लिखु गाउँपालिका अध्यक्ष, निर्वाचित भएकै वर्षदेखि भ्रष्टाचार

नेपालभ्युज

लिखु गाउँपालिका अध्यक्ष, निर्वाचित भएकै वर्षदेखि भ्रष्टाचार

काठमाडौं । विद्युतीय सामानहरू खरिद गर्दा भ्रष्टाचार गरेको भन्दै रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालगायत १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

गाउँपालिकामा विद्युत् जडान गर्ने क्रममा २०७४/०७५ र २०७५/०७६ मा चार करोड २१ लाख ७०६ रुपैयाँ २४ पैसा हिनामिना गरेको आयोगले खड्कासँगै तल्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद न्यौपाने, टंक प्रसाद चौलागाई, लेखापाल दुर्गा बहादुर डिम्दोङ तामाङ, विधुतीकरण उपभोक्ता समितिका अध्यक्षहरू बेत बहादुर पुवार, सुन बहादुर तामाङ र होम बहादुर महत, कोषाध्यक्षहरू ममीता श्रेष्ठ, करिष्मा परियार र अनिता श्रेष्ठ, सचिवहरू सुब्बा थापामगर, सचिव दल बहादुर तामाङ र डिल्ली बहादुर सुनुवार विरुद्ध आरोपपत्र दायर गरेको हो।

आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ को उपदफा १ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

गाउँपालिकाले वडा नं ५ (साविक नागदह गाविस वडा नं. १–५ र ६–९) तथा वडा नं ४ (साविक विजुलीकोट) केन्द्रीय प्रसारण लाइनको वरपरका वस्तीहरू समेतमा विद्युतीकरण योजनाहरू कार्यान्वयन गर्दा १ करोड २६ लाख ७५ हजार ५०३ रूपैयाँ हिनामिना भएको थियो।

साथै आव ०७५/०७६ मा लिखु तामाकोशी गाउँपालिका वडा नं १ (साविक दुरागाउँ गाविस १–९) र थप विद्युत प्रशारण योजना, होपिनामा विद्युतीकरण विस्तार कार्य कार्यान्वयन गर्दा २ करोड ९४ लाख २५ हजार २०२ रूपैयाँ भ्रष्टाचार भएको थियो।

सरकारी रकममा हानिनोक्सानी हुने गरी अनुभव र कार्यक्षमता नभएकाहरूको उपभोक्ता समिति बनाउने, प्राविधिक लागत अनुमान बिना अस्वाभाविक रूपमा बढी मूल्य सामग्री खरीद गर्ने र खर्चको अभिलेख नराखी पोल गाड्ने, तार तान्ने जडान समेतको कानूनविपरीत पाइक कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरेको पाइएको आयोगले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved