डिला संग्रौला र भीम पराजुलीसहित विराटनगर मेयरमा कांग्रेसबाट सात जना सिफारिस

नेपालभ्युज

डिला संग्रौला र भीम पराजुलीसहित विराटनगर मेयरमा कांग्रेसबाट सात जना सिफारिस

विराटनगर। नेपाली कांग्रेस विराटनगर महानगर समितिले मेयरमा ७ र उपमेयरमा ११ जनाको नाम केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको छ।

समितिले शनिबार केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई कांग्रेसबाट मेयर र उपमेयर पदका दाबेदारहरूको नाम सिफारिस गरेको हो। महानगर सभापति दीपक चापागाईंले आसन्न स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट विराटनगरको मेयर र उपमेयरका लागि सिफारिस गरिएको नामावली सचिव केसीलाई बुझाएका हुन्।

नामावलीबमोजिम महानगरको मेयरका लागि कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, भीम पराजुली, जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दीपक चापागाईं, प्रदेश समिति सदस्य गोपाल रेग्मी र वर्तमान उपमेयर इन्दिरा कार्कीको नाम सिफारिस गरिएको छ।

यस्तै उपमेयरमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज वर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम प्रस्ताव गरिएको छ।

महानगरको मेयरमा महिला उम्मेदवार हुनसक्ने सम्भावनालाई आकलन गर्दै उपमेयर पदका लागि पुरुषको समेत नाम सिफारिस गरिएको नेपाली कांग्रेसका महानगर सभापति दीपक चापागाईंले बताए। उनले विराटनगरमा कुनै पनि गठबन्धन र तालमेल नगर्ने सुझावसहित एकल निर्वाचनमा जानेगरी नामावली प्रस्ताव गरिएको जानकारी दिए।

अघिल्लो पटक निर्वाचित मेयर पराजुली र उपमेयर इन्दिरा कार्कीको नामसहित महानगर समितिले ७ जनाको नामावली केन्द्रीय कार्यालयमा बुझाएसँगै कसले टिकट लिने भन्ने दौडधुप शुरु भएको छ। महानगर समितिले भने तालमेल आवश्यक नरहेको बताउँदै ‘हेभीवेट’हरूको नाम सिफारिस गरिएको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved