उपमेयर चुनिएपछि सुनिता डङ्गोलले मतदातालाई दिइन् धन्यवाद

काठमाडौँ महानगरपालिकी नवनिर्वाचित उपमेयर सुनिता डङ्गोलले राजनीतिलाई फोहोरी खेल भन्दै निराश बनेका युवाहरूको मनोविज्ञानले पनि आशाको दियो बाल्दै अघि बढ्ने प्रतिबद्धता जनाएकी छिन्।

नेपालभ्युज

उपमेयर चुनिएपछि सुनिता डङ्गोलले मतदातालाई दिइन् धन्यवाद
फाइल तस्वीर

काठमाडौं। काठमाडौँ महानगरपालिकी नवनिर्वाचित उपमेयर सुनिता डङ्गोलले राजनीतिलाई फोहोरी खेल भन्दै निराश बनेका युवाहरूको मनोविज्ञानले पनि आशाको दियो बाल्दै अघि बढ्ने प्रतिबद्धता जनाएकी छिन्। निर्वाचित भएपछि आज धन्यवाद विज्ञप्ति जारी गर्दै उनले युवामाथि भरोसा गर्नुलाई आफूले थप चुनौतीका रूपमा लिएकी बताएकी छिन्।

‘‘अहिले नगरे कहिले गर्ने? युवाहरूले नगरे कसले गर्ने? भन्ने मनोविज्ञान पनि यो निर्वाचनमा प्रखर बनेको अनुभूति मैले गरेकी छु। त्यसैले युवाहरूको त्यो मनोभावनालाई समेत प्रतिनिधित्व गर्दै उहाँहरूको आशाको दियो मर्न नदिने प्रण गर्न चाहन्छु। तपाईँहरूको साथ, सहयोग र समर्थन भएन भने मेरा सपनाहरू सबैका साझा सपना बन्न सक्दैन अनि ती सपना आफैँ विलय भएर जानेछन्। त्यसैले काठमाडौँ बनाउने सपना सबैको साझा बनाउन तपाईँहरू सबैको सहयोगको अपेक्षा मैले गरेकी छु’’ उनले भनेकी छिन्।

यस्तो छ उपमेयर सुनिता डङ्गोलको धन्यवाद ज्ञापन पत्र

धन्यवाद ज्ञापन

‘स्थानीय तह निर्वाचन २०७९’ यही वैशाख ३० गते निकै उत्साहका साथ सम्पन्न भएको छ । मुलुकको संघीय राजधानी समेत रहेको सबै भन्दा ठूलो र पुरानो महानगरपालिका ‘काठमाडौँ महानगरपालिका’ को पनि अन्तिम परिणाम प्राप्त भैसकेको छ ।

सांस्कृतिक सहरको परिचय बनाएको यो काठमाडौँ महानगरपालिकामा सबै जिल्लाका नागरिक बसोबास गर्ने भएकाले पनि अन्य पालिकाको तुलनामा यो पालिका थप विशिष्ट छ। हो, मैले यही विशिष्ट पहिचान बनाएको महानगर ‘काठमाडौँ महानगरपालिका’बाट उपमेयर पदको उम्मेदवार बन्ने सुनौलो अवसर प्राप्त गरेकी थिएँ।

पार्टी र सङ्गठनमा लामो योगदान गर्नुभएका, काठमाडौँको थप विकास र समृद्धिको आकाक्षां राख्नु भएका, यस सहरलाई सांस्कृतिक सहरका रूपमा विकास भएको हेर्न चाहनु भएका, अनुभवी र अग्रज व्यक्तित्वहरूले समेत मेरो उम्मेदवारीलाई सहजरुपमा स्वीकार गर्दै मलाई जितका लागि दिएको हौसला र प्रेरणालाई मैले कृतज्ञताका साथ ग्रहण गरेकी छु।

मैले मेरो जितमा उत्साहित हुने भन्दा पनि तपाईँहरूले म माथि गरेको परीक्षामा सफल हुनै पर्ने महत्त्वपूर्ण जिम्मेवारी प्राप्त भएको अनुभूति बढी गरेकी छु। तपाईँहरूले मलाई विश्वास गरेर हरेक मतपेटिकामा खसालेका मतपत्रलाई मैले मेरो पाँच वर्षे कार्यकालका लागि दिएको कार्यभारका रूपमा ग्रहण गरेकी छु। म मेरो कार्यकालमा तपाईँहरूले दिनुभएका कार्यभारहरू इमानदारिताका साथ कर्तव्यनिष्ठभर पूरा गर्न लागि पर्नेछु।

युवाप्रति अथाह भरोसा गरेर काठमाडौँ जस्तो महत्त्वपूर्ण महानगरपालिकामा काठमाडौँ महानगरवासी मतदाताले मलाई विजयी गराउनु भएको छ। त्यसैले यो तपाईँहरूको विश्वासलाई शीरमा राख्दै शासक होइन सेवक भएर काम गर्ने प्रण पनि व्यक्त गर्न चाहन्छु।

निर्वाचनपछि मतगणना सम्पन्न भई परिणाम प्राप्त भएसँगै जित–हारको मनोविज्ञानलाई त्यही अन्त्य गर्न म यही अपिल मार्फत सबैमा आग्रह गर्दछु। जित–हारको मनोविज्ञानलाई त्यागेर अब काठमाडौँ महानगरको विकास र समृद्धिका लागि सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तलाई अघि बढाउने प्रण पनि व्यक्त गर्न चाहन्छु।

साथै निर्वाचित सबै जनप्रतिनिधिहरू पनि तत् अनुरूप अघि बढौँ भन्ने पनि अनुरोध गर्न चाहन्छु। काठमाडौँको विकास र समृद्धिका लागि म कुनै पनि ठाउँमा बाधक बन्ने छैन। र निर्वाचनमा मैले जनतासामु गरेका प्रतिवद्धताहरु पूरा गर्नका लागि पनि सम्बन्धित सबैले सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तलाई पालना गरी सबै मिलेर यो काठमाडौं महानगरलाई साँचिकै स्वच्छ, सुन्दर, जीवन्त, व्यवस्थित र सांस्कृतिक नगरका रूपमा थप विकास गर्न दत्तचित्त भई लागि परौँ भन्ने पनि आह्वान गर्न चाहन्छु।

काठमाडौँ महानगरलाई सुन्दर र व्यवस्थित सहर बनाउने एजेन्डाप्रति विश्वास गरी यहाँका मतदाताले विजयी गराउनु भएको छ। हो, म एमालेको तर्फबाट उम्मेदवार भएर निर्वाचनको मैदानमा थिएँ। अहिले तपाईँहरूले मप्रति देखाएको अपार विश्वासका कारण उपमेयर पदमा निर्वाचित भएकी छु। तपाईँहरूले दिएको हरेक मतलाई मैले मेरो अठोट पूरा गर्ने बलियो सहाराका रूपमा लिएकी छु।

उपमेयरमा निर्वाचित भएसँगै मेरो विपक्षमा मतदान गर्नुहुने मतदाताहरूको समेत सम्मान गर्दै तपाईँहरूले गरेको विश्वास र भरोसालाई अधुरो हुन नदिन म मेरो कार्यकाल भरी मेरो योग्यता, क्षमता र बर्कतले भ्याएसम्म काठमाडौँ महानगरवासीको साझा जनप्रतिनिधिको हैसियतमा काम गर्ने प्रण व्यक्त गर्न चाहन्छु ।

राजनीतिलाई फोहोरी खेल भन्दै निराश बनेका युवाहरूको मनोविज्ञानले पनि आशाको दियो बाल्दै हामी जस्ता युवामाथि भरोसा गर्नुलाई मैले थप चुनौतीका रूपमा लिएकी छु। अहिले नगरे कहिले गर्ने? युवाहरूले नगरे कसले गर्ने? भन्ने मनोविज्ञान पनि यो निर्वाचनमा प्रखर बनेको अनुभूति मैले गरेकी छु। त्यसैले युवाहरूको त्यो मनोभावनालाई समेत प्रतिनिधित्व गर्दै उहाँहरूको आशाको दियो मर्न नदिने प्रण गर्न चाहन्छु। तपाईँहरूको साथ, सहयोग र समर्थन भएन भने मेरा सपनाहरू सबैका साझा सपना बन्न सक्दैन अनि ती सपना आफैँ विलय भएर जानेछन्। त्यसैले काठमाडौँ बनाउने सपना सबैको साझा बनाउन तपाईँहरू सबैको सहयोगको अपेक्षा मैले गरेकी छु।

अन्त्यमा, काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर, ३२ वटै वडाबाट विजयी हुनुभएका सम्पूर्ण वडाध्यक्ष र सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। साथै, निर्वाचन प्रक्रियामा सहभागी हुने मतदाताहरू, यहाँका स्थानीय आदिवासीहरू, मतदान सम्पन्न भएपछि अहोरात्र खटेर मतगणना कार्यलाई सहज बनाउन सकारात्मक भूमिका खेल्नुहुने निर्वाचन अधिकृत, अन्य कर्मचारीहरू, मतदान कार्यमा सहभागी सम्पूर्ण व्यक्तित्वहरू, सुरक्षाकर्मी मित्रहरू, सञ्चारकर्मी मित्रहरू, स्वयम् सेवकहरू, मेरो जितका लागि प्रत्यक्ष–परोक्ष रूपमा खट्नु भएका सम्पूर्ण महानुभावहरू र शुभेच्छुकहरू सबैप्रति आभार प्रकट गर्न चाहन्छु।
धन्यवाद।
सुनिता डङ्गोल
काठमाडौँ महानगरपालिका
उपमेयर।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved