शुरु भयो सुदूरपश्चिम महोत्सव, २० गतेसम्म चल्ने

महोत्सवमा कोरोना खोप केन्द्र, तीनै मात्रा लगाउन पाइने

नेपालभ्युज

शुरु भयो सुदूरपश्चिम महोत्सव, २० गतेसम्म चल्ने

धनगढी। धनगढीमा आजदेखि सुदूरपश्चिम महोत्सव २०७८ शुरु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पशुपति टोलमा लाग्ने महोत्सवको आज प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन्।

सो अवसरमा प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड लगायतको उपस्थिति रहेको थियो।

आजबाट शुरु भएको महोत्सव २० गतेसम्म चल्ने आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ। महोत्सव उद्घाटनको पूर्वसन्ध्यामा आज बिहान बिहान १० बजे प्रभातफेरीको आयोजना गरिएको थियो।

महोत्सवमा अनुमानित २ करोडको लगानीमा उत्कृष्ट रूपमा सम्पन्न गरिने छ भने महोत्वस उद्योगी व्यवसायको १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।

महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर,अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी २५० जति संख्याको स्टलहरूको सहभागिता छ। पहिलाभन्दा फरक ठाउँमा भएको हुँदा सुरक्षा निकायहरूमा सुरक्षा व्यवस्थालाई चुस्त गराइदिन आयोजकले अनुरोध गरेको छ।

महोत्सवको मुख्य प्रवर्द्धक सुदूरपश्चिम प्रदेश सरकार छ, प्रवर्द्धक धनगढी उपमहानगरपालिका छ। त्यसै गरी मुख्य प्रायोजक यसोदा फुड्स प्रालि छ। महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिएको छ भने यस वर्षको महोत्सवमा करिब ४ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ।

महोत्सवमा कोरोना खोप केन्द्र, तीनै मात्रा लगाउन पाइने

सुदूरपश्चिम महोत्सवमा कोभिड १९ विरुद्धको खोप केन्द्रसमेत राखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय कैलाली, धनगढी उपमहानगरपालिका, बागेश्वरी असल शासन क्लब (बास) नेपाल, युनिसेफ लगाएत विभिन्न संघसंस्थाको सहयोगमा संयुक्त रूपमा खोप केन्द्र राखिएको आयोजकले जनाएको छ।

उक्त खोप केन्द्रमा कोभिड १९ विरुद्धको पहिलो, दोस्रो तथा बुस्टर डोज खोप लगाउन पाइने बास नेपालका स्वयमसेवक सुनिल बडुले जानकारी दिए। उनले भने, “धनगढी उपमहानगरपालिकालाई पूर्ण कोरोना खोपयुक्त नगरपालिका बनाउने अभियानका साथ उक्त खोप केन्द्र स्थापना गरिएको हो। खोप लगाउन छुटेका सबैले खोप केन्द्रमा आएर खोप लगाइदिनुहोला।”

चैत २० गतेसम्म चल्ने महोत्सवमा प्रत्येक दिन बिहान १० बजेदेखि नै खोप लगाउन मिल्ने उनले जानकारी दिए।

यस्तै आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सव स्थलमा खोप केन्द्र स्थापना हुनु राम्रो पक्ष भएको बताए। उनले महोत्सवमा रमाइलो सँगै स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर खोप केन्द्र स्थापना गरिएकोमा धन्यवाद ज्ञापन गर्दै महोत्सव आउने सम्पूर्ण दर्शकलाई खोप लगाउन आह्वान गरे।

बुधबार महोत्सवस्थलमै पुगेर धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले कोरोना खोप लगाउन छुटेका नागरिकका लागि खोप केन्द्र स्थापना गरिएको बताए। उनले भने, “कोहीले पहिलो डोज लगाएर दोस्रो लगाउन छुटेका छन्, कोहीले दोस्रो लगाएर बुस्टर डोज लगाउन पाएका छैनन्। उनीहरूको लागि खोप केन्द्र स्थापना गरिएको हो। धनगढी उपमहानगरपालिकालाई पूर्ण कोरोना खोपयुक्त नगरपालिका बनाउने अभियानका साथ महोत्सवमा खोप केन्द्र स्थापना गरिएको हो।”

मेयर वडले खोप केन्द्र स्थापनाका लागि सहयोग गर्ने विभिन्न संघसंस्थालाई धन्यवाद ज्ञापन गर्दै सबैलाई खोप केन्द्रमा आएर खोप लगाउन आह्वान गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved