बेइजिङ डायरी

जन्मोत्सवको शुभकामना प्यारा नेपाली गुरु सत्यमोहन

सन् १९८२ मा नेपाल फर्किने बेलामा जोशीको एउटा अनुरोध सुनावाइ नहुँदा उनले चित्त दुखाएका थिए। जोशी बेइजिङभन्दा पश्चिमपट्टि रहेको वल्लो शान्षी प्रान्तमा रहेको उथाइशान जान चाहन्थे। उथाइशान महामञ्जुश्रीको जन्मस्थान हो र त्यहाँ पनि अरनिकोले बनाएको श्वेत चैत्य रहेको छ। अरनिकोले आफ्नो जीवनको अन्तिम अवस्था उथाइशानमा बिताउन चाहेका थिए।

जन्मोत्सवको शुभकामना प्यारा नेपाली गुरु सत्यमोहन

आज २९ वैशाख। सत्यमोहन जोशी १०२ वर्ष पूरा गरेर १०३ वर्षमा लागेको दिन।

सत्यमोहन जोशी नेपालमा तीनपटक मदन पुरस्कार प्राप्त गर्ने एक मात्र व्यक्ति। अहिलेसम्म अर्को कुनै पनि नेपालीले दोहोर्‍याएर मदन पुरस्कार प्राप्त गरेको छैन। जोशीले त तेहेर्‍याएर मदन पुरस्कार पड्काएका छन्।

नेपाली भाषा, साहित्य, संस्कृति, इतिहास, लोकगीतको खोज अनुसन्धान, ऐतिहासिक नेपाली मुद्राको अध्ययन, पुरातत्व अध्ययन लगायतका विविध क्षेत्रमा जोशीले ख्याति कमाएका छन्। जोशीले नेपालभित्र मात्र होइन, नेपाल बाहिर पनि नेपाललाई चिनाउने काम गरेका छन्। विशेष गरी नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धमा जोशीको योगदान उल्लेख्य छ। सातौँ शताब्दीकी भृकुटी र १३ औँ शताब्दीका अरनिकोले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धमा गोरेटो बनाएका थिए। त्यही गोरेटोलाई जोशीले २० औँ शताब्दीमा चौडा बनाएका छन्।

जोशीको १०३ औँ जन्मोत्सवका अवसरमा उनले नेपाल-चीन सम्बन्धमा पुर्‍याएको योगदानको केही चर्चा गर्नु वाञ्छनीय होला।

सत्यमोहन जोशी पहिलोपटक सन् १९५९ मा चीन भ्रमणमा आएका थिए। त्यतिबेला उनी चिनियाँ बौद्धधर्म संघको निमन्त्रणामा धर्मोदय सभाका कार्यकारिणी सदस्यका हैसियतमा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा सहभागी थिए। बेइजिङमा जोशीका लागि सबैभन्दा महत्वपूर्ण स्थान थियो अरनिको निर्मित श्वेत चैत्य। उनले नेपाल फर्किएपछि ‘पुरातत्व एक रोचक कथा’ पुस्तकमा ‘नेपाली कलाकार अरनिको र उनका कलाकृति’ शीर्षकमा श्वेत चैत्यको वर्णन गर्दै एक लामो लेख लेखेका थिए।

आफ्नै घरको ढोका अगाडि सत्यमोहन जोशी।

चीन सरकारले सन् १९६३ मा पहिलोपटक बेइजिङस्थित ‘पैचिङ ब्रोडकास्टिङ इन्स्टिच्युट’ (हालको चिनियाँ सञ्चार विश्वविद्यालय) मा नेपाली भाषा पठनपाठन शुरु गर्‍यो। शुरुको कक्षामा १२ जना चिनियाँहरु नेपाली भाषा पढ्ने गर्दथ्ये। नेपाली भाषा शिक्षणका लागि बेलायतबाट भाषा विज्ञान अध्ययन गरेर फर्किएका कृष्णबहादुर प्रधानलाई चीनले बोलाएको थियो। श्रीमती सुलोचना प्रधानसँगै उनी बेइजिङमा आएर चिनियाँलाई नेपाली भाषा अध्यापन गर्न थालेका थिए।

प्रधान आएको दुई वर्षपछि सन् १९६५ मा सत्यमोहन जोशी पनि चिनियाँलाई नेपाली भाषा अध्यापनका लागि बेइजिङ आइपुगे। जोशी आएको अर्को वर्ष चीनमा सांस्कृतिक क्रान्ति शुरु भयो। चीनमा सन् १९६६ खर्खप शुरु भएको सांस्कृतिक क्रान्ति १० वर्षसम्म चल्यो। सांस्कृतिक क्रान्तिको प्रभावले लगभग एक वर्ष पठनपाठन पूर्ण रुपमा अवरुद्ध भयो।

सांस्कृतिक क्रान्तिले औपचारिक रुपमा पठनपाठनलाई ब्रेक लगाए पनि जोशीका जिज्ञासु चिनियाँ विद्यार्थीहरु उनी बसेको ठाउँमा आएर सोधखोज गर्दथ्ये। जोशी दुई ओटा कक्षामा २० जनाका दरले ४० जना चिनियाँलाई नेपाली भाषा सिकाउँथे। अघिल्लो समूहका १२ जना चिनियाँ पनि उनीसँग नेपाली भाषा सिक्न आइरहन्थे।

जोशीका विद्यार्थीहरु नेपाली भाषा सिक्नलाई जति जिज्ञासु र जाँगरिला थिए, उत्तिकै रुपमा जोशी अरनिकोका बारेमा खोजअनुसन्धान गर्न लालायित थिए। दुर्भाग्यवश सांस्कृतिक क्रान्तिसँगै अरनिकोले बनाएको श्वेत चैत्य पनि बन्द भयो। जोशीले मुख्य गेट बाहिरबाट श्वेत चैत्यलाई अवलोकन गर्न मात्र पाए।

सन् १९६५ देखि ६९ सम्म जोशी चार वर्ष बेइजिङ बस्दा कहिल्यै श्वेत चैत्यभित्र छिर्न पाएनन्। आफ्ना पुर्खाले बनाएको त्यो ऐतिहासिक सम्पदालाई उनले पहिलो चीन भ्रमणमा सरसर्ती नियालेका मात्र थिए। उक्त सम्पदाका बारेमा गहन अध्ययन गर्ने चाह थियो जोशीसँग। अरनिकोका बारेमा खोज अनुसन्धान गर्ने चाहनालाई पोको पारेर जोशीले चिनियाँ विद्यार्थीलाई मिहिनेतका साथ नेपाली भाषा र संस्कृति सिकाउने काम गरे। सांस्कृतिक क्रान्ति चलिरहेकै बेला भारी मन लिएर जोशी नेपाल फर्किए।

सन् १९८१ मा बेइजिङस्थित श्वेत चैत्यमा चिनियाँ सहकर्मीका साथमा सत्यमोहन जोशी (बायाँबाट दोस्रो कालो टोपीमा)

चार वर्ष बेइजिङ बस्दा एकैपटक पनि श्वेत चैत्य पस्न नपाएकोमा जोशीको मन नराम्ररी कुँडिएको थियो। उनी अरनिको र अरनिकोले निर्माण गरेका कलाकृतिका बारेमा गहन अध्ययन गर्न चाहन्थे। समय र परिस्थितिले जोशीका इच्छा र चाहनालाई उखेलपाखेल बनाइदिएका थिए।

२५ जुन १९७५ मा नेपाल र चीनबीचको सम्बन्धमा अर्को एउटा कोशेढुङ्गा खडा भयो। ‘पैचिङ क्रोडकास्टिङ इन्स्टिच्युट’बाट नेपाली भाषा अध्ययन गरी स्नातक भएका १० जना चिनियाँलाई लिएर चीन सरकारले तत्कालीन रेडियो पेकिङ (हालको चिनियाँ अन्तर्राष्ट्रिय रेडियो)को नेपाली सेवा शुरु गर्‍यो। सांस्कृतिक क्रान्तिको उत्तरार्द्धमा शुरु भएको यो सेवा ४७ वर्षदेखि हालसम्म निरन्तर प्रसारणमा छ।

रेडियो पेकिङले नेपाली सेवा शुरु गरेको पाँच वर्षपछि सन् १९८० मे महीनामा सत्यमोहन जोशीले फेरि बेइजिङ आउने मौका पाए। त्यतिबेला उनी चिनियाँलाई नेपाली भाषा पढाउन आएका थिएनन्। उनी आफैँले नेपाली भाषा सिकाएका चिनियाँसँग रेडियो पेकिङमा काम गर्न आएका थिए।

उक्त समयमा सांस्कृतिक क्रान्ति सकिएको चार वर्ष भइसकेको थियो। चीन सुधार र खुलापनमा दत्तचित्तले लागेको थियो। तर अरनिकोले बनाएको श्वेत चैत्य अझै सर्वसाधारणका लागि खुला गरिएको थिएन। शौभाग्यवश जोशी बेइजिङ आएको दुई महीनापछि नै श्वेत चैत्य सर्वसाधारणका लागि खुला भयो। तब के चाहियो- जोशी आफ्नो फुर्सदको समयमा श्वेत चैत्य पुगिहाल्थे।

रेडियो पेकिङमा काम गर्दा जोशी जम्मा दुई वर्ष मात्र बेइजिङमा बसे। ती दुई वर्षमा जोशीले श्वेत चैत्यको गरेको गहन अध्ययन हेर्दा हामी दश वर्ष बेइजिङ बस्नेहरुलाई पनि शंकोच लाग्ने गर्छ। जोशीले श्वेत चैत्यको कति गहन अध्ययन गरे भन्ने कुरा उनले सन् १९८७ मा प्रकाशन गरेको ‘कलाकार अरनिको’ कृति हेर्दा स्पष्ट हुन्छ।

सन् १९८२ मा नेपाल फर्किएपछि जोशीले बेइजिङमा गरेका टिपोटहरु, पत्रपत्रिकाका कटिङ, पुस्तकबाट साभार गरिएका अरनिकोसम्बन्धी सामग्री, फोटो लगायत श्वेत चैत्यको संरचनागत अध्ययन गरी उक्त कृति तयार पारेका थिए। नेपाल आएको पाँच वर्षपछि जोशीले तयार गरेको उक्त कृति नै अरनिकोका बारेमा हालसम्म प्राप्त सबैभन्दा आधिकारिक र समष्टिगत विषय समेटिएको पुस्तक हो।

श्रीमतीका साथमा सत्यमोहन जोशी

जोशीले श्वेत चैत्यको भूगर्भदेखि गजुरसम्मको हरेक भागको सांस्कृतिक पहिचान सहितको व्याख्या र विश्लेषण गरेका छन्। श्वेत चैत्यसँगै अरनिकोले बनाएको बौद्ध महाबिहारका भित्ता र छतमा चित्रित रञ्जना लिपिको पनि अध्ययन गरेर पुस्तकमा व्याख्या गरेका छन्।

अरनिको जीवनी र अरनिको कामसम्बन्धी जोशीले थुप्रै चिनियाँ प्राध्यापकसँग कुराकानी गरेका छन्। उनीहरुका लेख रचनालाई अनुवाद गर्न लगाएर त्यसको मूल मर्मलाई आफ्नो कृतिमा समेटेका छन्। अरनिकोले पहिले नेपालमा बिहे गरेका र चीनमा आएर १० जना चिनियाँ युवतीलाई श्रीमती बनाएर भित्र्याएको कुरा पनि जोशीले नै पहिलोपटक लेखेका हुन्।

जोशीले चीनमा बसेर नेपाली भाषाको बिरुवा रोपे। त्यो बिरुवा फैलिँदै गएर अहिले चीनभरि झाँगिएको छ। यतिबेला चीनमा विभिन्न ६ ओटा विश्वविद्यालयमा नेपाली भाषा पठनपाठन हुने गरेको छ। उनले नेपाली भाषा सिकाएकामध्ये छन् मिन यी चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रथम उपनिर्देशक भए भने ली छिङ कर्मचारी प्रशासन विभागको प्रमुख भए। यी दुवै पद चिनियाँ उपमन्त्री सो सरहका हुन्। त्यसैगरी जोशीका अर्का शिष्य चङ सुयोङ सन् १९९८ देखि २००१ सम्म नेपालका लागि राजदूत थिए।

चिनियाँहरुले पनि सत्यमोहन जोशीलाई बढो आदर र सम्मान गर्छन्। आफ्ना गुरुको १०३ औँ जन्मोत्सवका सुअवसरमा जन्मदिनको शुभकामना भन्न पाउनु आफ्नो अहोभाग्य भएको सीआरआई नेपाली सेवामा सन् १९९० देखि २००५ सम्म प्रमुख भएर सेवा निर्वृत्त भएकी प्राध्यापक चौ चाओ चुन (नेपालीहरुले चिन्ने नाम छाङहो अथवा कुसुम दिदी) बताउँछिन्।

सीआरआई नेपाली सेवाकी पूर्वप्रमुख प्राध्यापक चौ (छाङहो दिदी)

प्राध्यापक चौ कयौँपटक नेपाल गएकी छन्। उनी नेपाल जाँदा हरेकपटक जोशीसँग भेट गर्ने गरेको बताउँछिन्। सन् २००३ मा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका प्रथम उपनिर्देशक छन मिनयीको नेतृत्वमा नेपाल गएको प्रतिनिधिमण्डलमा चौ पनि सहभागी थिइन्। उक्त प्रतिनिधिमण्डलका छन मिन यी र चौले सत्यमोहन जोशीको पाटनस्थित घरमै पुगेर ‘आदरणीय गुरु’ भन्दै ढोगेका थिए। चिनियाँ उपमन्त्री सो सरहको व्यक्तिले आफ्नो घरमै आएर सम्मान गर्दा जोशी निकै भावुक बनेका थिए।

सन् २००३ मा सीआरआईको प्रतिनिधि मण्डल सत्यमोहन जोशीको घरमा।

जोशीसँग सन् १९६५ मा नेपाली सिकेकी र १९८० देखि दुई वर्षसम्म सँगै काम गरेकी चौले जोशी अत्यन्त अध्ययनशील र गम्भीर स्वभावका मान्छे भएको बताइन्। फुर्सद भइसक्दा अरनिकोले बनाएको श्वेत चैत्यको अध्ययन अवलोकन गर्न पुगिहाल्ने जोशीको बानी देखेर पहिले आफूलाई आश्चर्य लागेको तर पछि अरनिकोको गहन खोजी गरी किताब लेखेको थाहा पाएर त्यो रहस्य बल्ल बुझेको उनले सुनाइन्।

जोशी कहिल्यै नरिसाउने र सधैँ गम्भीर मुद्रामा रहने गरेको उनका चिनियाँ शिष्यहरु बताउँछन्। जोशीसँग पढेर पछि सँगै काम गरेका सुहाओ र लिउ होङस्याङका अनुसार जोशी हाँसेको देख्न मुस्किल हुन्थ्यो। पहिले गुरु र पछि सहकर्मीका रुपमा बेइजिङ बस्दा जोशीले कहिल्यै चित्त दुखाएको चिनियाँहरुले थाहा पाएनन्। चौ भन्छिन् ‘तर नेपाल फर्किने बेलामा चाहिँ जोशी निकै दुःखी हुनुभयो।’

सन् १९८२ मा नेपाल फर्किने बेलामा जोशीको एउटा अनुरोध सुनावाइ नहुँदा उनले चित्त दुखाएका थिए। जोशी बेइजिङभन्दा पश्चिमपट्टि रहेको वल्लो शान्षी प्रान्तमा रहेको उथाइशान जान चाहन्थे। उथाइशान महामञ्जुश्रीको जन्मस्थान हो र त्यहाँ पनि अरनिकोले बनाएको श्वेत चैत्य रहेको छ। अरनिकोले आफ्नो जीवनको अन्तिम अवस्था उथाइशानमा बिताउन चाहेका थिए।

अत्यन्त सुन्दर र पवित्र मानिएको उक्त ठाउँमा भगवान बुद्धका छोरा राहुलको नाममा पनि एउटा मन्दिर बनाइएको छ। राहुलका नाममा बनाइएको संसारकै त्यो एक मात्र मन्दिर हो। अरनिकोले असाध्यै मन पराएको र जीवनको उत्तरार्द्ध समय शान्तसँग बिताउन चाहेको स्थान हेर्ने र अवलोकन गर्ने जोशीको तीव्र इच्छा थियो। जोशीको उक्त इच्छा पूरा हुन पाएन।

जोशीले केही समयका लागि भिसा थप गरेर व्यक्तिगत रुपमा उथाइशान जान खोजेका पनि थिए। तर त्यो अवसर पनि उनलाई प्राप्त भएन। अरनिकोले मर्ने बेलामा रहने गरेको इच्छा र सत्यमोहन जोशी एकपटक पुग्ने इच्छा दुवै पूरा हुन पाएनन्। अरनिकोको बेइजिङमा प्राण गयो। जोशी उथाइशान हेर्न नपाइकन नेपाल फर्किए।

सन् २००३ मा सत्यमोहन जोशीको घरमा सीआरआईका तत्कालीन प्रथम उपनिर्देशक छन मिन यी र नेपाली सेवाकी प्रमुख चौ

उथाइशान जान नपाएको गुनासो जोशीले खासै कतै व्यक्त गरेका छैनन्। उनले कुनै लेखमा पनि यो कुरालाई औँल्याएका छैनन्। तर उनका सहकर्मी र शिष्यहरुलाई चाहिँ राम्ररी थाहा छ, अनि खड्किरहेको पनि छ। ग्लानी र पश्चातापमा उनीहरु जोशीसँग मनमनै माफ मागिरहेका पनि छन्। चौ भन्छिन्, “समयको अभाव र परिस्थितिले गर्दा उहाँ उथाइशान जान पाउनुभएन। हामीले पनि उहाँलाई उक्त ठाउँको भ्रमण गराउन सकेनौँ। अहिले पनि यही कुराले मनमा कताकता घोचिरहन्छ।”

चिनियाँहरु जोशीलाई आधुनिक अरनिकोका रुपमा लिन्छन्। नेपाल र चीनबीचको सम्बन्धमा २० औँ शताब्दीका सांस्कृतिक सेतुका रुपमा रहेका जोशीको योगदानलाई चिनियाँहरुले सँगालेका छन्। उनीहरु हात जोडेर भनिरहेका छन् – आदरणीय प्यारा नेपाली गुरु जन्मोत्सवको शुभकामना।

One thought on “जन्मोत्सवको शुभकामना प्यारा नेपाली गुरु सत्यमोहन

  1. नारायणप्रसाद चँदारा, नयाँबजार, इलाम says:

    अत्यन्त खोजमूलक एवं जीवन्त लेखको लागि प्रिय मित्र चेतनाथलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved