विश्वप्रख्यात उर्दू कवि फैज अहमद फैजसँग को डराइरहेछ ?

विद्यालयका पाठ्यपुस्तकबाट फैजका कविताहरू हटाइएको घटनाले एउटा अप्रिय तथ्य स्पष्ट पार्छ – कुनै पनि प्रकारको विरोधका लागि छुट छैन।

विश्वप्रख्यात उर्दू कवि फैज अहमद फैजसँग को डराइरहेछ ?

‘वर्षा त एक थोपा पानीबाटै शुरु हुन्छ’, साउदी अरबका अधिकारकर्मी मनाल अल–सरिफ भन्छिन्। सरिफ तिनै अधिकारकर्मी हुन् जसलाई महिलालाई सवारी साधन चलाउन गरिएको निषेधको विरोध गरेका कारण जेल चलान गरिएको छ। तर हाम्रो देशमा त त्यो पहिलो एक थोपा अम्लीय वर्षाको थियो जुन त्यतिबेला खसेको थियो जब एल. के. आडवाणीको घृणाले भरिपूर्ण ‘रथ यात्रा’को साथरी भएबापत नरेन्द्र मोदीलाई गुजरातको मुख्य मन्त्रीमा पदोन्नती गरिएको थियो। त्यही ‘रथ यात्रा’ जसले मुसलमान समुदायलाई अन्यमा परिणत गर्ने प्रवृत्तिको ढोका खोलेको थियो। (सेप्टेम्बरदेखि अक्टोबर १९९० मा सम्पन्न ‘रथ यात्रा’ भारतीय जनता पार्टीले आयोजा गरेको थियो जसको नेतृत्व भाजपाका ततकालीन उपाध्यक्ष आडवाणीले गरेका थिए। अयोध्याको बाबरी मस्जिद भत्काएर राम मन्दिर बनाउनुपर्ने मागसहित विश्व हिन्दू परिषद् र संघ परिवारले आयोजना गरेको प्रदर्शनलाई साथ दिन उक्त रथ यात्रा गरिएको थियो। –अनुवादक)

मुस्लिम पुरुष र महिलालाई एक अर्कोबाट अलग्याउने योजना केवल प्रतिबन्ध होइन यो त ‘तीन तलाक’को अपराधीकरण पनि हो। मोदीले हरेकपटक जब मुस्लिम महिलाप्रतिमात्रै (पुरुषप्रति कहिल्यै होइन) आफ्नो चासो देखाउँछन्, यो विडम्बना दोहोरिन्छ। कसैले पनि शाहिन बागमा प्रदर्शन गरिरहेका यी ‘बेहन बेटियाँ’ (दिदीबहिनी र छोरीहरू) एकाएक ‘विदेशीबाट सञ्चालित’ गद्दार बनाइन्छन् भन्ने ध्यान दिनासाथ यो पाखण्ड बुझिहाल्छ। यसै पनि आन्दोलनरत किसानहरूलाई ‘आन्दोलनजीवि’ र परजीवि लान्छना लगाउने मोदीको प्रयासले खासै काम गरेन।

मोदीका लाखौं समर्थकहरूले हरेक खराब कर्मका लागि प्रधानमन्त्रीका लागि जिम्मेवार ठान्न सकिँदैन भनेर जिद्दी गर्न सक्छन्। हिन्दूत्वका पण्डितहरूले हरेक दिनजसो फैलाइरहेको बर्बर द्वेषजस्तोमा पनि प्रधानमन्त्रीलाई दोषी मान्न हुँदैन भन्ने उनीहरू तर्क गर्न सक्छन्। मुस्लिमहरूको नरसंहारको खुला आह्वानप्रति कसैले पनि प्रतिक्रिया दिँदैन (निन्दालाई बिर्सीदिनुस्)। त्यसको प्रमाण खोज्ने हो भने माथिबाटै यसको शुरुआत गरिएको देखिन्छ। पटकपटक औरंगजेब र महमुद गजनवीको कुरा गर्नुको एउटै उद्धेश्य छ– देशका दक्षिणपन्थी हिन्दू जमातमा रहेको काल्पनिक घाउ कोट्याइरहनु। आफ्नो सम्पूर्ण प्रयास लगाएर बेलायतीहरूको सामना गर्ने ‘टीपू सुल्तान’ पनि निन्दाबाट बचेनन्। यति भएपछि ताज महल र कुतुब मिनार मुस्लिम स्मारकमा परिणत गरिएका ‘हिन्दू मन्दिर’ त भइहाल्ने भए।

प्रसिद्ध उर्दू कवि फैज अहमद फैजको कविता ‘हम देखेंगे….’ जिया–उल हक (पाकिस्तानका छैठौं राष्ट्रपति, सैनिक शासक)को शासनकालमा रचिएको थियो। उनले ‘आज बजार में…’ चाहिँ अयुब खान (पाकिस्तानका दोस्रो राष्ट्रपति, सैनिक शासक) सरकारले थुनेको बेलामा जेलमै लेखेका थिए।  उनी कहिल्यै पनि तानाशाहले गर्ने लोकतन्त्रको ढोंगबाट विचलित भएनन्। विद्यालयका पाठ्यपुस्तकबाट फैजका कविताहरू हटाइएको घटनाले एउटा अप्रिय तथ्य स्पष्ट पार्छ – कुनै पनि प्रकारको विरोधका लागि छुट छैन। यी कविताले हाम्रो देशमा बन्दी बनाइएका बौद्धिक, अभियन्ता र शिक्षकहरूको आवाज प्रतिध्वनित गर्छ भनेर के कोही भयभीत छ ? वा फैज पाकिस्तानी भएकाले मात्र उनको कविता हटायएको हो। उनको कविता ‘हम के ठहरे अजनबी…’ हटाउनु त झनै विस्मयकारी छ किनभने यो कविता फैजले घाउ कोट्याउन नभई मल्हम लगाउन लेखेका थिए जब उनी भर्खरै स्थापित बंगलादेशको भ्रमण गरेका थिए। मलाई साँच्चै नै आश्चर्य लागिरहेछ, यी कविता प्रतिबन्ध लगाउने निर्णय गर्ने शिक्षा समितिका मानिसरुले यी कविता पढेका वा बुझेका छन् त ?

यस्तो निर्णय गर्नेमध्ये एक आइआइटी कानपुरका फ्याकल्टी सदस्य हुन्। फैजलिखित पंक्ति ‘सब ताज उछाले जाएँगे, सब बुत उठवाए जाएँगे’ले गजनवीको गरिमागान गरेको भनेर उनी निकै दुखी थिए। यति साँघुरो दृष्टि र काल्पनिकताप्रतिको सीमित बुझाई भएको मानिस आइआइटी वा अन्यत्र जहाँसुकै पनि पढाउन साँच्चै योग्य छ त ? सबैभन्दा हाँस उठ्दो त, ‘हम देखेँगे…’लाई त्यतिबेला पाकिस्तानका दक्षिणपन्थीले मुस्लिमविरोधी ठानेका थिए (अहिले भारतमा हिन्दूविरोधी मानिएको छ– अनुवादक)। यो भन्दा ठूलो डर त अर्को छ। कुनै दिन फैजको मात्र होइन सिंगो उर्दू कविता र साहित्य हाम्रो देशमा प्रतिबन्धित हुनसक्छ। उर्दू भाषालाई विदेशी, मुस्लिम भाषा भनेको सुन्दा, भारतको इतिहासबाट मुस्लिम उपस्थिति हटाउने हरप्रयत्न गरेको देख्दा र प्रधान सेवकहरूले लाल किल्लाको भग्नावशेष (जुन हिन्दू राजाहरूले बनाएका हुन्) बाट मुगलहरूले देश लुटेको उद्घोष गरिरहेको देख्दा भविष्यमा त्यस्तो दिन आउने डर पलाउँछ।

जबकि यही समयमा एक देशका प्रधानमन्त्रीलाई मोदीको ‘खास दोस्त’ भन्दै स्वागत गरिन्छ र अंकमाल गरिन्छ। त्यही देश जसले साँच्चै नै हामीलाई लुटेको थियो। (बोरिस जोन्सनलाई त्यसरी स्वागत गरिएको थियो।) मानौं उनी आफ्नो अलपत्र परेको कपालकै कारण आफ्नो देशका प्रधानमन्त्री भएका हुन्। ठ्याक्कै त्यसरी नै डोनाल्ड ट्रम्पको स्वागत गरिएको थियो। यतिबेला जो कोहीको मनमा पनि प्रश्न जागृत हुन्छ, भविष्यमा मोदीको हातमा हात समाएर हिँड्ने अर्को नेता को हुनेछ ? के उनी भ्लादिमिर पुटिन हुनेछन् ?

केही समयअघि आयोजित हाजिरजवाफमा प्रतियोगीहरूले ‘सारे जहाँ से अच्छा हिन्दूस्तान हमाराँ’ का रचयिता को हुन् (रविन्द्रनाथ ठाकुर कि मुन्सी प्रेमचन्द) ? वा ‘इन्कलाब जिन्दावाद’ कसले रचेको शब्द थियो भन्न सकेनन्। शहरका नामहरू प्रसियाली भाषाबाट हिन्दी बनाइएको छ। ‘प्राचीन भारतमा वैदिक वैज्ञानिकहरू’ जस्ता पुस्तकहरू वितरण गरिएका छन् जसले राइट दाजुभाइले बनाउनुभन्दा शदियौं पहिला नै उड्ने विमानहरू थिए, सयौं कौरव जन्माउने ‘आईभीएफ’ प्रविधि थियो, गणेशको शीर हात्तीको हुनु प्लास्टिक सर्जरी हो भन्ने दाबी गर्छ। यी तथ्यहरूले भविष्यमा इतिहासका किताब मिथक भन्दा फरक नहुने देखाउँछन्। त्यस्ता पुस्तक देखेर सिंगो संसार हामीप्रति हाँस्नेछ।

करीब ६ सय वर्षको मुस्लिम शासनमा हिन्दू जनतालाई मुस्लिम आक्रमणकारीहरूले अकथनीय पीडा दिए र तिनको उद्धेश्य मन्दिरहरूलाई मस्जिदमा बदल्ने मात्र थियो भन्ने स्थापित गर्न खोजिएको छ।

साँच्चै, ‘कति वर्षातपछि रगतका धब्बाहरू पखालिनेछन् ?’

‘इन्डियन एक्सप्रेस’मा ८ मेमा प्रकाशित चर्चित भारतीय अभिनेता नसिरूद्दीन शाहको यो लेखको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved