नेपाल-चीन सम्बन्धमा भृकुटीको योगदान

जति पनि चिनियाँ वेबसाइटहरू छन्, श्रोङचङ गम्पो र वनछङको मात्र चर्चा छ। नगन्य स्थानमा मात्र भृकुटीको चर्चा पाइन्छ। कुनै कुनै साइटमा कथित चिनियाँ बुद्धिजीवीलाई उद्धृत गर्दै लेखिएको छ, ‘तिब्बती सम्राट श्रोङचङ गम्पोले भृकुटी बिहे गरेको कुरा काल्पनिक र उडन्ते कथा मात्र हो।’

नेपाल-चीन सम्बन्धमा भृकुटीको योगदान

नेपाल र चीनबीचको सम्बन्धमा केही ऐतिहासिक व्यक्तिले कोशेढुङ्गाको काम गरेका छन्। जसमध्ये पाँचौँ शताब्दीमा बुद्धभद्र, सातौँ शताब्दीमा भृकुटी र १३ औँ शताब्दीमा अरनिकोले मातृभूमि नेपाल छोडेर सदाका लागि चीनलाई कर्म थलो बनाए।

बुद्धभद्रले चीनमा बुद्धसूत्रको अनुवाद गर्दै बुद्धधर्मको प्रचार गर्ने काम गरे। बेहुली बनेर तिब्बत गएकी राजकुमारी भृकुटीले नेपाली कला र संस्कृतिलाई तिब्बतभर छर्ने काम गरिन्। अरनिकोले नेपाली वास्तुकलालाई चीनमा परिचित गराए। यस आलेखमा चाहिँ भृकुटीको योगदान र पहिचानको बारेमा चर्चा गरिएको छ।

सन् २००६ को सेप्टेम्बरमा नेपाली पत्रकारहरूको टोलीमा सहभागी भएर पहिलोपटक चीनको स्वायत्त प्रदेश तिब्बतको भ्रमण गर्ने अवसर पाएको थिएँ। उक्त टोलीमा कान्तिपुर टेलिभिजनको फायरसाइट कार्यक्रमका तत्कालीन संचालक भूषण दाहाल, राइजिङ नेपालका तत्कालीन सहसम्पादक अरुण रञ्जित, स्पोटलाइट पत्रिकाका तत्कालीन व्यवस्थापन सम्पादक केशव पौडेल लगायतका पत्रकार साथीहरू सहभागी थिए।

ल्हासा घुम्ने क्रममा भृकुटीले बनाउन लगाएको जोखाङ मन्दिरमा हामीले निकै लामो समय बितायौँ। नेपालपट्टि फर्काएर बनाइएको यस मन्दिरभित्र पद्मसम्भवको विशाल मूर्ति राखिएको छ। मन्दिरका भित्तामा बनाइएका कलाकृति, दलिनमा लेखिएका रञ्जना लिपि, टाँगिएका थाङ्का तथा चित्रहरूबाट नेपाली कलालाई स्पष्ट देख्न पाउँदा गौरव लागेको थियो।

बेहुली भएर नेपालबाट तिब्बत अन्मिदा भृकुटीले बुद्धका मूर्ति, नेपाली कलाका केही नमूना, सुसारे र सहयोगीका रूपमा केही कालिगड साथमा लगेकी थिइन् भनिन्छ। भृकुटीले नेपालबाट ल्याएका सुन्दर रञ्जना लिपिसँगै नेपाली थाङ्का जोखाङ मन्दिरमा देखिन्छन्।

सन् २०१९ को जुनमा दोस्रोपटक तिब्बतको भ्रमण गर्ने अवसर जुर्‍यो। बेइजिङबाट तिब्बत पुगेपछि फेरि पनि जोखाङ मन्दिरमा नेपालीपनको खोजी गर्नका लागि मैले त्यहाँका भित्ता, दलिन, भर्‍याङ, छत, झ्याल र ढोकालाई गहन ढङ्गले नियाल्ने प्रयास गरेँ। माइती देशको सम्झनामा भृकुटीले नेपालपट्टि फर्काएर बनाउन लगाएको जोखाङ मन्दिरको निर्माण संरचना र कलाकृतिले गर्दा आज चीनकै भव्य सांस्कृतिक सम्पदाका रूपमा रहेको कुरा सर्वविदितै छ।

१३ जुन बिहीबार साँझ हामीलाई श्रोङचङ गम्पोको ‘विवाह समारोह’ गीतिनाटक देखाउन लगियो। ‘विवाह समारोह’ गीति नाटक सामान्य नाटक घरमा होला भन्ने मैले ठानेको थिएँ। ओहो पूरै पहाड र फाँटलाई मञ्च बनाइएको रहेछ। दर्शक दिर्घामा बस्नका लागि रङ्गशालाको जस्तो छत भएको विशाल क्षेत्र थियो। नाटक मञ्चन हुने क्षेत्र अर्थात् मञ्च चाहिँ  पहाड र जङ्गलसहितको क्षेत्रलाई समेटेर बनाइएको रहेछ। साँझमा मात्र प्रदर्शन हुने भएकाले बत्तीको प्रभावबाट हिमपात र प्राकृतिक दृश्यलाई बेजोडसँग प्रस्तुत गरिएको देख्ता नवौँ आश्चर्य जस्तै लाग्यो।

उक्त नाटकमा १ हजारभन्दा बढी कलाकारहरू सहभागी हुँदा रहेछन्। नाटकमा सयौँको संख्यामा घोडा र याकहरू पनि देख्ता ताजुब लाग्यो। क्षणभरमै दुरुस्तै देखिने पोतला दरवार र जोखाङ मन्दिरलाई मञ्चमा ल्याइन्थ्यो। समग्र तिब्बतलाई प्रतिनिधित्व गरेर मञ्चन हुने उक्त गीति नाटक सन् २०१३ देखि निरन्तर प्रदर्शन गरिँदै आएको रहेछ। सायद हिउँद ऋतुमा प्रदर्शन हुँदैन होला। यही गीति नाटकले तिब्बतको पर्यटन प्रवर्द्धनसँगै तिब्बती संस्कृतिलाई विश्वभर प्रचार गरिरहेको छ। अनि तिब्बत नाटक प्रदर्शनबाट राम्रो आम्दानी पनि हुँदै आएको रहेछ।

श्रोङचङ गम्पोको विवाह समारोह रहेकाले भृकुटीको भूमिका अहम् हुने भइहाल्यो। तर गीति नाटकमा कतै पनि भृकुटीको नाम लिइएन। नाटकमा श्रोङचङ गम्पोले चिनियाँ राजकुमारी वनछङसँग गरेको विवाह मात्र समेटिएको रहेछ।

नाटकमा भृकुटीलाई पूरै अवमूल्यन गरेको अथवा बेवास्ता गरेको देखेपछि मनै खिन्न भयो। तिब्बतका सम्राट श्रोङचङ गम्पोले पहिले नेपाली राजकुमारी भृकुटीलाई बिहे गरेका थिए। भृकुटीलाई बिहे गरेको केही वर्षपछि मात्र हान जातिकी चिनियाँ राजकुमारी वनछङसँग बिहे गरेको कुरा इतिहासमा उल्लेख छ।

भृकुटीलाई बेवास्ता गर्नुको कारण थाहा पाउन मन लाग्यो र चिनियाँ इन्टरनेटमा खोज्न थालेँ। जति पनि चिनियाँ वेबसाइटहरू छन् जहाँ पनि श्रोङचङ गम्पो र वनछङको मात्र चर्चा छ। नगन्य स्थानमा मात्र भृकुटीको चर्चा पाइन्छ। कुनै कुनै साइटमा कथित चिनियाँ बुद्धिजीवीलाई उद्धृत गर्दै लेखिएको छ, ‘तिब्बती सम्राट श्रोङचङ गम्पोले भृकुटी बिहे गरेको कुरा काल्पनिक र उडन्ते कथा मात्र हो।’

एक पक्षले इतिहास मेटेर मेटिँदैन। केही समयका लागि कुनै भाष्य सिर्जना गर्न सकिएला तर तथ्य र प्रमाणका आधारमा सिद्ध भइसकेका कुरालाई बङ्ग्याउनु आत्मरति मात्र हो। नेपाल र चीन दुवै देशले राजकुमारी भृकुटीलाई ऐतिहासिक सांस्कृतिक दूत मानिसकेका छन्। सातौँ शताब्दीमै नेपाल र तिब्बतबीचमा बैबाहिक सम्बन्धको सेतूले दुई देशबीचको व्यापारिक तथा  सांस्कृतिक सम्बन्धलाई उजागर गरेको थियो। अहिले पनि त्यो कायम छ।

चिनियाँ वेबसाइटमा मात्र नभई नेपाली वेबसाइटमा पनि भृकुटीका बारेमा यथार्थ जानकारी प्राप्त गर्न कठिन छ। कतै भृकुटीलाई अंशुवर्माकी छोरी भनिएको छ भने कतै बहिनी। उनको जन्म कहिले र कहाँ भयो भन्ने कुरा पनि एकिन छैन। भृकुटीका बारेमा यथेष्ट खोज अनुसन्धान हुन नसक्ता नयाँ पुस्तामा अझ बढी अन्योल सिर्जना भएको छ।

यही परिप्रेक्ष्यमा शैलेन्द्रबहादुर थापाले ‘भृकुटी (भेल्सा/ल्हाच्ह्गि ठ्रित्सुन): एक अध्ययन’ कृति बजारमा ल्याएका छन्। भेल्सा अथवा ल्हाच्ह्गि र ठ्रित्सुन भृकुटीका तिब्बती नाम हुन्। यो पुस्तक प्रकाशन भएको थाहा पाउँदा अत्यन्त खुशी लाग्यो। आफू पनि भृकुटीका बारेमा चासो राख्ने भएकाले तुरुन्तै पढेँ।

शैलेन्द्रबहादुर थापा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा पीएचडी गर्दैछन्। यो कृति थापाको पीएचडीको थेसिसको एक अंश हो। तसर्थ यो कृति कोरा काल्पनिक नभएर यथार्थ र ऐतिहासिक पुष्टि गर्ने प्रमाणका आधारमा सिर्जना भएको छ।

भृकुटीका बारेमा रहेका केही दुविधा हटाउनका लागि यस कृतिले तथ्यगत तर्कलाई अगाडि सारेको छ। भृकुटी अंशुबर्माकी छोरी नभएर उदयदेवकी छोरी र नरेन्द्रदेवकी बहिनी भएको कुरालाई विभिन्न कोणबाट पुष्टि गरिएको छ। त्यसैगरी भृकुटीको जन्म सन् ६१७ मा भएको र १६ वर्षको उमेरमा ६३२ तिर श्रोङचङ गम्पोसित बिहे भएको कुरा थापाले उल्लेख गरेका छन्।

सबैभन्दा नवीन कुरा चाहिँ यस कृतिले भृकुटीको जन्म काठमाडौं उपत्यकामा नभएर काभ्रेको खोपासी भएको उल्लेख गरेका छन्। भृकुटी खोपासीबाटै बेहुली बनेर अन्मिएको पनि लेखेका छन् थापाले। उदयदेव काठमाडौंमा बसेर शासन गरिरहेको र भृकुटीलाई चाहिँ खोपासीमै राखिएको हुन सक्ने कुराको पैरवी पुस्तकमा गरिएको छ।

भृकुटीलाई लिनका लागि तिब्बतबाट बेहुलो बिनाको जन्ती आएका थिए। जन्तीले बेहुली लिएर खोपासीबाट साँखु हुँदै नुवाकोट भएर केरुङको बाटो प्रयोग गरेको विभिन्न प्रमाणलाई आधार बनाउँदै पुस्तकले पुष्टि गर्ने प्रयास गरेको छ।

भृकुटी लिएर फर्किएको तिब्बती जन्ती केरुङको गुफामा बास बसेको थियो। त्यही गुफाबाट भृकुटीले जन्मभूमिलाई अन्तिम बिदा गर्दै तिब्बत प्रवेश गरेको थापाले लेखेका छन्। केरुङमा गुरु रिम्पोछेंले ध्यान गरेको एउटा गुफा अध्यापि छ। उक्त गुफालाई ‘गुरुफु’ भनिन्छ। त्यही गुफाबाट नेपाली राजकुमारी भृकुटीको अन्तिम बिदाइ गरिएकाले त्यसलाई ‘ग्ये’ (छुटेको/बिदाइ) ‘फु’ (गुफा) अर्थात् त्यो गाउँबाट भृकुटी छुटेर ल्हासा गएकाले त्यसलाई ‘ग्येफु’ र त्यो नजिकैको ‘गुरुफु’लाई नै ‘विदाइ गुफा’ भनिन्छ भनेर थापाले औँल्याएका छन्।

नेपाली इतिहास अपुरो र विवादास्पद छ। भृकुटीको समयभन्दा ६ सय वर्षपछि अरनिको कुन बाटो प्रयोग गरेर तिब्बत गए भन्ने कुराको हामीसँग कुनै प्रमाण छैन। थापाको यो कृतिले अरनिकोले प्रयोग गरेको बाटोका लागि पनि केही आधारहरू सिर्जना गरेको छ। किनभने त्यो समयमा नेपाल र तिब्बतबीचमा धेरै नाकाहरू आवातजावतका लागि सुचारु थिएनन्। सीमा क्षेत्रमा मानव वस्ती थिएन। भए पनि कतै कतै छिटफुट मात्र थिए। यदि भृकुटीले केरुङको बाटो प्रयोग गरेकी थिइन् भने अवस्य अरनिकोले पनि त्यही बाटो प्रयोग गरेका थिए।

शैलेन्द्रबहादुर थापाले ‘भृकुटी (भेल्सा/ल्हाच्ह्गि ठ्रित्सुन): एक परिचय’ कृति सिर्जना गर्नका लागि मुख्य आधार ‘मणि काबुम’ खण्ड ‘क’लाई मानेका छन्। यो तिब्बतमा अत्यन्त प्रसिद्ध ग्रन्थ हो। यो ग्रन्थ स्वयं श्रोङचन गम्पोले लेखेको आफ्नै जीवन चरित्र हो। यस ग्रन्थमा श्रोङचनले नेपाली राजकुमारी भृकुटीसँग विवाह गरेको वर्णन छ भनेर थापाले उल्लेख गरेका छन्।

भृकुटीका बारेमा नेपाली तथा अन्य विदेशीले लेखेका विभिन्न कृति, शीलालेख, विभिन्न स्तम्भ र भनाइहरूलाई पनि थापाले आधार मानेर कृति सिर्जना गरेका छन्। नेपाली इतिहासकारका कृति तथा लेखलाई पनि उनले तुलनात्मक अध्ययन गरेका छन्।

तथ्यांक संकलन गर्दा प्राथमिक र द्वित्तीय दुवै विधि प्रयोग गरेका छन्। खोपासी तथा केरुङको गुफामा पुगी स्थानीय बुढापाकासँग कुराकानी तथा प्रश्नोत्तर विधिबाट तथ्यांक संकलन गरेका छन्। यी वैज्ञानिक विधि हेर्दा कृति आफैँमा गहकिलो र महत्वपूर्ण बन्न गएको छ।

पीएचडीको थेसिस अर्थात् शोधपत्रलाई थुप्रै व्यक्तिले पुस्तक बनाएर प्रकाशन गरेका छन्। मूलतः शोधपत्र र पुस्तकमा केही भिन्नता रहन्छन्। शोधपत्रलाई पुस्तकमा परिणत गर्दा यसका केही अङ्गलाई राख्न अनिवार्य हुँदैन। शोधपत्रमा हुने अङ्गहरू ‘समस्याको कथन’, ‘प्रश्नावली’, ‘उद्देश्य’, ‘अध्ययन विधि’, ‘सीमा’ जस्ता कुरा पुस्तकमा राखिरहन आवश्यक छैन। अथवा राख्नै परे पनि संष्लेषण गरेर राख्नुपर्छ। त्यसैगरी ‘मामला विश्लेषण’, ‘मामला अध्ययन’, ‘विधि’ जस्ता कुराहरू पनि पुस्तकमा राखिँदैन।

शोधपत्रलाई पुस्तकमा परिणत गर्दा अपनाउनु पर्ने सम्पादन, समिश्रण र समन्वयका लागि समयको अभाव भएर हो अथवा त्यो झन्झटबाट मुक्त पाउनका लागि हो, थापाले आफ्नो शोधपत्रको अंशलाई जस्ताको जस्तै पुस्तकमा परिणत गरेका छन्। यसले गर्दा कृति केही भद्दा जस्तो र सर्वसाधारण पाठकका लागि पढ्नका लागि झन्झटिलो लाग्न सक्छ। तर अध्येता र अनुसन्धानकर्ताका लागि भने यो कृति आफैँमा निकै गहन छ।

नेपाली राजकुमारी भृकुटीको इतिहासलाई पूर्वाग्रही रूपमा छिमेकी मुलुक चीनले निमिट्यान्न बनाउन लागेको गुनासो बढिरहेका बेला थापाले ल्याएको कृतिले भावी पुस्तालाई थप अध्ययन गर्ने गोरेटो बनाएको छ। यस कृतिले भृकुटीको इतिहासमात्र खोज्दै समग्र नेपाल चीन सम्बन्धका आधारशीलाहरू पनि केलाउने प्रयास गरेको छ।


Comment

One thought on “नेपाल-चीन सम्बन्धमा भृकुटीको योगदान

  1. स्रङचाङगाम्पोका रानीलाई तिब्बती भाषामा बेल्सा हो र चीनीया स्रङचाङगाम्पोका रानीलाई तिब्बती भाषामा बेल्सा हो र चीनीया रानीलाई ग्यासा । यसैगरी ठ्रीचुङ पनि तिब्बतीमा उल्लेख भएको पाइन्छ । भने तिब्बतीमा ठ्रीचुङका पितालाई होइस्हेर गोचा/छा उल्लेख स्पष्ट छ । यसको खस नेपाली अनुवाद होइस्हेर प्रकाशका किरण वा उदय ? स्पष्ट नगरी उदप देव भन्नु फेरी नेपाली स्रोतलाई मान्ने हो भने भृकुटी नाम र अरनिको दुवैको नाम नेपाली स्रोत अनुसार काल्पनिक देखिन्छ । अनि चिनिया लेखक र नेपाली दुवैको सत्यदेखि उटै अभियान जस्तो देखियो । स्व मीनबहादुर शाक्यको ठ्रीचुङ उफ भृकुटीको बारेमा अझ विस्तृत अध्ययन पुस्तकारमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved