पूर्वराष्ट्रपतिका छोरा राष्ट्रपति, वर्तमानकी छोरी उपराष्ट्रपति

पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

नेपालभ्युज

पूर्वराष्ट्रपतिका छोरा राष्ट्रपति, वर्तमानकी छोरी उपराष्ट्रपति

मनिला। फिलिपिन्समा पूर्वराष्ट्रपतिका छोरा राष्ट्रपति र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।

कठोर शासकका रूपमा चिनिएका पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

पूर्वराष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा उम्मेदवारहरू उठाएका थिए। दुई प्रभावशाली राजनीतिक नेताहरूको तालमेलका कारण उनीहरूका दुवै उम्मेदवार अत्यधिक मतान्तरका साथ मङ्गलबार विजयी भएका छन्।

राष्ट्रपतिका उम्मेदवार मार्कोस जुनियरले कुल मतको ५६ प्रतिशत मत पाएको र त्यो संख्या आफ्नो प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर भएको निर्वाचन आयोगले जनाएको छ। उनका निकटतम प्रतिस्पर्धीको रूपमा उदारवादी पक्षधर एवं वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडो चुनावी मैदानमा थिए।

नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले एक करोड ६० लाखभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपतिसहित देशभरबाट झण्डै १८ हजार प्रतिनिधि चयनका लागि सोमबार देशभरी मतदान भएको थियो। त्यस अन्तर्गत एक-एक जना राष्ट्रपति र उपराष्ट्रपति, १२ जना सिनेटर, ३०० भन्दा बढी संसदका प्रतिनिधिहरू र १७ सय भन्दा बढी अन्य स्थानीय प्रतिनिधिहरू रहेका छन्।

मतदानका लागि देशभरी ३७ हजार २११ मतदान केन्द्रहरू तय गरिएको थियो।

नवनिर्वाचित राष्ट्रपति मार्कोसले गरिबी घटाउनेदेखि कमजोर लोकतन्त्रलाई बलियो बनाउने सम्मका प्रतिवद्धता जनाएका थिए। कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउनेलगायतका विषय पनि प्रमुख एजेण्डा बनेका थिए।

पूर्वसिनेटर समेत रहेका ६४ वर्षका मार्कोसले अब वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई विस्थापित गर्नेछन्। अहिलेका राष्ट्रपतिको ६ वर्षे कार्यकालमा देशमा धेरै हिंसात्मक घटनाहरू भएका छन्।

फिलिपिन्सको राष्ट्रपति बन्नका लागि अरु आठ जनाले पनि उम्मेदवारी दिएका थिए। निर्वाचनको सुरक्षाका लागि ४५ हजार सैनिक र ६० हजार प्रहरी परिचालन गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved