यदुनाथ खनाल प्रवचन श्रृंखला आयोजना गर्दै परराष्ट्र मन्त्रालय

घिल्लो सरकारले घोषणा गरेको कार्यक्रम आयोजना गर्ने बताउँदै आएको यो सरकारले यदुनाथ खनाल प्रवचन कार्यक्रम गर्न लागेको हो।

नेपालभ्युज

यदुनाथ खनाल प्रवचन श्रृंखला आयोजना गर्दै परराष्ट्र मन्त्रालय

काठमाडौं। परराष्ट्र मन्त्रालयले २४ जेठमा यदुनाथ खनाल प्रवचन कार्यक्रम अन्तर्गतको पहिलो संकरणको कार्यक्रम आयोजना गर्दैछ। ‘नेपालको परराष्ट्र नीतिः भूत, वर्तमान र भविष्य’ विषयक कार्यक्रममा प्रध्यापक सूर्य प्रसाद सुवेदीले आफ्नो मन्तव्य राख्नेछन्।

नेपालको परराष्ट्र नीतिमा सरदार यदुनाथ खनालले पुर्‍याएको योगदानको कदर गर्दै सरकारले उनको नाममा प्रवचन कार्यक्रमको आयोजना गर्न लागेको हो।

प्रत्येक वर्ष आयोजना गर्ने गरी सरकारले यदुनाथ खनाल प्रवचन कार्यक्रम यसै वर्षबाट आयोजना गर्न लागेको हो। नेपालको परराष्ट्र नीति, आर्थिक कूटनीति लगायतका विषयमा कार्यक्रममा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालको परराष्ट्र नीतिका क्षेत्रमा काम गरेका विभिन्न मानिसको सहभागीतामा कार्यक्रम आयोजना गर्न लागिएको हो। यसअघि १० जेठमा परराष्ट्र मन्त्रालयले पहिलो पटक परराष्ट्र सेवा दिवस मनाएको थियो। परराष्ट्र मन्त्रालय औपचारिक रुपमा स्थापना भएको दिनलाई स्मरण गर्दै सरकारले उक्त दिनलाई परराष्ट्र सेवा दिवसका रुपमा मनाउने निर्णय गरेको छ।

यसअघिका केपी ओली सरकारले अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको सहभागीतामा नेपालमा ‘सगरमाथ संवाद’ कार्यक्रम सञ्चालन गर्ने बताएको थियो। कोभिड महामारीका कारण कार्यक्रम सञ्चालनमा आउन सकेको थिएन। अन्तर्राष्ट्रिय सम्बन्धका विविध विषयमा छलफल हुने गरी विश्वका विभिन्न देशमा यस्ता कार्यक्रम सञ्चालन हुँदै आएकोमा नेपाललृे पनि सगरमाथा संवादका रुपमा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको थियो।

अघिल्लो सरकारले निर्णय गरेको सगरमाथ संवादलाई निरन्तरता दिने बताएको अहिलेको सरकारले कार्यक्रमको मिति भने तय गरेको छैन। विश्वमा कोभिड महामारीको दर कम हुँदै गएको छ। कोभिड महामारीका कारण भर्चुअल रुपमा सञ्चालन हुँदै आएका कार्यक्रम फेरि भौतिक उपस्थितिमा नै सञ्चालन हुन थालेका छन्।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने रायसिना डायलग कार्यक्रम पनि कोभिड महामारी कम भएसँगै यो वर्ष सञ्चालनमा आएको थियो। चैत २०७८ मा दिल्लीमा उक्त कार्यक्रम सञ्चालन भएको थियो।

नेपाल सरकारले घोषणा भइसकेको सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने बताए पनि तयारी भने खास भएको पाइँदैन। अघिल्लो सरकारले घोषणा गरेको कार्यक्रम आयोजना गर्ने बताउँदै आएको यो सरकारले यदुनाथ खनाल प्रवचन कार्यक्रम गर्न लागेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved