमा आफ्नो छोरीले पुनर्जन्म पाएको ज्योत्सनाका बुबा महेन्द्र अर्यालले बताए। उनी भन्छन् ‘‘२० देखि २५ लाख पर्ने उपचार रहेछ तर अस्पतालले मेटल निःशुल्क उपलब्ध गराएकै कारण उपचार सकिँदा १ लाखको हाराहारीमा मात्र खर्च भयो, छोरीलाई हामीले पहिलो जन्म दिएपनि दोस्रो जन्म धुलिखेल अस्पतालले दियो। धन्यवाद।’’

डा.चन्दन उपाध्यायका अनुसार दुवैपट्टिको ज्वाईन्ट फेरेको धुलिखेल अस्पतालको पहिलो बिरामी ज्योत्सना नै हुन्। डा.उपाध्यायले भने, ‘‘यो हाम्रो लागि पनि नयाँ हो। यस्तो समस्या बाल्य अवस्थामा बालबालिका लड्दा अनुहार तथा च्यापुमा चोट लागेका कारण बढी हुन्छ । बाल्यकालमा लागेको चोटको असर उमेर बढ्दै जटिल बन्दै जान्छ। उमेर बढेसँगै कतिपयलाई मुख खोल्नै नसक्ने अवस्था आउँछ। ज्याईनटमा जमेको रगत हड्डीसँग जोडिएर कडा हड्डी नै बन्दा यस्तो समस्या आउँछ। समयमै समस्याको पहिचान गरे उपचार सम्भव छ।’’

‘‘२० देखि २५ लाख पर्ने उपचार रहेछ तर अस्पतालले मेटल निःशुल्क उपलब्ध गराएकै कारण उपचार सकिँदा १ लाखको हाराहारीमा मात्र खर्च भयो, छोरीलाई हामीले पहिलो जन्म दिएपनि दोस्रो जन्म धुलिखेल अस्पतालले दियो। धन्यवाद।’’

उपचारमा संलग्न चिकित्सकको समूह

यसरी भयो उपचार

उपचारको लागि विदेशी अस्पतालको समेत सहयोग लिनुपरेको डा.उपाध्यायले बताए। धुलिखेल अस्पतालले ज्योत्सनाको समस्याका बारेमा कोभिड १९ शुरु हुनु पहिला नै अस्ट्रेलियाको मेलबर्नमा उनको फोटो खिचेर पठाएको थियो। कोभिडले गर्दा अस्ट्रेलियाबाट उक्त प्रविधि सहितको मेटल लिएर अस्ट्रेलियाबाट धुलिखेल अस्पतालमा आउने भनिएको थियो।

मेडिकल टिममा ट्रेवर मोइलको पहलमा डा. एन्ड्रयु हेगी, डा .रिकी कुमार आउन नसके पनि अस्ट्रेलियाबाट नेपाल आउने व्यक्तिका हातमा मेटल पठाएर थ्रीडीको फोटो प्रिन्ट गरी आदान प्रदान गरिएको थियो। डा.उपाध्यायले भने, ‘‘पटक पटक भिडियो बैठकमा बस्यौ। त्यही फोटोको आधारमा अस्ट्रेलियाको टीमले मेटल बनायो। ३ वर्ष अघि तयार पारेको मेटल यही वैशाख २० गते धुलिखेल अस्पतालमा सफलतापूर्वक प्रत्यारोपण गर्न सफलता मिल्यो। ज्योत्सनाको बंगाराबाट कन्चटमा जोडिएको जोर्नीले मुख खोल्ने, दाँतले चपाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved