माओवादी नफुटेको भए एमालेसँग हाम्रो ६० प्रतिशत हिस्सा हुन्थ्योः प्रचण्ड

एमालेका नेताहरूले आफूलाई नेता मान्न थालेपछि षडयन्त्र शुरु भएको दाबी

नेपालभ्युज

माओवादी नफुटेको भए एमालेसँग हाम्रो ६० प्रतिशत हिस्सा हुन्थ्योः प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नफुटेको भए नेकपा एमालेसँगको एकतामा ६० प्रतिशत हिस्सा आफूहरूको हुने बताएका छन्।

आज (बिहीबार) पार्टीले माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “तपाई हामी सबै एकै ठाउँमा हुन्थ्यौं भने, हामीले ६०/४० भनेर गरियो, त्यसो गर्न गर्नुपर्दैन्थ्यो, सायद ६० हाम्रो हुन्थ्यो र ४० एमालेको हुन्थ्यो भने पार्टी फुट्दैन थियो। र, हामी साँच्चै त्यो पार्टीलाई समाजवादतर्फ लिएर जान्थ्यौं।”

प्रचण्डले नेकपामा हुँदा पूर्वएमालेका नेताहरूले अबको नेता प्रचण्ड भनेपछि नयाँ षड्यन्त्र शुरु भएको दाबी गरे। उनले भने, “आज एमालेका नेताहरूले भनेको सुन्नुभएको होला, केही समय रोकेको भए पूरै पार्टी खाइसकेको थियो, उनीहरूले भन्छन्। हामीले भन्नुपर्दैन। यो भनाइभित्र केही कुरा छ। हामी समाजवादी क्रान्तिमा छौं।”

उनले घण्टीमात्रै बजाएर बसेर क्रान्ति नहुने बताए। भने, “क्रान्ति त बांगोटिंगो बाटो हुँदै जान्छ, त्यो हामीले लेनिनबाट पनि देखेको हो, माओबाट पनि देखेको हो, मार्क्स र एंगेल्सबाट पनि देखेको कुरा हो।  एमालेका सबै खराब छन् भनेर पनि सोच्न हुँदैन। एमालेभित्र हामीले अढाई वर्ष पसेर हेर्‍यौं नि, को को सच्चा रहेछन् भनेर। ८० प्रतिशतभन्दा बढी त इमानदार कम्युनिष्ट छन्। हामीले तिनको पनि नेतृत्व गर्नु छ। अलिक ठूलो सोचाइ नराखी क्रान्ति त अघि बढ्दैन्।”

आफूले नेकपामा हुँदा कार्यकारी अध्यक्षको रुपमा केन्द्रीय कमिटीको बैठक चलाएको स्मरण गराए। र सबै नेता तथा कार्यकर्ताले आफूमा नेता देखेका पनि उनले सुनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved