बेइजिङ डायरी

के हो चीनले अँगालेको शून्य-कोभिड नीति ?

शाङ्हाईमा लकडाउन भएयता गत २८ मार्चसम्म शाङ्हाई रेलवे स्टेशनले विभिन्न स्थानबाट २१ चरणमा १० हजारभन्दा बढी चिकित्सकहरूलाई शाङ्हाई पुर्‍याएको छ। त्यसबाहेक २४ चरणका लगभग ३० हजारभन्दा बढी चिकित्सा सामानको ढुवानी पनि गरेको छ।

के हो चीनले अँगालेको शून्य-कोभिड नीति ?

मङ्गलबार अपरान्ह कार्यालयको समय सकिने बेलामा वीच्याट एपमा एउटा म्यासेज आयो। लेखिएको थियो- ‘तपाईको बसोबास क्षेत्र नजिकै गएर अनिवार्य रुपमा आजै पीसीआर परीक्षण गराउनुहोला। आगामी बिहीबार र शनिबार गरेर तीनपटक पीसीआर परीक्षण गर्नुपर्नेछ।’

सूचनामा तोकिएको स्थानमा गइयो। बसोबास क्षेत्रको नजिकै एउटा पार्कमा पङ्तिवद्ध गराएर पीसीआर परीक्षण हुँदै रहेछ। हामी त्यहाँ पुग्दा परीक्षण गराउनेको संख्या नगन्य थियो। लाइनमा बस्नै परेन। राहदानी देखाएपछि एकजना पाको स्वास्थ्यकर्मी महिलाले आफ्नो मोबाइलमा राहदानी नम्बर र नाम टिपेपछि अगाडि गएर पीसीआर परीक्षण गराइयो। यसका लागि तीन मिनेट समय पनि लागेन।

कोभिड फैलिएको दुई वर्षभन्दा बढी भइसकेको छ। यस बीचमा चीनले लगभग पूर्ण रुपमा कोभिड नियन्त्रण गरिसकेको छ। शीतकालीन ओलम्पिक जस्ता ठूलो समारोहहरु चीनले प्रत्यक्ष भौतिक रुपमै सम्पन्न गरिसकेको छ। तै पनि तीन-तीनपटक पीसीआर परीक्षण त्यो पनि अनिवार्य!

कोभिड महामारीलाई लिएर चीनजति गम्भीर अर्को कुनै देश छैन। गत २ वैशाखमा बेइजिङस्थित नेपाली दूतावासले नयाँ वर्षको स्वागत कार्यक्रमको आयोजना गरेको थियो। दूतावासले निमन्त्रणा गरे पनि उक्त कार्यक्रममा सहभागी हुन पाइएन।

नयाँ वर्षका अवसरमा दूतवासले आयोजना गरेको कार्यक्रममा सहभागी हुने तीव्र इच्छा भए पनि कार्यालयले सभासमारोहमा सकेसम्म सहभागी नहुन सचेत गराएको थियो। कार्यालयको चेतावनीलाई शिरोधार्य गर्नुको विकल्प पनि थिएन।

आफू सहभागी भएको कार्यक्रममा कहीँकतैबाट कोभिड संक्रमितको सम्पर्कमा रहेको कुनै व्यक्तिको सम्पर्कमा पुगेको व्यक्ति सहभागी रहेको पाइएमा कार्यक्रममा सहभागी सबैलाई क्वारेन्टाइनमा राखिन्छ।

यसलाई स्पष्ट पार्नका लागि एउटा उदाहरण यस्तो छ। म कार्यरत चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाकी उपप्रमुख लिउ वन (नेपाली नाम सुमेघा) केही समय अगाडि होम क्वारेनटाइमा परेकी थिइन्। के भएछ भने उनका श्रीमान् कार्यरत अफिसमा काम गर्ने एकजना कर्मचारीको घरमा सफाइमा काम गर्न आउने व्यक्तिका परिवार कोभिड संक्रमितको सम्पर्कमा पुगेका रहेछन्।

कोभिड संक्रमितको सम्पर्क सञ्जाललाई तोड्नका लागि यहाँ कतिओटा घेरा छन् थाहा पाउनुभयो?सुमेघा क्वारेन्टाइनमा बस्नुको पछाडि उनको श्रीमानको सम्पर्क उनका कर्मचारीसँग थियो। ती कर्मचारीको घरमा सफाइको काम गर्न आउने व्यक्ति संक्रमितको सम्पर्कमा रहेको पत्ता लागेको थियो।

यहाँ चारओटा सम्पर्क घेरा रहेको बुझिन्छ। संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्ति सफाइ कर्मचारी हुन्। उनी संक्रमित भएका थिएनन् तर संक्रमित हुने सम्भावना चाहिँ थियो। यो पहिलो घेरा हो। दोस्रो घेरामा सफाइ गराउने व्यक्ति भए। उनी सुमेघाका श्रीमान्‌सँगै काम गर्थे। सुमेघाका श्रीमान् तेस्रो घेरामा परे। श्रीमान् निगरानीमा परेकाले सुमेघा पनि होम क्वारेनटाइनमा बस्नुपर्ने अवस्था भयो। उनी चौथो घेरामा थिइन्।

कोभिडलाई लिएर चीनले यस्तो नीति लिएको छ। अनि कसरी कुनै सभासमारोहमा जान सकिन्छ? कथंकदाचित उक्त समारोहमा सहभागी व्यक्ति कतै संक्रमितसँगको सम्पर्क घेरामा परेको छ भने आफू पनि क्वारेनटाइनमा पुगिन्छ। आफूमात्र हो र कार्यालयका सबै सहकर्मी क्वारेनटाइमा जाकिन सक्छन्। विकल्पमा समारोहमा नजानु नै उत्तम।

यो घटनाबाट चीनले अँगालिरहेको कोभिड शून्य नीति कस्तो छ भनेर ऐना देखाउने काम गर्छ। कोभिड महामारीलाई लिएर चीनले शून्य-कोभिड नीति लिएको छ। यो नीतिलाई विश्व स्वास्थ्य संगठन र अधिकांश मुलुकले प्रशंसा गरेका छन्। अमेरिकी सञ्चार संस्था सीएनएनले पनि चीनको कोभिड शून्य कोभिड नीतिको प्रशंसा गरेको छ।

चीनले अँगालेको शून्य-कोभिड नीति विश्वका कुनै पनि ठाउँमा महामारीसँग लड्नका लागि सबैभन्दा कडा दृष्टिकोण हो। तर पछिल्लो समय चीनमा फेरि फैलिएको संक्रमण बृद्धिले यसलाई महामारीसँग कसरी व्यवहार गर्छ भन्न प्रश्न उठेको छ।

चीनमा दैनिक बढ्दै गएको संक्रमण, देशभरिमा व्यापक फैलावट, ओमिक्रोन भेरियन्टले त्रास आदिका कारण समस्या गम्भीर बन्दै गएको देखिन्छ।

विशेष गरी पूर्वमा पर्ने चीनकै सबैभन्दा ठूलो शहर र आर्थिक केन्द्र शाङ्घाईमा कोभिड फैलिएपछि लकडाउन गरिएको छ। शाङ्हाईमा भएको लकडाउनले विश्वको ध्यान तानेको छ। कारण यो शहर विश्वका विकसित शहरहरुमा अग्रपङ्ग्तिमा आउँछ। विश्व अर्थतन्त्रको केन्द्रविन्दुका रुपमा शाङ्हाईको विकास १८ औँ शताब्दीमै भएको हो। सधैँ गुल्जार र चलपहलमा रमाउने चार करोडभन्दा बढी जनसंख्या भएको शाङ्हाई यतिबेला चकमन्न र सुनसान छ।

जे जति चहलपहल छ, गतिविधि छ, क्रियाशीलता छ सबै कोभिडको सामूहिक परीक्षण, अस्थायी अस्पताल निर्माण, लकडाउनमा रहेका नागरिकका अतिआवश्यक उपभोग्य सामानको आपूर्ति, चीनका अन्य प्रान्तबाट शाङ्हाई पुग्ने स्वास्थ्यकर्मीहरुको आवातजावत र शान्तिसुव्यवस्थामा खटेका सुरक्षाकर्मीको चहलपहल मात्र छ।

चीनमा मार्च अन्तिम सातासम्म करिब ५४ हजार व्यक्तिमा कोभिड संक्रमण देखिएको थियो। कोभिड संक्रमित भएका नयाँ व्यक्तिमा यो संख्या निकै ठूलो भए पनि अमेरिकाको तुलनामा निकै कम हो। सोही समयमा अमेरिकामा १ लाख ८० हजार व्यक्ति संक्रमित थिए।

पछिल्लो एक महिनादेखि चीनमा फैलिएको कोभिडको इपिसेन्टर शाङ्हाई बनेको छ। तसर्थ यतिबेला चीनको सम्पूर्ण ध्यान शाङ्हाईमा केन्द्रित छ। शाङ्हाईले गर्दा नै चीनको शून्य-कोभिड नीति सफल अथवा असफल भनेर वहस पनि सिर्जना भएको छ।

चीनको अँगालेको शून्य-कोभिड रणनीति निकै कडा निगरानी र नियन्त्रण विधि हो। कडा निगरानी र नियन्त्रण विधिमा आन्तरिक र अन्तर्राष्ट्रिय आवतजावतलाई कसिलो बनाइएको छ। चीनबाट बाहिर जाने र चीन भित्रिने यात्रीलाई सीमित गरिएको छ। चीनकै आन्तरिक आवागमनमा पनि कडाइ गर्दै थप नियन्त्रण गरिएको छ।

चीन प्रवेश गर्ने अनुमति लिएर विदेशबाट आएका यात्रुहरूलाई स्क्रिनिङ गरी तोकिएका होटलहरूमा कम्तिमा दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा राखिन्छ। क्वारेन्टाइनको अवधि तीन हप्ताको पनि हुनसक्छ। व्यक्तिको ओहोदा र अवस्था हेरेर निर्धाण गरिने भएकाले कम्तिमा दुई हप्ता भनिएको हो।

नियमित रुपमा सामुदायिक परीक्षण कार्यक्रमहरू सञ्चालन गरिन्छ। परीक्षणका क्रममा कुनै संक्रमित पत्ता लागेमा सो क्षेत्रका बासिन्दालाई अलग राखेर क्वारेन्टाइन सुविधामा पठाइन्छ। लक्षित क्षेत्र लकडाउन गरेर सङ्क्रम फैलनबाट रोकिन्छ।

खाद्यान्नका पसल र अन्य अत्यावश्यक आपूर्तिकर्ताहरू बाहेक सबै व्यवसायहरू बन्द गरिन्छ। विद्यालयहरू पनि बन्द गरिन्छ र सार्वजनिक यातायात निलम्बित हुन्छन्। निजी यातायातका सवारी सधानमाथि प्रतिबन्ध लगाइन्छ।

कोभिडका हल्का लक्षण भएका व्यक्तिहरू तोकिएको अस्पतालमा नगई आइसोलेसनमा बस्न सक्छन्। त्यस्ता आइसोलेसनहरु स्थानीय सरकारले तोकेको मापदण्ड अनुसारका हुनुपर्छ।

कोभिडको स्वपरीक्षणका लागि विभिन्न किटहरू देशभरका पसलहरूमा र अनलाइनमा उपलब्ध गराइएको छ। स्वपरीक्षण गर्दा यदि कोभिड पोजेटिभ देखिएमा तुरुन्तै पीसीआर परीक्षण अनिवार्य गर्नुपर्नेछ।

उल्लिखित रणनीति चीनले सन् २०२० को सुरुदेखि नै अँगालेको हो। पछिल्लो समय चाहिँ शून्य-कोभिड रणनीतिका नाममा अझै चुस्त बनाइएको छ। कोभिड नियन्त्रण गर्नका लागि चीनले अँगालेको यस्तो रणनीतिको केही देशले आलोचना पनि गरेका छन्।

केही देशहरूले “भाइरससँगै बाँच्ने” नीति अँगाल्दा चीनले भने शून्य-कोभिड नीति अँगालेको भन्दै आलोचना भएको हो। कोभिडलाई सामान्य मौसमी रुघा जस्तो मानेर जीनजीवनमा अभ्यस्त बनाउनुपर्छ भन्ने केही देशको मान्यता छ। तर चीनले चाहिँ कोभिडलाई लिएर यस्तो उदार नीतिको सक्त विरोध गर्दै आएको छ।

आवर वर्ल्डको तथ्याङ्क अनुसार सन् २०१९ को अन्त्यदेखि यता चीनमा देखिएका कोभिड संक्रमितबाट मृत्यु हुनेको संख्या लगभग चार हजार ६०० छ। कोभिडकै कारण उही अवधिमा अमेरिकामा करीब १० लाख मानिसको मृत्यु भइसकेको छ। तुलनात्मक विश्लेषण गर्दा चीनमा प्रति दस लाख व्यक्तिमा तीन जनाको मृत्यु भएको छ भने अमेरिकामा ३ हजार र बेलायतमा २ हजार ४ सयको मृत्यु भइसकेको छ।

पछिल्लो समय शाङ्हाई कोभिडको नयाँ लहरले आक्रान्त हुँदा जनजीवनलाई व्यवस्थित गर्न र सर्वसाधारणका अत्यावश्यक आवश्यकतालाई पूर्ति गर्नका लागि चीन सरकारले गहन कदम चालेको छ।

शाङ्हाई शहरमा रहेका विद्युतीय कारोबारका विशाल भण्डारमध्ये ५१ ओटा सामान्य रुपमा सञ्चालित हुनुका साथै अन्य मालसामान भण्डार जस्तै सुपर मार्केटका भण्डारमध्ये ८५८ ओटा पुन: सामान्य अवस्थामा आएका छन्। शहरभर माल सामान ओसार पसार गर्ने ढुवानी कर्ताको संख्या झण्डै २० हजार रहेको छ।

हाल शहरमा माल सामान ओसार पसार गर्ने ढुवानी कर्ताका लागि १४३ ओटा अस्थायी केन्द्रको स्थापना गरिएको छ। ती केन्द्रहरूले ढुवानी कर्तालाई आराम गर्ने, सुत्ने र खाना खाने ठाउँ र सेवा प्रदान गरेका छन्।

शाङ्हाईमा लकडाउन भएयता गत २८ मार्चसम्म शाङ्हाई रेलवे स्टेशनले विभिन्न स्थानबाट २१ चरणमा १० हजारभन्दा बढी चिकित्सकहरूलाई शाङ्हाई पुर्‍याएको छ। त्यसबाहेक २४ चरणका लगभग ३० हजारभन्दा बढी चिकित्सा सामानको ढुवानी पनि गरेको छ।

शाङ्हाईमा कोभिडका धेरै संक्रमितहरु देखिनुको मुख्य कारण अधिकांशमा लक्षण नदेखिने भाइरस संक्रमण भएकाले हो। शाङ्हाईमा कोभिडका लक्षण नदेखिएका (एसिम्टोमेटिक)केशहरू आश्चर्यजनक रूपमा बढेका छन्। अप्रिल ५ सम्ममा लगभग २० हजार व्यक्तिमा कोभिड संक्रमण भएको पुष्टि हुँदा ३२२ लाई मात्रकोभिडको लक्षण देखिएको थियो।

लक्षण नदेखिएका संक्रमित नै समुदायमा सबैभन्दा ठूलो समस्याका रुपमा रहन सक्नछन्। लक्षण नदेखिएका व्यक्तिबाट अरुमा संक्रमण हुने र विशेष अवस्थामा रहेका बृद्ध व्यक्ति तथा गम्भीर रोग लागेका व्यक्तिले ज्यान गुमाउन सक्ने अवस्थालाई ध्यान दिएर शाङ्हाईले सामूहिक परीक्षणलाई व्यापकता दिएको हो।

पछिल्लो एक महनामा शाङ्हाईमा कोभिड सङ्करमणबाट १७ जनाको मृत्यु भएको समाचारमा आएको छ। मृत्यु हुने सबै जेष्ठ नागरिक हुन्। शाङ्हाईका जेष्ठ नागरिक हेरचाह केन्द्रमा ३ लाख २० हजारभन्दा बढी वृद्धहरु रहेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले शून्य-कोभिड नीति लागू गर्नका लागि समाजका सबै शक्तिलाई परिचालन गरेको छ। सीपीसीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङले चीनको महामारी व्यवस्थापनमा परिचालनको केन्द्रीय भूमिका देखाउँदै महामारीसँग लड्न “जनयुद्ध” को भूमिकालाई बारम्बार प्राथमिकतामा राख्नुपर्ने बताउँदै आएका छन्।

सीपीसीले आफ्नो संगठनलाई पनि परिचालन गरेको छ। सीपीसीमा ४८ लाख पार्टी सेलहरू रहेका छन्। केन्द्रदेखि ग्रामसम्म फैलिएका यी सेलले सरकारको समानान्तर रुपमा रहेर काम गर्दछन्।

पछिल्लो समय बेइजिङमा पनि छिटफुट रुपमा कोभिड संक्रमण देखिएको छ। बेइजिङमा देखिएको संक्रमण नियन्त्रण गर्नका लागि बेइजिङमा रहेका सबै चार करोड नागरिकको पीसीआर परीक्षण गर्ने क्रममा हामीलाई पनि अनिवार्य परीक्षण गर्ने निर्देशन आएको हो। हाम्रो परीक्षण पनि चीनको शून्य-कोभिड नीतिको एउटा अंश हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved