निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६६ जनालाई आयोगले सोध्यो स्पष्टीकरण

आयोगले आचारसंहिता उल्लंघनका घटनामा ६६ ओटा स्पष्टीकरण सोधेको छ भने ९ जनालाई सचेत र एक जनालाई ध्यानाकर्षण गराएको हो।

नेपालभ्युज

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६६ जनालाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६६ जनालाई स्पष्टीकरण सोधेको छ। आयोगले आचारसंहिता लागू भएयता हालसम्म आचारसंहिता उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण सोधेको छ भने ९ वटा सचेत, १ वटा ध्यानाकर्षण गराएको हो।

निर्वाचन आचारसंहिताको उल्लंघन हुनेगरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा आयोगले नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश कमिटी सदस्य गंगा दाहाललाई वैशाख २८ गते २४ घण्टे स्पष्टीकरण सोधेको छ। गंगा दाहालले व्यक्तिगत फेसबुक पेजमा भरतपुर महानगरपालिकाका प्रमुखका उम्मेदवार रेनु दाहाल, उपप्रमुखका उम्मेदवार चित्रसेन अधिकारीलाई अत्याधिक मतले विजयी गराउन अनुरोध गरेकी थिइन्।

आयोगले मतदातालाई अनुचित प्रभाव पार्नेगरी अभिव्यक्ति दिएको विषयमा परेको उजुरीका आधारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवालाई वैशाख २८ गते २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ। राणाले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको भनि आयोगमा उजुरी प्राप्त भएको थियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चितवनको भरतपुरमा आयोजित चुनावी सभामा दिएको अभिव्यक्तिका सम्बन्धमा २८ वैशाखमा पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र आयोगमा स्पष्टीकरण बुझाउन पत्राचार गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। दाहालले वैशाख २३ गते भरतपुरमा आयोजित सभामा भरतपुर महानगरको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई मतदान नगरी पराजित गराएमा देश दुर्घटनामा जानसक्ने अभिव्यक्ति दिएका थिए।

आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई पनि निर्वाचन आचारसंहीता उल्लंघन हुनेगरी क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ। मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको संयुक्त आयोजनामा वैशाख २६ गते भएको चुनावी सभामा पार्टीका लागि मत मागेको, मतदाता भड्काउन भ्रमात्मक भाषण दिएको उजुरी परेकाे थियाे।

उनले तडकभडक गर्दै भोजभतेर गरेको, मतदातालाई रकम बाँडेको, गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार दुर्गादत्त ओझाको चरित्र हत्या गर्ने खालका सम्पादित भिडियोहरू सार्वजनिक स्थलमा राखेको, गुण्डागर्दी गर्दै अराजक टिम परिचालन गरी ज्यान मार्ने धम्की दिएको व्यहोरासहितको उजुरी आयोगमा प्राप्त भएको थियो।

पर्साको वीरगञ्ज महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सरावगीले निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी क्रियाकलाप गरेको विषयमा आयोगले २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ। सरावगीले २६ वैशाखकाे राति १२ः३० बजे महानगरको वडा १६ स्थित एक मतदाताको घरमा प्रवेश गरी मत खरिद गर्न नगदको लेनदेन गरेको भनि जनता समाजवादी पार्टी नेपालकावीरगञ्ज महानगर कमिटीका अध्यक्ष, ईश्वरचन्द्र यादवको उजुरीका आधारमा आयोगले सरावगीसँग जवाफ माग गरेको हो।

रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे लगायत अन्य लाई पनि आयोगले स्पष्टीकरण सोधेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved