संस्कृति र समाज अध्येता चैतन्य सुब्बाको निधन

नेपालभ्युज

संस्कृति र समाज अध्येता चैतन्य सुब्बाको निधन

काठमाडौं। संस्कृति र समाज अध्येता डा. चैतन्य सुब्बाको निधन भएको छ। ‘हिस्ट्री एण्ड कल्चर अफ लिम्बुज’ पुस्तकका लेखक उनको बुधबार काठमाडौंमा निधन भएको हो।

त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डा. डम्बर चेम्जोङले उनलाई सामाजिक समावेशीकरणका विज्ञका रूपमा स्मरण गरे। “उहाँ विकास र विकास–योजनाका विज्ञ हुनुहुन्थ्यो, गणतन्त्रपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला उहाँ राष्ट्रिय योजना आयोगका सदस्य हुनुभएको थियो,” डा. चेम्जोङले नेपालभ्यूजसँग कुरा गर्दै  स्मरण गरे, “उहाँको नाम मात्र सुब्बा होइन, उहाँ लिम्बूको सुभाङ्गी प्रथाको सुब्बा हुनुहुन्थ्यो। उहाँ लिम्बुवानको परम्परागत सुब्बा हो। ”

ताप्लेजुङ जिल्लाको थेचम्बुका स्थायी बासिन्दा थिए–डा. चैतन्य सुब्बा। उनले लागु पदार्थको दुव्र्यसनसम्बन्धी उपचारका विषयमा विद्यावारिधि गरेको पनि चेम्जोङले बताए। डा. सुब्बा ७५ वर्षका थिए। उनी मधुमेहका बिरामी थिए।

जिल्ला पञ्चायतको उपसभापति भएका उनी युवक संगठनको सचिवसम्म भएका थिए। ०७० सालको दोस्रो संविधानसभा निर्वाचनपछि उनले आफ्नो अध्यक्षतामा ‘सामाजिक लोकतान्त्रिक पार्टी’ नामको राजनीतिक दल गठन गरेका थिए जो पछि डा. बाबुराम भट्टराई नेतृत्वको ‘नयाँशक्ति पार्टी’मा विलय भएको थियो।

प्रतिनिधिसभाका एमाले सांसद् डा. विजय सुब्बाले डा. सुब्बाको निधनले आफू स्तब्ध भएको बताए। “नेपालका एक जना क्षमतावान र स्थापित विद्वानको अवसानले ठूलो क्षति पुगेको छ,” उनले भनेका छन्, “विशेषगरी लिम्बू भाषा, साहित्य, संस्कृति र इतिहासका ज्ञाता र आदिवासी जनजातिको हक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरूमा चर्चित डा सुब्बा एक जना अग्रज सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो।”


Comment

One thought on “संस्कृति र समाज अध्येता चैतन्य सुब्बाको निधन

  1. नेपाली आकासको सुदुर-पूर्वी क्षितिजमा उदाएका एक चेतनारुपि घाम अस्ताए पनि त्यो प्रकाश अनि उज्यालो धर्तिभरी फैलिरहनेछ। हार्दिक श्रद्धाञ्जली ।

    K.D Rai
    Chaksibote, Taplejung

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved