देउवाले पार्टीका चितवन जिल्ला सभापतिलाई भने, ‘भरतपुरमा मेयरको दाबी छाड्नुस्’

नेपालभ्युज

देउवाले पार्टीका चितवन जिल्ला सभापतिलाई भने, ‘भरतपुरमा मेयरको दाबी छाड्नुस्’
फाइल तस्वीर

काठमाडौं ।  सत्ता गठबन्धन दलभित्र स्थानीय तह निर्वाचनका लागि विशेषगरी महानगर र उपमहानगरबीच तालमेल हुन सकेको छैन। यस्तोमा नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन कांग्रेस सभापति राजेश्वर खनाललाई भरतपुर मेयरमा पार्टीबाट दाबी छाड्न आग्रह गरेका छन्।

देउवाले भरतपुर नेकपा माओवादीलाई दिन आग्रह गर्दै खनालाई निर्णय बदल्न आग्रह गरेका हुन्। खनालले भने, “उहाँले (प्रधानमन्त्री)ले चितवन जिल्लाले गरेको निर्णय सच्याउनुहोस् भन्नुभयो। मैले महानगर, जिल्लाको निर्णय जानकारी गराउँदै हामी निर्णय फिर्ता लिने अवस्थामा छैनौँ भनेँ।”

उनले केन्द्रले जे निर्णय गरे पनि आफूहरूले भरतपुरको मेयर दाबी नै गरिरहेको बताए। नत्र विद्रोह गर्न सक्ने उनले चेतावनी पनि दिए। आफू कार्यकर्ताको भावनाविपरीत जान नसक्ने पनि उनले बताए।

भरतपुर महानगरपालिकामा यसअघि माओवादीले मेयर जितेकाले यो पटक सत्ता गबठबन्धनबाट आफूले मेयरको टिकट पाउनुपर्ने कांग्रेसको माग छ। माओवादीले पनि भरतपुर महानगरपालिका आफूहरूले नपाए काठमाडौं पाउनुपर्ने माग अघि सारेको छ। तर कांग्रेसका स्थानीय नेता कार्यकर्ता भरतपुर महानगर छाड्ने पक्षमा छैनन्।

सभापति देउवाले आज पार्टीका चितवन जिल्ला सभापतिसँगै गण्डकी जिल्ला सभापति शुक्रराज शर्मा र कास्की जिल्ला सभापति किशोर दत्त बराललाई पनि बोलाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved