निर्माण व्यवसायीले रोके तीन हजार ५०० परियोजनाको काम

नेपालभ्युज

निर्माण व्यवसायीले रोके तीन हजार ५०० परियोजनाको काम

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले काम गर्नसक्ने वातावरण नभएको भन्दै ‘निर्माण होलिडे’ शुरु गरेको छ।

निर्माण उद्योग पछिल्लो समयमा निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि, सार्वजनिक खरीद नियमावलीको ११औँ संशोधनका केही त्रुटिपूर्ण बुँदा, बीमा निर्देशिका २०७८ का प्रावधान लगायतका कारण समस्यामा परेको महासंघले जनाएको छ। निर्माण सामग्रीको विरोधमा आजदेखि करीब तीन हजार ५०० आयोजनाका काम रोकिएको छ।

निर्माण व्यवसाय धराशायी भएका कारण ‘निर्माण होलिडे’ गर्नुपरेको महासंघका अध्यक्ष रवि सिंहले बताए। निर्माण उद्योग धराशायी भएका कारण १७ हजारभन्दा बढी व्यवसायी पेशाबाटै पलायन हुने अवस्थामा पुगेको उनको भनाइ छ। महत्वपूर्ण आयोजनाका रूपमा रहेका करीब एक हजार ५०० को काम भने हाल जारी रहेको छ। ‘निर्माण होलिडे’ आजदेखि शुरु गरिए पनि यही वैशाख १३ गतेदेखि ७७ वटै जिल्ला प्रशासन कार्यालय र सातवटै प्रदेशस्थित मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिइनेछ। वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको कार्यतालिका तोकिएकाले धर्ना नराखिएको हो।

निर्माण उद्योग धराशायी हुँदा समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएकाले समस्या समाधानका लागि सरकारसँग माग गरिएको महासंघको भनाइ छ। यसअघि सरकारको ध्यानाकर्षण गराई समयसीमा तोक्दासमेत माग पूरा नभएकाले आन्दोलनमा उत्रन बाध्य हुनुपरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अनौपचारिकरूपमा धर्नाका कार्यक्रम भने महासंघले बिहीबारदेखि नै शुरु गरिसकेको छ। बिहीबार र शुक्रबार सार्वजनिक खरीद अनुगमन कार्यालय र बीमा समितिमा एक÷एक घण्टा शान्तिपूर्णरूपमा धर्ना दिइएको थियो। स्थानीय तहको निर्वाचनको समय भएकाले १३ गतेदेखि आन्दोलन नै गर्नु नपर्ने गरी माग पूरा गर्न महासंघले सरकारसँग माग गरेको छ।

मूल्यवृद्धि समायोजन गर्न, सार्वजनिक खरीद नियमावली २०७८ को ११ औँ संशोधनमा रहेका अमिल्दा बुँदा परिमार्जन गर्नुपर्ने र बीमा निर्देशिका २०७८ खारेज हुनुपर्ने माग गरिएको महासचिव रोशन दाहालले बताए। बीमा निर्देशिका खारेजीको मागमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ९इप्पान० ले पनि ऐक्यबद्धता जनाई सहभागी भएको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved