चितवनमा मतदाता शिक्षा कार्यक्रम ओझेलमा

नेपालभ्युज

चितवनमा मतदाता शिक्षा कार्यक्रम ओझेलमा

चितवन। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनैतिक गतिविधि बढेको भए पनि मतदाता शिक्षातर्फ कसैको ध्यान गएको छैन। जिल्ला निर्वाचन कार्यालयसमेत मतदाता शिक्षाको कार्यक्रमका विषयमा अन्योलमा रहेको छ।

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मतदाता शिक्षाको विषयमा अहिलेसम्म आयोगले कुनै निर्णय गरेको छैन। उनले भने, “मतदाता शिक्षाको विषयमा अहिलेसम्म टुङ्गो लागेको छैन। केही दिनमा टुङ्गो लाग्छ।”

विगतमा निर्वाचनका लागि आयोगले मत बदर नहोस् भनेर एक महिनाअघि देखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गर्दथ्यो। हरेक वडामा एक वा दुई जनाको दरले मतदाता शिक्षाका लागि कर्मचारी खटाउने गरेको भए पनि अहिले भने निर्णय नआउँदा अन्योल भएको छ।

कार्कीले भने, “मतदाताका लागि शिक्षा दिन अहिले आयोगले सञ्चार माध्यमको प्रयोग गर्ने तयारी गरेको छ।” उनले भने, “मतदाता शिक्षाका लागि एक मतदान स्थलमा दुईजना कर्मचारी खटिन सक्छन्।” उनीहरुले निर्वाचनको दिनमा मतदान गर्न आउने मतदातालाई नमूना मतपत्रमा मतदान गर्न सिकाउने छन्। आयोगले खर्चमा मितव्ययिता अपनाएर निर्वाचन शिक्षा कार्यक्रमका लागि सञ्चार माध्यमको प्रयोग गर्न लागेको हुन सक्ने कार्यालयले जनाएको छ।

जिल्लामा सात स्थानीय तह छन्। एक महानगर, पाँच नगर र एक गाउँपालिका रहेको जिल्लामा १६१ मतदान स्थलमा ४५१ मतदान केन्द्र रहेका छन्। ती मतदान स्थलमा दुई कर्मचारीले मतदाता शिक्षा दिनेछन्। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता छन्।

विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा ३ दशमलव ५१ प्रतिशत मत बदर भएको थियो। दुई लाख ४० हजार ११४ मत खसेकामा आठ हजार १४१ मत बदर भएको कार्यालयले जनाएको छ।

विसं २०७४ को निर्वाचनमा भन्दा यसपटक ८४ हजार ६८३ मतदाता बढी छन्। नयाँ मतदातालाई मतदान प्रक्रियाबारे ज्ञान नहुन सक्छ। निर्वाचन प्रक्रिया परिर्वतन भइरहँदा पुराना मतदाता पनि झुक्किन सक्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved