भारतीय पत्रकार राणा अयूबलाई विदेश भ्रमणमा जान रोक लगाइएको छ। भारतको प्रवर्तन निर्देशनालयका तर्फबाट अयूबविरुद्ध जारी गरेको ‘लुक आउट सर्कुलर’का आधारमा मुम्बई अन्तर्राष्ट्रिय एयरपोर्टले विदेश जान रोक लगाएको हो।
केन्द्रीय अनुसन्धान एजेन्सीले अयूब(३७) विरुद्ध मनी लन्ड्रिङ मुद्दामा सोधपुछ गर्न र उनको बयान रेकर्ड गर्न चाहन्छ। एयरपोर्टका अधिकारीहरूका अनुसार अयूब लण्डन जानको लागि मुम्बई अन्तर्राष्ट्रिय एयरपोर्टमा पुगेकी थिइन्। तर उनलाई अध्यागमन अधिकारीहरूले रोकिदिएका थिए। त्यसपछि तुरुन्तै निर्देशनालयको टिमले एयरपोर्टमा उनीसँग सोधपुछ गरेको थियो।
अयूबलाई १ अप्रिलमा निर्देशनालयको कार्यालयमा उपस्थित हुन आदेश दिइएको छ। केन्द्रीय अनुसन्धान एजेन्सीले यसवर्षको शुरुमा बैंकमा रहेको उनको १ करोड ७७ लाख रुपैयाँभन्दा बढी निक्षेप अस्थायी रुपमा जफत गरेको थियो। अयूबले २०२०-२०२१ मा कोभिड–१९ मा राहत दिनको लागि दाताहरूबाट प्राप्त भएको दान अनियमितता भएको भन्दै अयूबलाई कारबाही गरिएको थियो।
अधिकारीहरूका अनुसार अयूबले नोटिसको पालना गरिनन्। त्यसैले देश छाडेर जाँदा अनुसन्धानमा असर पुग्ने र अदालतमा समेत आरोपपत्र दर्ता हुन ढिलाइ हुने भन्दै एजेन्सीले अयूबलाई विदेश जान रोक लगाएको हो।
Facebook Comment
Comment