सिर्जनाबारे देउवाको टिप्पणी : पार्टीमा काम गरेकी, जहिले पनि दुःख पाएकी

नेपालभ्युज

सिर्जनाबारे देउवाको टिप्पणी : पार्टीमा काम गरेकी, जहिले पनि दुःख पाएकी

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर र काठमाडौं महानगरमा सत्ता गठबन्धनबाट उठेका दुवै महिलालाई जिताउनुपर्ने बताएका छन्।

काठमाडौंमा आज गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले दुवै महिला उम्मेदवार सक्षम भएर नै गठबन्धनले टिकट दिएको पनि बताए।

भरतपुरकी मेयर उम्मेदवार रेनु दाहालबारे देउवाले भने, “उनको गल्ती नै के हो भने प्रचण्डजीको छोरी भएर जन्मिनुभो उहाँ। कहाँ जन्मिने भन्ने कुरा आफ्नो हातमा हुन्छ ? त्यही गल्ती भयो त्यो गल्ती उहाँले गरिसक्नुभयो।”

रेनुको तारिफ गर्दै देउवाले भने, “कति राम्रो काम गर्नुभएको छ। वास्तवमा भन्ने हो भने त्यस्तो राम्रो काम गर्ने मान्छेलाई हुँदैन भन्छन्। राम्रो काम गर्ने मान्छेलाई त पुरस्कार पो दिनुपर्छ त। गठबन्धनकी उम्मेदवार हुन्। राम्रो काम गरेकी पनि छन्।”

गठबन्धनले रेनुलाई भरतपुरको टिकट दिए पनि आफ्नै पार्टीका केही मान्छेहरूले बखेडा झिकेका उनले आरोप लगाए।

त्यस्तै सिर्जना सिंहका बारेमा देउवाले भने, “आमाबाले बिहा गरेर दिइहाले गर्नु के ? प्रकाशमानको फेला परे गर्नु के? जहिले पनि दुःख पाएकी पार्टीमा काम गरेकी, त्यसबेला चलन तै थियो आमाबाउले बिहे गरेर दिइहाले।” प्रकाशमानको श्रीमती भएर बिहे गर्नु गल्ती भएको हो भने उनले प्रश्न गरे।

त्यस्तै देउवाले पार्टीको महाधिवेशनबाटै वर्तमान गठबन्धन बनेको पनि खुलाए। गठबन्धन आवश्यक छ भनी महाधिवेशनमा सर्वसम्मतले पास भएको पनि उनले बताए। भने, “महाधिवेशनमा कसैले विरोध गरेन यसको, पूराका पूरा महाधिवेशनले गठबन्धन आवश्यक छ भनेर पास गरेको छ।”

आफ्नो पार्टीको केन्द्रीय समितिले पनि गठबन्धनको खिलाफमा कोही नबोलेको उनले बताए। गठबन्धन गर्ने विषयमा सम्पूर्ण अधिकार पनि आफूले पाएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved