सफल उपमेयर भएकै कारण गठबन्धनले मेयरमा अघि सार्‍यो (अन्तर्वार्ता)

सफल उपमेयर भएकै कारण गठबन्धनले मेयरमा अघि सार्‍यो (अन्तर्वार्ता)

काठमाडौं। यतिबेला बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचनको रौनक निकै बढेको छ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरू घरदैलो कार्यक्रममा व्यस्त छन्। हेटौंडा उपमहानगरपालिकामा १८ जनाले मेयर पदमा उम्मेदवारी दिएका छन्।

तर प्रतिस्पर्धा भने त्रिपक्षीय हुने चर्चा चलिरहेको छ। शुरुमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने चर्चा चले पनि उम्मेदवारी दिने दिन राप्रपाका दीपक बहादुर सिंहले उम्मेदवारी दिएपछि यहाँको निर्वाचन थप पेचिलो बनेको छ।

हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि गठबन्धनले मिना कुमारी लामालाई मेयरको उम्मेदवारको रुपमा सारेको छ। उनले पाँच वर्ष उपमहानगरपालिकाको उपमेयर भएर काम गरिसकेकी छन्।

नेकपा एमालेबाट उपमेयरमा निर्वाचित भएकी उनी अहिले नेकपा एकीकृत समाजवादीमा छिन्। उनको चुनाव जित्ने आधार, योजना लगायतका विषयमा नेपालभ्यूज संवाददाता सम्झना रिजालले हेटौंडा उपमहानगरपालिकाको मेयर पदकी उम्मेदवार मीनाकुमारी लामासँग गरेको कुराकानी :

गठबन्धनको तर्फबाट मेयर पदमा उममेदवारी दिनुभएको छ। निर्वाचन आउँन केही दिन मात्रै बाँकी छ। तयारी कस्तो चल्दैछ ? 

घर दैलोमा जाने काम गरिरहेका छौं। मतदाता शिक्षा दिने काम गरिरहेका छौं। आफ्नो चुनाव चिन्ह प्रचार गर्ने काममा व्यस्त छौं।

मतदाताको घर दैलोमा जाने काम गरिरहेका छौ भन्नुभयो, तपाईंबाट कस्तो अपेक्षा राखेका रहेछन् त मतदाताले ?

उहाँहरूको त्यस्तो ठूलो अपेक्षा केही छैन। उहाँहरूको घर अगाडिको बाटो स्ल्याब होस्, खानेपानीको सुविधा होस्, विद्युत् राम्रोसँग आओस्, स्वास्थ्य उपचार राम्रोसंग पाइयोस् भन्ने छ।

शिक्षामा राम्रो होस् भन्ने छ। रोजगारीमा जोडिन पाँउ भन्ने नै छ। यी वास्तवमै सामान्य अनि जायज अपेक्षा हुन्। यी अपेक्षाहरू मैले पूरा गर्नुपर्छ। त्यसमा म प्रतिबद्ध छु। हेटौँडाको विकासमा सबैभन्दा पहिलो त पूर्वाधार नै हो। उपमहानगरपालिकामा पछि समाहित भएको साविकको गाविसलाई उपमहानगरसरह बनाउनुछ। योसँगै खेलकुदको विकास, आर्थिक अवस्था उकास्ने खालका कार्यक्रम र उद्योग कलकारखाना निर्माण हुने वातावरण बनाउनुपर्नेछ। यी सबै क्षेत्रमा योजनाबद्ध काम हुनेछ।

हेटौंडा उपमहानगरपालिकामा मेयरमा तपाईंको उम्मेदवारी केका लागि ? योजना के के छन् ?

मैले ५ वर्ष उपमेयर पदमा रहेर अनुभव सम्हालिसकेको छु। हेटौंडा उपमहानगरपालिकामा अझै धेरै समस्या छन्। हेटौंडाको विकास र समृद्धिका लागि दीर्घकालीन योजना बनाएर काम गर्नेछु।

सडक विस्तारको समस्या, भूमिहीनको लालपुर्जाको समस्यालगायत विविध समस्या समाधान गर्नुका साथै शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा धेरै काम गर्नेछु। उपमहानगरपालिकामा पछि गाभिएका साविकको गाविस क्षेत्रलाई साँच्चै उपमहानगरबासीको प्रत्याभूति दिलाउने गरी भौतिक पूर्वाधारको विकास गर्नुपर्नेछ।

सामाजिक रूपान्तरण, महिला सशक्तीकरण, युवा, बालबालिका लगायतका क्षेत्रमा योजना बनाएरै काम गर्नुपर्नेछ। हेटौंडालाई नयाँपन दिएर सुन्दर र समृद्ध शहरको रूपमा विकास गर्नका लागि मेरो उम्मेदवारी हो।

पाँ वर्षको उपमेयरमा रहँदाको अनुभवमा यहाँको अवसर, सम्भावना र चुनौतीलाई बुझेको छु। हामीले गठबन्धनको तर्फबाट प्रतिबद्धतापत्र पनि सार्वजनिक गरिसकेका छौं।

नगर क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाएका छौं। हेटौँडा विकास प्राधिकरण गठन गरी पूर्वाधार विकासलाई अघि बढाउनेछौं। ५ जनालाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछौं, प्रत्येक वडामा मिनी रंगशाला निर्माण गर्नेछौं, नगरभित्रका नदी खोलाहरूको व्यवस्थापन गरी अस्थायी स्विमिङ पुल निर्माण, जलविहार तथा पार्क निर्माण गरी पर्यटनमैत्री नगर बनाउने, नगरस्तरीय प्रज्ञा प्रतिष्ठान स्थापना, प्रबद्र्वन र विकासका कार्यक्रम सञ्चालन गर्नेछौं। नगरको सेवा घरघरमा नै पुर्‍याउनुका साथै ‘एक घर एक रोजगार’ को व्यवस्था गर्ने योजना बनाएका छौं।

योजनाहरू सुनाइरहनु हुँदा केही महत्वकांक्षी भए कि भन्ने पनि गुनासो आउने गरेका छन् नि ?

सपना ठूलो नै देख्नुपर्छ। सपना देखे मात्र पूरा हुन्छ। त्यसैले योजना बनाउदा ठूला योजना बनाएर कार्यान्वयनमा लैजानुपर्छ। रिक्स त हामीले लिनैपर्छ। यो हामी पूरा गर्छौं।

टिकट वितरणको क्रममा गठबन्धनभित्रै पनि व्यापक असन्तुष्टि देखियो। यसले तपाईलाई जित्नको लागि चुनौती छ भन्छन् नि ?

शुरुमा यस्ता मतभेद देखिनु स्वाभाविक हो। मलाई गठबन्धनको पूर्ण भरोसा छ। उहाँहरूले मत दिनुहुन्छ भन्ने कुरामा ढुक्क छु। राजनीतिमा लागेका, जनताको सेवा गर्छु भन्ने नेताहरूलाई टिकट पाउन पाए हुन्थ्यो, चुनाव जितेर जनताको हितमा काम गर्न पाए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविक हो।

गठबन्धनको मर्म, भावनाअनुसार सत्तारुढ ५ वटै दलका नेता कार्यकर्ताहरू गठबन्धनका उम्मेदवारलाई जिताउन एकढिक्का भएर लाग्नुभएको छ। अहिले हामीमा सानोतिनो कुराले चित्त दुखाएर गठबन्धनका उम्मेदवारलाई जिताउन लागिएन भने फेरि ५ वर्ष पछुताएर बस्नुको विकल्प छैन।

अब गठबन्धनलाई जिताउन लाग्ने भनेरै सबै नेताहरू एक भएर लाग्नुभएको छ। देशैभर गठबन्धनको पक्षमा राम्रो माहोल आएको छ। सबै खुशी हुनुहुन्छ। मैले पाँच वर्षसम्म आफ्नो भूमी नछोडी भुइँमान्छे भएर काम गरेको छु। यो पनि मेरो चुनाव जित्ने बलियो आधार हो।

पाँच वर्षको अवधिमा न्यायिक समितिलाई पनि धेरै राम्रो बनाएको छु। मेरो जिम्मेवारीहरू मैले कटिबद्धताका साथ पूरा गरेको छु। राष्ट्र र राष्ट्रियताका लागि मेरो उम्मेदवारी दिएको हुँ। हामी एक ढिक्का भएर लागेका छौं।

निर्वाचनकै मुखमा नेकपा (एस)को जिल्ला अध्यक्षले पार्टी परित्याग गर्नुभयो, यसले असर पार्दैन ?

उहाँ गएपछि हाम्रो पार्टी थप मजबुत बनेको छ। संगठन विस्तार भएको छ। काम गर्नको लागि हामीलाई थप सहज भएको छ।

पाँच वर्षसम्म हेटौंडा उपमहानगरपालिकाको उपमेयरको रुपमा काम गर्नुभयो। आफ्नो कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?

म एकदमै सफल भए भन्ने लाग्छ। मैले कुशलताका साथ आफ्नो भूमिका निर्वाह गरेको छु। आफ्नो क्षमता राम्रोसंग प्रदर्शन गर्न सकेजस्तो लागेको छ। उपमेयर भएर काम गर्दा म कहिल्यै विवादमा आइनँ।

हरेक चुनौतिमा मैले सकारात्मक भूमिका निर्वाह गरेको छु। म सफल उपमेयर भएकै कारणले आज मलाई गठबन्धनले उम्मेदवार बनाएको हो। मेरो कार्यकाल राम्रो भयो भन्ने प्रमाण यो पनि हो।


Comment

One thought on “सफल उपमेयर भएकै कारण गठबन्धनले मेयरमा अघि सार्‍यो (अन्तर्वार्ता)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved