गनेस पौडेललाई निर्वाचन अधिकृतको फोन – तपाईंलाई ‘लौरो’ दिन मिल्दैन

नेपालभ्युज

गनेस पौडेललाई निर्वाचन अधिकृतको फोन – तपाईंलाई ‘लौरो’ दिन मिल्दैन

काठमाडौं। निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्दैछ। यसैबीच ‘लौरो’ चुनाव चिह्न रोजेका अटेरी समूहलाई जिल्ला निर्वाचन अधिकृतको कार्यालय कास्कीले पोखरा महानगरपालिका स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेललाई लौरो चुनाव चिह्न नदिने बताएको छ।

आज बिहान चुनाव चिह्न कार्यालयले पौडेललाई लौरो चिह्न दिएकोमा अन्तिम समयमा आएर उक्त चुनाव चिह्न दिन नमिल्ने बताएको छ। कार्यालयका अधिकृत कृष्ण सुवेदीले पौडेललाई फोन गरेर उक्त चुनाव चिह्न दिन नमिल्ने बताएका हुन्।

पक्का भइसकेको चिह्न नपाएपछि पौडेलले साँझ पाँच बजे अटेरी समूहका उम्मेदवारसँग छलफल राखेका छन्। आजै अबेरसम्म पत्रकार सम्मेलन गर्ने उनले बताए।

‘‘अभियानबाट त्रसित दलको प्रभावमा निर्वाचन अधिकृतको कार्यालयले हामीलाई ३ घण्टाअघि नै प्रदान गरेको चुनाव चिन्ह अहिले आएर दिन नमिल्ने भनी जानकारी गराएको छ,” उनले भनेका छन्, ‘‘आफैँले दिएको सूची मध्येबाट पाएको चिन्हलाई दिन नमिल्ने भनेर निर्वाचन आयोगले आफू निष्पक्ष नरहेको संकेत दिएको छ।”

यता कार्यालयका अधिकृत सुवेदीले भने पौडेलले चुनाव चिह्न रोजेको मात्र आफूले दिइनसकेको बताएका छन्। साँझ पाँच बजेसम्म रोज्ने समय रहेको र त्यसपछि मात्रै चुनाव चिह्न दिन मिल्ने उनले बताए। ‘‘रोजेको चिह्नलाई पाइसक्यौँ भनेर दिएन भन्न मिल्दैन, उहाँहरूले चिह्न रोजेको मात्र हो पाइसकेको होइन,” उनले भने, ‘‘पोखराको मतपत्रमा लौरो चुनाव चिह्न नभएकाले हामीले त्योबाहेकको चिह्न रोज्नुस् भनेर जानकारी गराएका हौँ।”

पौडेलले आफूले लौरो चुनाव चिह्न पाएको भन्दै प्रचारप्रसार शुरु गरिसकेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved