हेटौंडामा पेट्रोलियम पदार्थको लोड अनलोड ठप्प, पेट्रोल पम्पमा भीड बढ्यो

नेपालभ्युज

हेटौंडामा पेट्रोलियम पदार्थको लोड अनलोड ठप्प, पेट्रोल पम्पमा भीड बढ्यो

हेटौंडा। विभिन्न मागसहित आन्दोलनमा उत्रिएका पेट्रोलियम व्यवसायीहरूले बारास्थित अमलेखगञ्जमा रहेको मधेश प्रदेश कार्यालयस्थित डिपोमा धर्ना दिएका छन्।

आन्दोलन समन्वय समितका संयोजक उत्सव इटेनीको नेतृत्वमा व्यवसायीहरूले डिपोमा धर्ना दिँदै पेट्रोलियम पदार्थ लोड अनलोड ठप्प पारेका हुन्।

पेट्रोलियम व्यवसायी संस्थागत समन्वय समितिले फागुन २३ गते नेपाल आयल निगमलाई विभिन्न ६ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको थियो। हेटौंडाका पेट्रोलियम व्यवसायीहरूको समेत आन्दोलनमा सहभागिता रहेको छ।

“हामीले धेरै दिन देखि निगमसंग विभिन्न माग राखेका थियौं। हाम्रो माग पूरा भएन। हामीले लोडअनलोड ठप्प पारेका छौं”, इटेनीले भने, “आन्दोलनबाट उपभोक्तालाई पर्न गएको असुविधाप्रति निगम नै जिम्मेवार छ।”

पेट्रोलियम व्यवसायी संस्थागत समन्वय समितिले नेपालमा पेट्रोलियम ऐन बनाएर लागू गर्नुपर्ने, निगमको एलपीजी विनियमावली, बिक्रेता विनियमावली परिमार्जनसहित संशोधन गर्नुपर्ने लगायत माग राखेको थियो। यी मागहरूको सुनुवाइ नभएको भन्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।

यस्तै नेपाल सरकारले यातायात क्षेत्रमा लागू गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा समेत ढुवानी गर्न अध्ययन समितिको प्रतिवेदनअनुसार भाडा यथाशीघ्र लागू गर्नुपर्नेलगायत ६ बुँदे माग राखिएको छ।

आन्दोलनलाई सफल बनाउन भन्दै २३ फागुनमा नै नारायणी पेट्रोलियम बिक्रेता संघका अध्यक्ष इटेनीको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन गरिएको थियो।

व्यवसायीहरूको आन्दोलनका कारण पेट्रोल नपाइने डरले हेटौंडामा अहिले पेट्रोल पम्पहरूमा भीड बढ्न थालेको छ। माग सुनुवाइ नभए आन्दोलनका कार्यक्रमहरू थप गर्ने संघले चेतावनी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved