संसदमा राजेन्द्र लिङ्देनले उठाए अस्पतालको बिलदेखि खाडी पलायनसम्मका विषय

उनले भने, ‘‘हाम्रोतिर मानिसहरू भन्छन् अस्पतालले उपचार गरेर हाेसमा ल्याए पनि बिल सुनेर फेरि बेहोस हुनुपर्छ। जनताको स्वास्थ्यको बारेमा हाम्रो नीति कार्यक्रमले कहाँनेर छोयो ?’’

नेपाल भ्यूज

संसदमा राजेन्द्र लिङ्देनले उठाए अस्पतालको बिलदेखि खाडी पलायनसम्मका विषय
फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा अस्पतालको बिलदेखि, पाठ्यपुस्तक अभाव, बढ्दाे वैदेशिक राेजगारी र मलसम्मको विषय उठाएका छन्।

शुक्रबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै अध्यक्ष लिङ्देनले जनताको स्वास्थ्य र समस्या सरकारले नीति तथा कार्यक्रममा नसमेटेको आरोप लगाए।

‘‘अस्ति भर्खरै हामीले कोरोनाको सामना गर्‍यौँ। अस्पताल जाँदाखेरी घरजग्गा जान्छ भन्ने डरले मानिसहरू घरमै मर्नुपर्‍यो। अस्पताल गएकाहरू अस्पतालमै मरे। उनीहरूको ज्यान मात्रै गएन घरजग्गा पनि गयो’’, उनले भने, ‘‘हाम्रोतिर मानिसहरू भन्छन् अस्पतालले उपचार गरेर हाेसमा ल्याए पनि बिल सुनेर फेरि बेहोस हुनुपर्छ। जनताको स्वास्थ्यको बारेमा हाम्रो नीति कार्यक्रमले कहाँनेर छोयो ?’’

उनले नेपाली युवाहरू परिवार पाल्नकै लागि बिदेसिनुपरेकाे तर याे राेक्नका लागि नीति कार्यक्रमले कुनै पनि याेजना समेट्न नसकेकाे पनि बताए। ‘‘जुन देशको जनसंख्या तीन करोड पुगेको छैन भनिन्छ, त्यो देशकाे पचासौँ लाख युवकहरू केवल परिवार पाल्नका लागि अरबको मरुभूमि र मलेसियाको जंगलमा रगत पसिना बगाउन बाध्य छन्’’, उनले भने, ‘‘दिल्ली, गुजरात, पञ्जाबमा नारकीय जीवन बिताउन बाध्य छन् कति युवाहरू। यसकाे हिसाब कसले राखेकाे छ ?’’

देशभित्रै गरिखाने वातावरणको निर्माण गर्नेतर्फ नीति तथा कार्यक्रमले कहाँनेर छोयो ? उनीहरूलाई कहाँनेर छुन्छ, कहाँनेर भेट्छ ? पैसा नभएका, सीप नभएका, बलमात्र भएकाहरू पेट पाल्नका लागि दिल्ली पञ्जाब गुजरात जानुपर्ने, ऋण काढ्न सक्नेहरू मलेशिया र अरब जानुपर्ने अनि योग्यता क्षमता भएका राम्रा पढेकाहरू यूरोप अमेरिका अष्ट्रेलियालगायत देशहरूमा जानुपर्ने यो स्थितिले देशको कस्तो तस्वीर देखाउँछ ? उनले संसदमा प्रश्न गरे।

यस्तै लिङ्देनले  नीति कार्यक्रमले किसानको समस्या समेत सम्बोधन गर्न नसकेको बताए। किसानले पैसा तिरेर एकबाेर युरिया मलसमेत किन्न नसक्ने अवस्थाकाे समाधान सरकारकाे नीति कार्यक्रमले दिन नसकेकाे उल्लेख गरे।

उनले शैक्षिकसत्र शुरु भइसक्दा समेत पाठ्यपुस्तक विद्यार्थीसम्म पुग्न नसक्नु दुःखद भएको बताए। उनले भने, ‘‘अहिले शैक्षिक सत्र शुरु भइसक्यो, तर पाठ्यपुस्तक पुगेको छैन ? खै पाठ्यपुस्तकको सुनिश्चितता ? हामी अहिले जनतासँग धेरै टाढा भइसक्यौँ।’’

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved