एमसीसी पारितपछि सम्भावित अवस्था बुझ्न चिनियाँ परराष्ट्रमन्त्री नेपाल आउँदै

नेकपा विभाजन भएको एक वर्षपछि चीनले सशंयका साथ लिएको अमेरिकी परियोजना एमसीसी नेपालमा पारित भयो। नेकपा विभाजन उन्मुख हुँदा चीनले आफ्नो उच्चस्तरीय प्रतिनिधिलाई नेपाल भ्रमणमा पठाएको थियो भने एमसीसी पारित भएपछि पनि त्यस्तै भ्रमण चीनबाट हुन लागेको हो।

एमसीसी पारितपछि सम्भावित अवस्था बुझ्न चिनियाँ परराष्ट्रमन्त्री नेपाल आउँदै

काठमाडौं। दुईदिने नेपाल भ्रमणका लागि चिनियाँ परराष्ट्रमन्त्री वाङ यी नेपाल आउँदै छन्।

१२ चैतबाट हुने चिनियाँ परराष्ट्रमन्त्री यीको नेपाल भ्रमण चिनियाँ जनराजनीतिक परामर्शदातृको १३ औँ राष्ट्रिय समितिको पाँचौँ अधिवेशन र १३ औँ राष्ट्रिय जनकंग्रेसको पाँचौँ अधिवेशन शुरु भइरहँदा बाहिरिएको हो।

यी दुवै सम्मेलन ४ र ५ मार्चबाट शुरु भएको थियो। समान्यतया चीनमा यी सम्मेलन सञ्चालन हुँदै गर्दा सरकारका प्रतिनिधिको विदेश यात्राको कार्यक्रम बन्ने गर्दैन। तर, परराष्ट्रमन्त्री यी यसै समयमा नेपाल भ्रमण आउन लागेका हुन्। नेपाल भ्रमणमा निस्किँदै गर्दा उनी भारतको भ्रमण पनि जाने कार्यक्रम छ।

चिनियाँ परराष्ट्रमन्त्री यीको नेपाल भ्रमणलाई नेपालले हालै पारित गरेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सँग जोडेर हेरिएको छ। जसलाई चिनियाँहरू आफू पनि अस्वीकार गर्दैनन्। नेपाल नीति बनाउने चीनको एक विश्वविद्यालयमध्येका सिचुआन विश्वविद्यालयका सह-प्रध्यापक गाओ लिङ परराष्ट्रमन्त्रीको यीको नेपाल भ्रमणलाई आफूले पनि त्यहीअनुरूप बुझेको बताए। “नेपालले एमसीसी पारित गरेपछि आउन सक्ने सम्भावित अवस्थाका विषयमा बुझ्न परराष्ट्रमन्त्री यीले नेपाल भ्रमण गर्न लागेका हुन सक्छन्,” सह-प्रध्यापक लिङ भने, “यद्यपि, भ्रमणमा अन्य विषयमा पनि छलफल हुने अपेक्षा गर्न सकिन्छ।”

परराष्ट्रमन्त्री यीको भ्रमणका समयमा आफूले प्रस्तुत गर्ने एजेण्डाका विषयमा नेपालको परराष्ट्र मन्त्रालयले पनि तयारी थालेको छ। नेपाल सरकारले अर्थ, गृह, पर्यटन, कृषि, उद्योग वाणिज्य मन्त्रालयलगायतसँग छलफल गर्दै चिनियाँ परराष्ट्रमन्त्री यी नेपाल आउँदा छलफल गर्ने विषय तयार गरेको छ। चिनियाँ परराष्ट्रमन्त्री यीको भ्रमणका क्रममा बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयनका लागि नेपालले तयारी गरेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने।

चिनियाँ परराष्ट्रमन्त्री यीको नेपाल भ्रमणका क्रममा काठमाडौं-केरुङ रेल मार्ग चिनियाँ लगानीमा सम्भाव्यता अध्ययन गर्ने सहमति हुनसक्ने आकलन गरिएको छ। यो परियोजना नेपालले चीनलाई बुझाएको बेल्ट एण्ड रोड (बीआरआई) परियोजनामध्येको एक हो। नेपालले योसँगै बीआरआई सम्झौताअन्तर्गत ९ वटा परियोजना निर्माण गर्न चीनसँग आग्रह गरेको थियो।

रेल मार्ग सम्भाव्यताका अध्ययन गर्ने विषयमा २५ असोज २०७६ मा चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल भ्रमणमा आउँदा नै सम्झौता भएको थियो। त्यसलगत्तै कोरोना महामारीका कारण सम्भाव्यता अध्यनन हुन नसकेकोमा परराष्ट्रमन्त्री यीको भ्रमणसँगै त्यो सुचारु गर्न नेपालले प्रस्ताव गर्ने तयारी गरेको छ।

केही वर्षअघि भएको प्रारम्भिक सम्भाव्यता अध्ययनमा ७२ दशमलव २५ किलोमिटर रेलमार्ग निर्माणका लागि २ दशमलव ७५ बिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको थियो, यद्यपि प्रारम्भिक सम्भाव्यता अध्ययनको निष्कर्षलाई नै अन्तिम भने मानिएको छैन।

कोरोना महामारीपछि नेपाल फर्किएर आएका चीनमा अध्ययनरत नेपाली विद्यार्थीको विषयलाई पनि नेपाल पक्षले चिनियाँ परराष्ट्रको यीको भ्रमणको समयमा उठाउँदै छ। चिकित्साशास्त्र अध्ययनरत सयौँ विद्यार्थी दुई वर्ष बितिसक्दा पनि चीन फर्किन पाएका छैनन्।

आवरणमा चिनियाँ परराष्ट्रमन्त्री यीको नेपाल भ्रमणको कारण यही हुन्। यद्यपि, पछिल्लो समय कमजोर हुँदै गएको नेपालस्थित चिनियाँ दूतावासको भूमिकाका कारण पनि चिनियाँ परराष्ट्रमन्त्री यी नेपाल भ्रमणमा आउन लागेको चर्चा छ। चिनियाँ परराष्ट्रमन्त्रीसँगै चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख साङ ताओ पनि नेपाल भ्रमणमा आउँदैछन्। ताओ त्यही व्यक्ति हुन् जो पछिल्लो समय नेपालका कम्युनिष्ट पार्टीका नेतासँग निरन्तर सम्पर्कमा छन्।

६ मंसीरमा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले गरेको निर्णयलाई दक्षिण एशियाली देशका कम्युनिष्ट नेतालाई सुनाउन कार्यक्रमको आयोजना भयो। त्यस कार्यक्रममा नेपालका अधिकांश कम्युनिष्ट पार्टीका नेता सहभागी थिए। जुन कार्यक्रमलाई चिनियाँ अन्तर्राष्ट्रिय विभाग प्रमुख ताओले नेतृत्व गरेका थिए।

यस्तै नेपालको संसद्ले एमसीसी पारित गर्ने विषयमा उत्कर्षमा पुगेका समयमा १२ फागुनमा उनै ताओले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। ताओले ओलीसँग भिडिओ छलफल गर्दा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री चेन झाओले माधव नेपालसँग छलफल गरेका थिए।

कोरोना महामारीपछि चिनियाँहरूले प्रायः भेटवार्तालाई भर्चुअल बनाउने गरेका छन्। तर, कोरोनापछिको सबै अवस्थामा चीन भर्चुअल माध्यममा सीमित रहेको भने छैन। कोरोना महामारीबीच ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने निर्णय गरेसँगै चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री युओ येचौ चार सदस्यीय टोलीसहति १२ पुसमा काठमाडौं आएको थियो। नेपालस्थित चिनियाँ दूतावास र राजदूत होउ यान्छी आफैं सक्रिय रहेको अवस्थामा चिनियाँ परराष्ट्रमन्त्री लगायतको टोली नेपाल भ्रमणमा आउन लागेको हो।

नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकता गराउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना गराउन भूमिका खेलेको चीनले नेकपा विभाजनउन्मुख हुँदा पार्टीको उपमन्त्रीलाई नेपाल भ्रमणमा पठाएको थियो। नेपाल नीतिमा चीन अप्ठरो अवस्थामा पुगेको उक्त अवसरमा नेपाल आएको चिनियाँ उक्त टोलीले देखिने गरी उपलब्धि हासिल गर्न भने सकेन। तथापि, ‘नेपाल मामिलामा आफू मौन नबस्ने सन्देश दिएको’ टिप्पणी भने भए।

नेकपा विभाजन भएको एक वर्षपछि चीनले सशंयका साथ लिएको अमेरिकी परियोजना एमसीसी नेपालमा पारित भयो। नेकपा विभाजन उन्मुख हुँदा चीनले आफ्नो उच्चस्तरीय प्रतिनिधिलाई नेपाल भ्रमणमा पठाएको थियो भने एमसीसी पारित भएपछि पनि त्यस्तै भ्रमण चीनबाट हुन लागेको हो।

नेकपा विभाजनलाई नेपालस्थित चिनियाँ दूतावासको असफलताका रुपमा चित्रण गरिएको थियो।

अहिले पनि दूतावासकै सक्रियतामा अघि बढ्नसक्ने विषयमा छलफल गर्न परराष्ट्रमन्त्री स्तरीय व्यक्ति नेपाल भ्रमणमा आउन लागेका हुन्। यसले कतै नेपालस्थित चिनियाँ दूतावास र त्यसको नेतृत्वमाथि नै चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्वले नै फरक दृष्टिकोण राखेका त छैनन् भन्ने प्रश्न उब्जिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved