रञ्जन कोइरालालाई सेन्ट्रल जेल पठाइयो, सुविधायुक्त भद्रगृह कारागारमा राखिने

कोइरालाले २७ पुस, २०६८ मा पत्नी गीता ढकालको बूढानीलकण्ठस्थित आफ्नै घरमा हत्या गरेका थिए। उनले श्रीमती गीताको हत्या गरेर लासलाई टुक्राटुक्रा पारी काठमाण्डूबाट मकवानपुरको जङ्गलमा पुर्‍याएर जलाएका थिए।

नेपालभ्युज

रञ्जन कोइरालालाई सेन्ट्रल जेल पठाइयो, सुविधायुक्त भद्रगृह कारागारमा राखिने

काठमाडौं। पत्नी हत्या आरोपमा दोषी ठहर भएका पूर्वडीआईजी रञ्जन कोइरालालाई सेन्ट्रल जेल पठाइएको छ। काठमाडौं जिल्ला अदालतले सोमबार कैदी पुर्जी जारी गरी कोइरालालाई सेन्ट्रल जेल जगन्नाथ देवल पठाएको हो।

सेन्ट्रल जेलका जेलर डोरेन्द्र निरौलाले कोइरालालाई सोमबार कारागार कार्यालय जगन्नाथ देवल ल्याइएको र हाल भद्र गृहमा राखिने बताए। भद्र गृह कारागार कार्यालय जगन्नाथ देवलको सुविधायुक्त कारागार हो।

कोइरालाले २७ पुस, २०६८ मा पत्नी गीता ढकालको बूढानीलकण्ठस्थित आफ्नै घरमा हत्या गरेका थिए। उनले श्रीमती गीताको हत्या गरेर लासलाई टुक्राटुक्रा पारी काठमाण्डूबाट मकवानपुरको जङ्गलमा पुर्‍याएर जलाएका थिए। उक्त घटनामा दोषी ठहर गरी जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोहम्मद जुनैदले ७ वैशाख २०७१ मा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए।

उक्त फैसलालाई २३ मंसिर, २०७२ मा पाटन उच्च अदालत पाटनले पनि सदर गरिदिएको थियो। तर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले १५ असार २०७८ मा कोइरालाको इजलासले सजाय घटाउँदै ८ वर्ष ६ महीना कायम गरेको थियो।

कैद घटाइदिएपछि उनी रिहा भएकोमा गत १२ जेठमा सर्वोच्च अदालतले आफ्नै फैसला उल्टाउँदै उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। उक्त फैसलापछि १३ जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोइरालालाई बानेश्वरको एउटा घरमा लुकिरहेको अवस्थामा पक्राउ गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved