टोखामा ४० मतदान केन्द्र, एक दलित महिला सदस्य निर्विरोध

नेपालभ्युज

टोखामा ४० मतदान केन्द्र, एक दलित महिला सदस्य निर्विरोध

काठमाडौँ। टोखा नगरपालिकामा ४० मतदान केन्द्र राखिने भएको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि १५ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने टोखा नगरपालिकाका सहायक निर्वाचन अधिकृत अनिलप्रसाद जोशीले जानकारी दिए।

टोखामा विभिन्न ५६ पदका लागि २४६ जनाले उम्मेदवारी दिएका छन्। नगरप्रमुखमा १५, उपप्रमुखमा ६, वडा अध्यक्षमा ५६, खुला वडा सदस्यमा ९४, महिला वडा सदस्यमा ४४ र दलित महिला सदस्यमा ३१ जनाको उम्मेदवारी परेको जोशीले बताए।

जोशीका अनुसार कूल ५७ पदका लागि निर्वाचन हुनुपर्नेमा एक दलित महिला सदस्य भने निर्विरोध निर्वाचित भएकी छन्। टोखा–२ का दलित महिला सदस्य लक्ष्मी हिङमाङ निर्विरोध निर्वाचित भएको उनले जानकारी दिए। उनी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार थिइन्।

टोखाको स्थानीय निर्वाचनका लागि १० राजनीतिक दलले भाग लिएका छन् भने अन्य स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।

सहायक निर्वाचन अधिकृत जोशीले पछिल्लो समय निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण, परिचयपत्र वितरण, मतदान केन्द्र र मतदानस्थलको अनुगमन, आचारसंहिताको अनुगमनलगायत काम गरिरहेको बताए।

साविक झोर महाङ्काल, टोखा चण्डेश्वरी, धापासी, गोँगबुलगायतका गाउँ विकास समितिलाई समेटेर निर्माण भएको टोखा नगरपालिकामा ११ वडा रहेका छन्। उक्त नगरपालिकामा स्थानीय तहको निर्वाचनका लागि कूल ३४ हजार ६७६ मतदाता रहेको निर्वाचन कार्यालय टोखाले जनाएको छ।

टोखा नगरपालिकको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट रजनी थापा र उपप्रमुखमा मुरारी तामाङ तथा नेकपा (एमाले) को तर्फबाट प्रमुखमा प्रकाश अधिकारी र उपप्रमुखमा ज्ञानमाया डङ्गोलले उम्मेदवारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved