उपत्यकाका विद्यालयमा नै पाठ्यपुस्तकको अभाव

जनक शिक्षा सामग्री केन्द्र भन्छ- अझै ३० लाख प्रति पाठ्यपुस्तक छाप्नै बाँकी छ

सरकारले ‘भर्नाकै बेला विद्यार्थीको हातहातै पाठ्यपुस्तक’ भन्ने नारा दिए पनि नयाँ शैक्षिक शुरु भइसक्दा पनि विद्यालयमा पुग्नुपर्ने पाठ्यपुस्तक पुगिसकेका छैनन्। पाठ्यपुस्तक नहुँदा पठनपाठन असहज भएको शिक्षकहरूको गुनासो छ।

उपत्यकाका विद्यालयमा नै पाठ्यपुस्तकको अभाव

काठमाडौं। बालुवाटारस्थित पञ्चकन्या आधारभुत विद्यालयकी प्रधानाध्यापक विनीता रञ्जित नयाँ शैक्षिक सत्र शुरु हुँदै गर्दा हैरान छिन्। कारण हो, विद्यार्थीलाई वितरण गर्नुपर्ने पाठ्यपुस्तक अझैसम्म विद्यालयमा पुगिसकेका छैनन्।

“पाठ्यपुस्तक नहुँदा पढाउन निकै समस्या हुने रहेछ,” प्रधानाध्यापक रञ्जित भन्छिन्, “अहिले पाठ्यपुस्तक डाउनलोड गरेर प्रोजेक्टरमार्फत देखाएर पढाइरहेका छौँ।”

पाठ्यपुस्तक नभएपछि विद्यार्थीले पढ्न जाँगर नै नगरेको उनको दुखेसो छ।

भक्तपुरको शारदा माध्यमिक विद्यालयमा पनि पाठ्यपुस्तक पुगेको छैन। अनलाइनमा उपलब्ध सफ्ट कपी शिक्षकलाई उपलब्ध गराएर पठनपाठन शुरु गरेको प्रधानाध्यापक रोशनराज तुईतुई बताउँछन्।

यो शैक्षिक सत्रबाट लागु हुने चार, सात र नौ कक्षाको नयाँ पाठ्यक्रम अनुसारका पुस्तक नआउँदा पठनपाठनमा समस्या भएको उनले बताए।

उनी भन्छन, “अरू कक्षामा भन्दा नयाँ पाठ्यक्रम लागु हुने कक्षामा पढाउन गाह्रो भएको छ। अरू कक्षामा अघिल्लो बर्ष पढेका विद्यार्थीसँग फिर्ता लिएको किताब बाँडेर पढाइरहेका छौं। चार, सात र नौ कक्षाको लागी हामीले किताब दिनै सकिरहेका छैनौं।”

पाठ्यपुस्तक नहुँदा शिक्षकलाई पढाउन र बच्चालाई पढ्न समस्या भइरहेको उनी बताउँछन्।

ललितपुरको पाटन माध्यामिक विद्यालयमा पनि पाठ्यपुस्तक आएको छैन।

“कक्षा एक दूई तीनको पाठ्यपूस्तक अस्ति आएको छ तर पुरै आएका छैनन्”, शिक्षक मुना लिगल भन्छिन्, “माथिल्लो कक्षाको पाठ्यपुस्तक त कहिले पो आउने हो ?”

अहिले इ-कपि हेरेर पढाइरहेको पाटन माविकै अर्का शिक्षक कुमार चौलागाई बताउँछन्।  उनी भन्छन्, “पाठ्यपुस्तक पठनपाठन गर्ने एक माध्यम हो। त्यो सबै कुरा होइन। त्यो सँग सम्बन्धित भएर पछि पाठ्यक्रमसँग जोड्न मिल्ने गरी पढाइरहेका छौं।”

पाठ्यपुस्तक अभावको यो समस्या कुनै दुर्गम भनिएको भुभागको होइन, देशकै राजधानी शहरको हो।

सरकारले ‘भर्नाकै बेला विद्यार्थीको हातहातै पाठ्यपुस्तक’ भन्ने नारा दिए पनि नयाँ शैक्षिक शुरु भइसक्दा पनि विद्यालयमा पुग्नुपर्ने पाठ्यपुस्तक पुगिसकेका छैनन्। पाठ्यपुस्तक नहुँदा पठनपाठन असहज भएको शिक्षकहरूको गुनासो छ।

पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले समयमै पाठ्यपुस्तक छाप्न नसक्दा यो समस्या आएको हो। केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यका अनुसार अझै ३० लाख पाठ्यपुस्तक छाप्नै बाँकी छ।

“१ करोड ८५ लाख पाठ्यपुस्तक छाप्नुपर्नेमा एक करोड ५५ लाख छपाई भएको छ,” उनी भन्छन्, “हामीसँग भएको पाठ्यपुस्तक ५ जेठबाट वितरणका लागि डिपोमा पठाइसकेका छौं।”

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved