जनकपुरधाम। भारत भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ दिल्लीबाटै जनकपुरको रेल उद्घाटन गर्ने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र देउवाले संयुक्त रूपमा भर्चुअल्ली रेल उद्घाटन गर्नेछन्।
भोलिबाटै यो रेल सञ्चालनमा आउनेछ । यसअघि पटक–पटक रेल सञ्चालनको मिति तोकिएपनि नियमित रूपमा रेलसेवा सञ्चालनमा आउन सकेको थिएन।
जयनगर–जनकपुर–कुर्था रेल शनिबारदेखि सञ्चालन हुने भएकाले उद्घाटनको तयारी तिव्र पारिएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।

रेल्वे उद्घाटनको लागि भारतको जयनगर स्टेशनलाई अहिले सजाउने कार्य तीव्र भइरहेको छ । दिल्लीबाटै भर्चुअल रुपमा स्वीच अन गरी दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नेछन्, त्यसको प्रत्यक्ष प्रशारण हेर्नका लागि आवश्यक प्रविधिहरू जडान गर्ने काम जयनगरमा चलिरहेको छ। उद्घाटन लगत्तै रेल जनकपुरका लागि छुट्नेछ।
रेलमा यात्रा गर्दा परिचय पत्र अनिवार्य
रेलमा यात्रा गर्दा र नेपाली भूमिबाट भारत प्रवेश गर्नको लागि कम्तीमा नेपाली नागरिकको पहिचान खुल्ने एक परिचय पत्र बोक्नुपर्ने नियम लागू गरिएको हो।
जयनगर जनकपुर रेलमा यात्रा गर्दा भारतसम्म जानको लागि नेपाली नागरिकले आफ्नो परिचय खुल्ने कुनै कागजात अनिवार्य रुपमा राख्नु पर्ने महाप्रबन्धक झाले जनाए। नागरिकता प्रमाणपत्र, पासपोर्ट वा मतदाता परिचय पत्रजस्ता नेपाली नागरिक भएको परिचय पत्र अनिवार्य बोक्र्नेपर्ने झाले जनाए।

उनले सुरक्षा र खुल्ला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले रेलको माध्यमबाट यात्रा गर्दा पासपोर्ट वा नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य रुपमा राख्न भनिएको जनाए।
भारतको रेल सुरक्षा निकायले पासपोर्ट वा नागरिकता साथमा नभएको खण्डमा कम्तीमा भोटरकार्ड राख्न भनेको छ। त्यस्तै, आकस्मिक प्रवेशका लागि भारतमा रहेको नेपालको महावाणिज्यदुतावासद्धारा जारी गरिएको फोटोसहितको सिफारिस पत्र, प्रमाणपत्र बोक्न सकिन्छ।
त्यसैगरी १० देखि १८ वर्षसम्मको बालबालिकाको हकमा फोटोसहितको स्कूले आईडी कार्ड हुनुपर्ने नियम राखिएको छ। १० बर्षभन्दा कम उमेर समूहका बालबालिकाको हकमा आमाबुवा साथ भए कुनै पनि प्रकारको पहिचानपत्र नचाहिने जनाइएको छ।
Facebook Comment
Comment