सम्सीमा निर्वाचन कार्यक्रम पुनः दोहोरिने

नेपालभ्युज

सम्सीमा निर्वाचन कार्यक्रम पुनः दोहोरिने

जनकपुरधाम। महोत्तरीको सम्सी गाउँपालिकाकामा निर्वाचन कार्यक्रम पुनः दोहारिने भएको छ।

निर्वाचन आयोगले सम्सीमा कायम रहेको विवाद साम्य पार्न निर्वाचन अधिकृत फेर्दै यहाँ निर्वाचन कार्यक्रमहरू पुनः दोहोर्‍याउने भएको हो।

निर्वाचन अधिकृत विनोद कुमार दाहालका अनुसार निर्वाचन आयोगले संशोधन कार्यक्रमसहित निर्वाचन गतिविधि गर्न निर्देशन दिइएकाले सोहीअनुसार यहाँ कार्यक्रम सञ्चालन हुने जानकारी दिएका छन्।

निर्वाचन अधिकृत दाहालले भने, “यसभन्दा अघिका निर्वाचन अधिकृत दिलीपकुमार प्रधानले कार्यसम्पादन गर्ने क्रममा विवाद सिर्जना भएपछि कार्यक्रम फेरिएको हो। अब सम्सी पालिकाको हकमा नयाँ कार्यतालिका प्रकाशन भएको छ। जसअनुसार भोलि सोमबार दोस्रो पटक मनोनयन जाँच गर्ने, उजुरीउपर जाँचबुझ गरी निर्णय गरिने भएको छ।

त्यस्तै सोही दिन दाबी विरोधको छानबिन गरिएपछि अन्तिम नामावली प्रकाशन गरिनेछ। अनि वैशाख २१ गते मंगलबार चुनाव चिह्न प्रदान गरिनेछ।

निर्वाचन आयोगले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्सी गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत उपसचिव प्रधानलाई फिर्ता पठाइएको हो। प्रधानको ठाउँमा निर्वाचन अधिकृत विनोदकुमार दाहाललाई खटाइएको छ।

यसअघिका निर्वाचन अधिकृत प्रधानले माओवादी केन्द्रका दुई वडाध्यक्ष र एक जना वडा सदस्यको उम्मेदवारी रद्द गरेका थिए। निवर्तमान वडाध्यक्ष र सदस्यले गाउँपालिकाबाट लिएका जिन्सी सामान फिर्ता र बेरुजु रकम दाखिला नगरी फेरि वडाध्यक्षको उम्मेदवार भएको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि वडाध्यक्ष र सदस्यको उम्मेदवारी रद्द गरिएको थियो।

निर्वाचन अधिकृतको कार्यालय वडा नं. २ मा माओवादी केन्द्रका उम्मेदवार शेष मकसुद आलम र माओवादी केन्द्रकै वडा नं. ६ का अध्यक्षका उम्मेदवार शेष उमैदको उम्मेदवारी रद्द गरेको थियो।

माओवादी केन्द्रका तीन जना उम्मेदवारको उम्मेदवारी रद्द भएपछि गत शुक्रबार निर्वाचन अधिकृत कार्यालय अगाडि उनीहरूले प्रदर्शन गरेका थिए।

किन फेरिए सम्सी गाउँपालिकाका निर्वाचन अधिकृत ?

दुई दिनदेखि उम्मेदवारको विषयमा तनावग्रस्त रहेको सम्सी गाउँपालिकामा निर्वाचन अधिकृत फेरिएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेश प्रदेशमा कार्यरत उपसचिव प्रधानलाई हटाएर निर्वाचन आयोगले सिद्धिचरण नगरपालिका ओखलढुंगामा कार्यरत सोही तहका विनोद कुमार दाहाललाई सम्सीको निर्वाचन अधिकृत तोकेको हो।

सम्सीमा १२ वैशाखमा मनोनयन दर्ता गरेकाहरू वडा नं. २ का वडाध्यक्ष उम्मेदवार शेष मकसुद आलम र वडासदस्य मोहमद मकसुद , वडा नम्बर ६ का वडाध्यक्ष शेष उमैद र वडा नं. ७ का वडाध्यक्ष तेज नारायण यादवको बरबुझारथ तथा अन्य कागजात नपुगेको भनी निर्वाचन अधिकृत प्रधानले मनोनयन खारेज गरेकोमा पछि उम्मेदवारहरूले सबै कागजात पेश गरेको दाबी गरेपछि कार्यालयमै कागजातहरू फेला परेको थियो।

सोही विषयमा दुई दिनदेखि विवाद र विरोध क्रममा रही सम्सीस्थित निर्वाचन कार्यालयमा कामकाज ठप्प भएको थियो। यस्तो अवस्था आएपछि प्रधानले निर्वाचन आयोगलाई सबै व्यहोरा अवगत गराउँदै आवश्यक निर्देशनका लागि पत्र लेखेका थिए।

सोही क्रममा निर्वाचन आयोगले प्रधानको गल्तीले यस्तो अवस्था सिर्जना भएको भन्दै उनलाई हटाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved