मौन अवधिको उल्लंघन गर्दै कार्यकर्ता/नेताहरू

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लंघन भए/नभएको अनुगमन गरिरहेको र पाइए कारबाही गर्ने बताएका छन्।

नेपालभ्युज

मौन अवधिको उल्लंघन गर्दै कार्यकर्ता/नेताहरू

काठमाडौं। मंगलबार मध्यरातिदेखि ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि शुरु भएको छ। निर्वाचनको ४८ घण्टा अघिदेखि मौन अवधि शुरु हुन्छ। मंगलबार राति १२ बजेदेखि निर्वाचनको मौन अवधि शुरु भएको छ।

मौन अवधिमा सामाजिक सञ्जालमा समेत प्रचारप्रसार, मतदाता लक्षित सामाग्री सेयर गर्न पाइँदैन। तर मौन अवधि शुरु भए पनि सामाजिक सञ्जालमा नेता, कार्यकर्ता, कलाकार तथा समर्थकहरूले चुनाव प्रचारप्रसार गरिरहेका छन्।

सामाजिक सञ्जालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री तथा उनको सचिवालयकी स्वकिय सचिव गंगा दाहालले चितवन महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार रेनु दाहालको तस्वीरसहित गठबन्धनलाई भोट मागेकी छन्। उनले रेनुका लागि भोट माग्दै गठबन्धनको चुनावी प्रतिवद्धता सामाजिक सञ्जालमा सेयर गरेकी छन्।

यसैगरी नेकपा (एमाले) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पनि मौन समयको उल्लंघन गर्दै  एमालेका लागि भोट मागेको भिडिओ सेयर गरेका छन्।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधिपछि सामाजिक सञ्जालमा कुनै दल तथा उम्मेदवारका लागि भोट मागेर गरिएका इस्पोन्सर हटाउनुपर्छ। तर नेपाली कांग्रेसको आधिकारिक पेजमार्फत नै स्पोन्सर गरी कांग्रेसलाई मतदान गर्न आग्रह गरिएको छ।

 

यस्तै कांग्रेसको समर्थक पेज  एनसीविनमा पनि गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसका लागि भोट मागेको भिडिओ सेयर गरिएको छ।

नेता, कार्यकर्ता तथा समर्थकहरूले मात्रै नभएर मिडियाले पनि मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भेटिएको छ। पत्रकार ऋषि धमालाको अनलाइन रिपोर्टर्स नेपालले हेटौँडा महानगरको मेयरका लागि राप्रपाबाट उम्मेदवारी दिएका दीपकबहादुर सिंहको प्रचार हुने गरी समाचार स्पोन्सर गरेको छ।

यसैगरी काठमाडौं महानगरबाट गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंहले पनि निर्वाचन आचारसंहिता उल्लंघन गरेकी छन्। उनको फेसबुकबाट सिर्जनालाई भोट मागिएको प्रचार सामग्री स्पोन्सर गरिएको छ।

यसैगरी विवेकशील  साझाबाट काठमाडौंको मेयर उम्मेदवार समिक्षा बास्कोटाको समर्थक पेजबाट पनि बास्कोटालाई भोट मागेको प्रचार सामग्री स्पोन्सर गरिएको छ। एक अन्तर्वार्ताबाट बास्कोटाले गरेका प्रतिवद्धताको भिडिओ क्लिप राखेर प्रचार सामग्री सेयर गरिएको छ।

यसैगरी नेपाल सरकारका पूर्वसचिवसमेत रहेका काठमाडौं महानगरबाट स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहका समर्थक भीम उपाध्यायले पनि सांकेतिक रूपमा बालेनको पक्षमा प्रचार गरेका छन्। उनले बालेनले मौन अवधि शुरु हुनुअघि लेखेको अन्तिम स्टाटसको टुक्रा सामाजिक सञ्जालमार्फत सेयर गरेर सांकेतिक रूपमा भोट मागेका छन्। यसअघि उपाध्यायले बालेनको पक्षमा भोट माग्दै अभियान नै चलाएका थिए।

निर्वाचन आयोगले मतदाता प्रभावित पार्नेगरी मौन अवधिमा यस्ता गतिविधि गरेमा उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुनसक्ने बताएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लंघन भए/नभएको कडाइका साथ अनुगमन गरिरहेको र पाइए कारबाही गर्ने बताएका छन्।

उनले नेपालभ्यूजसँग भने, ‘‘मौन अवधिमा मतदाता प्रभावित पार्ने दुष्प्रयास हुनसक्ने भन्दै आयोगले त्यसलाई रोक्न र त्यस्ता अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सूचना संकलकका रूपमा सयभन्दा बढी स्थानमा ‘सूक्ष्म अनुगमनकर्ता’ खटाएको छ, कसैले उल्लंघन गरेको पाइए कारबाही गर्नेछौं।’’

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा १ मा ‘निर्वाचन आचारसंहिता कार्यान्वयन र अनुगमन’ सम्बन्धी व्यवस्था छ । त्यसैलाई टेकेर आयोगले ‘मौन अवधिमा पालना गर्नुपर्ने आचरण’ शीर्षकमा १८ बुँदे निर्देशन जारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved